रास्वपालाई चितवनमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्न राेक

निरन्तर न्यूज
९ भाद्र २०८०, शनिबार ११:३५

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेलाई स्वास्थ्य क्लिनिक सञ्चालन गर्न कालिका नगरपालिकाले रोक लगाएको छ।

कानुन नभएको भन्दै नगरपालिकाले स्वास्थ्य क्लिनिक सञ्चालन गर्न लामिछानेलाई अनुमति नदिएको हो ।

नगर क्षेत्रका विभिन्न वडामा सांसद लामिछानेले मोवाइल क्लिनिक सञ्चालनको अनुमति मागे पनि नगरपालिकाले कानून नभएको भन्दै क्लिनिक सञ्चालन गर्न स्वीकृत नदिएको हो ।

लामिछानेले २०८० साउन २२ गते नगरपालिकाको स्वास्थ्य शाखा र २०८० साउन २५ गते नगरपालिकालाई पत्र लेखेर मोवाइल क्लिनिक सञ्चालनको अनुमति माग गरेका थिए । तर, नगरपालिकाले स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका २०७६ मा घुम्ती शिविर सञ्चालन गर्न दिने सम्बन्धमा कानूनी व्यवस्था नभएको जनाएको छ ।

साथै, नगरपालिकाले विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालनको अनुमति पालिकासँग नभई प्रदेशबाट लिन लामिछानेलाई सुझाएको छ।

नगरपालिकाले लामिछानेलाई लेखेको पत्रमा प्रदेश जनस्वास्थ्य सेवा नियमावली २०७७ को दफा ५ को उपदफा ६ अनुसार घुम्ती शिविर सञ्चालनको स्वीकृत दिने सम्बन्धी व्यवस्था रहेको उल्लेख गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्यायले अहिलेको विद्यमान कानुनले धुम्ती शिविर सञ्चालन गर्न पालिकाले नसक्ने भएकोले अनुमति नदिइएको बताए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु