स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रद्वारा प्रादेशिक अस्पतालहरुलाई शववाहन हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले आज दिउसो प्रदेश सरकार मातहतका सात वटा अस्पतालहरुलाई ७ वटा शववहान हस्तान्तरण गरेको हो ।
एक कार्यक्रमका बिच आज दोलखाको पशुपति चौलागाई अस्पताल, रसुवा अस्पताल, रामेछाप अस्पताल, चितवनको रत्ननगर बकुलर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल, सिन्धुली अस्पताल र त्रिसुली अस्पताललाई शववहान हस्तान्तरण गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले बताउनुभयो ।
भन्सार छुटमा खरिद गरिएको सात वटा शववहान टेण्डर मार्फत कुल एक करोड ८ लाख ६५ हजार रुपैयाँ लागतमा बितेको आर्थिक वर्षको कार्यक्रम अन्तरगत खरिद गरिएको केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
खरिद गरिएका शववहान बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले अस्पतालका अध्यक्ष तथा प्रमुखहरुलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री जोशीले शववहानहरुमा सव ओसार्दा सकेसम्म निशुल्क रकम लिनै परेमा पनि थोरै रकममा ओसार्न अस्पतालहरुलाई निर्देशन दिनुभयो ।
हस्तान्तरण गरिएका शववहानहरुलाई व्यवस्थित रुपमा संचालन गर्न पनि उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिब बद्री बहादुर खड्काले शववहान सञ्चालन गर्नका लागि सकेसम्म कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी गरिने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता दीपक प्रसाद तिवारी, स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट लगायतकाको उपस्थिति रहेको थियो ।