दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो : सन्दिप लामिछाने

काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) खेलेर फर्किँदै गरेका सन्दीप लामिछाने चढेको विमान आकाशमै सवा दुई घण्टा होल्ड भएको छ । लामिछाने चढेको विमान आइतबार दिउँसो साढे २ बजे ल्याण्ड हुने भनिएको थियो । तर, प्राविधिक समस्या देखाउँदै उक्त विमान पौन ५ बजे मात्र ल्याण्ड गरिएको थियो ।
विमानस्थलमा उत्रिएपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले भने, ‘दश राउन्ड प्लेन आकाशमा घुम्दा मेरो त सातो गयो। यस्तो कसैलाई नहोस् ।’
आइतबार एअर इन्डियाको फ्लाइटमार्फत २:३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका भए पनि खराब मौसमका कारण विमान करिब २ घन्टा लगाए् आकाशमा १० फन्को मारे पछि उनले आफ्नो सातो गएको बताए ।
उनले गत वर्षको सिजनमा भन्दा यस वर्ष आईपीएल आफ्नो लागि बढी उपलब्धिपूर्ण भएको बताए । दिल्ली क्यापिटल्सबाट यसवर्ष ६ खेल मात्रै खेल्न पाए पनि गत सिजनमा भन्दा धेरै सिकेको बताएका हुन् । उनले भने, ‘तुलनात्मक रुपमा पहिले भन्दा राम्रो भएको छ । यसपटक पनि व्यक्तिगत रुपमा मात्रै नभई नेपाली क्रिकेटकै स्तर माथि उठाउन केही योगदान गर्न सकेँ जस्तो लागेको छ ।’
उनले यो सिजनमा खेलका ६ खेलमा ९.१३ इकोनोमीका साथ ८ विकेट लिएका थिए । उनले खेलेको अन्तिम खेलमा बैंगलोरविरुद्धको बलिङ भने उनका लागि महंगो सावित भएको थियो । उक्त खेलमा उनले ३ ओभर बलिङ गर्दा ३६ रन खर्चिए पनि विकेट लिन सकेका थिएनन् । त्यसपछिका खेलहरुमा उनी बेञ्चमै बस्नुपर्यो ।
यसैबीच उनले जेठ पहिलो साता हुने प्रधानमन्त्री कपमा थकानका कारण सहभागी नहुने स्पष्ट पारेका छन् ।