आज २५६३ औँ बुद्ध जयन्ति, राष्ट्रपतिद्वारा शुभकामना

काठमाण्डौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्मजयन्तीको पावन अवसरमा विश्वभरका बौद्धमार्गी एवम् शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सवल बनाउन सकिने बताइएको छ ।
विज्ञप्तीमा आर्थिक समृद्धि, सामाजिक विकास एवम् सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दीगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त भन्दै राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीको यस महत्वपूर्ण अवसरमा समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प साकार पार्न आ-आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक आव्हान गर्नुभएको छ ।
अन्तमा पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रगौरव एवम् शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको आजको पवित्र दिनमा हामी सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवम् विश्व शान्तिको महान अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु विज्ञप्तीमा उल्लेख गरिएको छ ।