इस्ट जोन कप क्रिकेटमा सिंगापुरलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं। नेपाल यू–१६ एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सोमबार नेपालले सिंगापुरलाई ९७ रनले हराएको हो ।
१८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रन बनाएर अलआउट भयो। सिंगापुरका लागि रोशन रविचन्द्रनले २४ र प्रनभ धनुकाले १४ रन बनाए।
नेपालका कृतिक कामातले ३ तथा अभिषेक तिवारी, अशोक धामी, प्रतिक पोखरेल, सन्तोष यादव र नरेनले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । सुर्यांशु कोइरालाले ४३ र ओपनर निरज यादवले ४२ रन बनाए ।
प्रतियोगितामा ७ टोली सहभागी छन् । उपाधिका लागि नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।