मकवानपुरगढी जेसीजले अन्तर जेसीस फुटसल गर्ने

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई कार्यक्षेत्र बनाएर मकवानपुरगढी जेसीज (प्रस्तावित) को आयोजनामा अन्तर जेसीस फुटसल हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताबारे जानकारी गराएको थियो ।
मकवानपुरगढी जेसीज (प्र) ले मकवानपुरगढी गाँउपालिकालाई नेपाल भरका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धधन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले जेसीआई मकवानपुरगढी फुट्सल प्रतियोगिता आयोजना गर्न लागेको अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
प्रतियोगितामा नेपाल जेसीज अन्तर्गत रहेका शाखाका सुचिकृत सदस्यहरुले सहभागिता जनाउन पाउने कार्यक्रम संयोजक विजय पुडासैनीले बताए । प्रतियोगिता हुने मिति यही भदौ १५ र १६ गते हुने जनाइएको छ ।
मकवानपुरगढी फुट्सल मैदानमा हुने प्रतियोगितामा प्रथम हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक पुडासैनीले बताए । प्रतियोगितामा ३० वटा टिमको सहभागिता जनाउने अनुमान गरिएको छ भने करिब ९ लाख रुपैयाँ खर्च हुने पुडासैनीले बताए ।