जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि
काठमाडौं । सरकारले प्रगतिशील गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पर्यटनमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
निधनको २ वर्षपछि सरकारले टुहुरेलाई उपाधि दिएको हो । टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई।।’ बोलको गीत निकै लोकप्रिय छ ।
टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एनेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । गायक टुहुरेको ७८ वर्षको उमेरमा २०७८ भदौ १० गते बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।