नेपाली कथानक चलचित्र ‘बगान’को बोस्टनमा विशेष प्रदर्शन हुने
नेपाली चलचित्र ‘बगान’ अमेरिकाको बोस्टन सहरमा विषेश प्रदर्शन हुने भएको छ। विषेश प्रदर्शन यही आउदो अगष्ट २१ तारिख सोमवार बोस्टनको आर्लिङ्टन सिटिको 7 Medford St.स्थित रेजेन्ट थिएटर(Regent Theater) मा हुन लागेको हो। गीतकार सुरेश वाग्लेद्वारा निर्मित यस चलचित्र एकल महिलाको कथामा केन्द्रित रहेको छ। जसमा विदुषीको भूमिका नेपाली चलचित्र क्षेत्रकी सदावहार अभिनेत्री करिश्मा मानन्धरले निभाएकी छिन्। कार्यकारी निर्माता विनोद मानन्धर रहेको ‘बगान’ चलचित्रलाई नेपाली वेबसाइट डटकमले बजारिकरण गरेको छ। चलचित्रको कथा स्वप्निल नीरवले लेखेका हुन् भने, पठकथा तथा सम्वाद अभिनेता तथा निर्देशक सरोज खनालको रहेको छ। चलचित्रको सम्पादन अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले गरेका हुन् भने, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन गरेका हुन्।
गत असार २९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रमा निर्देशक खनालले पनि अभिनय गरेका छन्। कलाकार प्रमिला कार्कीले यस चलचित्रबाट आफ्नो चलचित्रको यात्रा प्रारम्भ गरेकी छिन् भने, आकाश श्रेष्ठले पनि आफ्नो अभिनय क्षमता पस्किएर दर्शकको मन जित्न सफल भएका छन्। चलचित्रमा खारिएका बरिष्ठ कलाकारहरु नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्माको अभिनयले चलचित्रलाई सुनमा सुगन्ध बनाएको निर्माण पक्षको दावी छ।
नेपाली समाजमा विद्यमान विदुवको व्यथालाई कथामा उतारेर समाजलाई भरपूर मनोरञ्जनका साथै अमूल्य सन्देश दिन कोसिस गरेको चलचित्र ‘बगान’ले उत्साह जनक व्यापार गर्दै प्रदर्शनको छैठौं हप्ताको यात्रा प्रारम्भ गर्न सफल भएको चलचित्र निर्माण पक्षको छ। चलचित्रले सोचे भन्दा पनि बढि दर्शकहरुको माया पाइरहेको निर्माता सुरेश वाग्लेले बताए। चलचित्रका बारेमा प्रतिक्रिया दिदै उनले भने, ‘चलचित्रले उत्साहजनक व्यापार गरिरहेको छ। र, सोचे भन्दा बढि दर्शकहरुको माया पाइरहेको छ।यस अर्थमा चलचित्र सफल भइसकेको भन्न सकिन्छ।’ चलचित्रले आफ्नो लगानी उठाइ सकेको जानकारी दिदै वाग्लेले हालसम्म १ करोड पचास लाख भन्दा माथिको व्यापार भइसकेको जानकारी दिए। जन्म थलो नेपाल रही हाल अमेरिकाको बोस्टनलाई मुख्य कर्म थलो बनाएर बोस्टनमै बस्दै आएका निर्माता वाग्लेले यही अगष्ट २१ तारिख सोमवार साँझ बोस्टनमा विशेष प्रदर्शन हुनगइरहेको चलचित्र ‘बगान’ हेरिदिन सबै नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।
त्यसैगरी, चलचित्रको बारेमा संक्षिप्त जानकारी दिदै चलचित्रकी नायिका प्रमिला कार्की(प्राप्ति)ले पनि चलचित्र नितान्त पारिवारिक तथा सामाजिक कथामा आधारित भएको बताइन्। आफू पनि बोस्टनवासीसंगै चलचित्र हेर्न आतुर रहेको जानकारी दिदै उनले सबैलाई चलचित्र हेर्न आउन चुले निम्तो दिएकी छिन्। नेपाली नाट्य क्षेत्रबाट आफ्नो अभिनय यात्रालाई सुभारम्भ गरेकी नव अभिनेत्री कार्कीले नेपाली दर्शकहरुलाई सफल म्युजिक भिडियोहरु पनि पस्किसकेकी छन्। चलचित्र क्षेत्रमा पहिलो पटक पाइला टेकेकी उनले नेपालमा चलचित्र प्रदर्शन पश्चात् दर्शकहरुबाट सकारात्मक साथ, सहयोग र उत्प्रेरक प्रतिक्रिया पाएको र बोस्टनवासीहरुबाट पनि सोही अपेक्षा गरेको बताएकी छिन्।