समाजवाद : बहुरूपी तमासा
समाजवादी मोर्चाको घोषणा (०८० असार ४) पछि कतिपय मान्छेले व्यंग्य गर्दै त्यसलाई नयाँ नाम दिए, ‘पारिवारिक समाजवाद’ । कसैले भने, ‘आसेपासे समाजवाद’ । मोर्चा घोषणाको प्रारम्भिक दिनमै यसरी कडा आलोचना र टिप्पणी आउनुले मूलतः दुईवटा प्रश्न सिर्जना गर्दछ।
पहिलो, पुरानै अनुहार, पुरानै अनुभव, पुरानै वैचारिक आधारमा उभिएर बनाइएको समाजवादी मोर्चाले नयाँ के दिन्छ ? दोश्रो, कतै यो सत्ताको अर्को जालसाजी वा जुवाको खाल त हैन ? जहाँ बसेर कौडा हान्नेले त बाजी मार्लान्, तर आम मान्छेलाई त्यसले कुनै फरक पर्दैन । हाम्रा पूर्वअनुभवहरू गतिला छैनन् । त्यसैले, यी प्रश्न स्वाभाविक छन् ।
खासमा आफू बलियो हुने चाहना राख्नु प्रत्येक दलको राजनीतिक धर्म हो । तर, बलियो हुन निर्माण गरिने राजनीतिक-वैचारिक तर्क, आधार र प्रयोग भने युगसापेक्ष हुनुपर्छ । अन्यथा, युगको गतिलाई समाउन नसक्ने प्रयोगले न त वैचारिक योगदान गर्छ, न त राजनीतिक । बरु नयाँ-नयाँ रंगमा देखापर्ने चटकले राजनीतिलाई नै विरूप बनाउँछ । यो अर्थमा समाजवादी मोर्चाका अगाडि थप प्रश्नहरू छन् । जस्तो, के नेपालमा अझै मार्क्सवादी (कम्युनिज्म) समाजवादको क्रेज (औचित्य) छ ? छैन भने, मोर्चाले भनेको समाजवादको नयाँ रंग र रूप कस्तो हुन्छ ?
यो समय समाजवादलाई स्वयं समाजवादीहरूले हुर्मत काढेर ध्वस्त बनाएको समय हो । अहिले समाजवादको रंग र रूप खुइलिएको छ । यसप्रति आम मान्छेको आस्था सकिएको छ । त्यसैले, त व्यंग्य गर्दै मान्छेले भने, ‘धूर्तहरूको मोर्चा’ ।
यस्तो लाग्छ कि, परम्परागत समाजवादको टुनामुना अब चल्दैन । त्यो टिप्पणी भित्रको संशय के भने, कतै यो सुन्दर खोलभित्र राखिएको गुलियो विष त हैन ? किनभने समाजवादी चिन्तनको मुख्य अभिष्ट फगत सत्ता मात्र भयो भने, जतिसुकै मोर्चा बनाए पनि त्यसले राजनीतिलाई योगदान गर्दैन ।
रेडिमेड समाजवाद
समाजवादसँग नेपाली कम्युनिस्टहरूको द्विविधा र लगाव ठूलो छ । लगाव यतिबिघ्न छ कि, उनीहरू यो शब्दमाथि आफ्नो नैसर्गिक स्वामित्व रहेको ठान्दछन् । त्यसैले भन्न पर्दैन, कम्युनिस्टहरू रेडिमेड समाजवादी हुन् । तर, रेडिमेड समाजवादी हुनु नै आजका लागि कम्युनिस्टहरूको महादुर्भाग्य हो। किनभने, जब कोही जन्मँदै समाजवादी भएर जन्मन्छ, त्यसपछि उसलाई अतिरिक्त काम गर्नै पर्दैन । उसले आफ्नो परिचयका लागि मेहनत गर्न पर्दैन । कामबाट चरित्र पुष्टि गर्न पर्दैन । स्वयंलाई रूपान्तरित गर्न पर्दैन ।
जब मेहनत नै नगरी कसैले समाजवादी हुने सुविधा पाउँछ भने त्यसले उसलाई अल्छि, ढोंगी र अन्ततः लम्पट समाजवादी बनाइदिन्छ । त्यसैले, कम्युनिस्टहरूको समाजवाद ढोंगी छ । प्रमाणित गर्न नपर्ने फगत शब्दको समाजवाद । आजका कम्युनिस्टहरूको संकट र द्विविधा यही हो । सायद मोर्चाको संकट पनि यही हो ।
मोर्चाको अर्को संकट के भने, त्यसमा संलग्न दलहरूको वैचारिक आधार र चरित्र निकै फरक छ । एउटा त लेनिनवाद र माओवादको फरक स्कुलिंगले कसरी एकताबद्ध भएर परिणाम देला ? यो अनुभव एमाले र माओवादीको एकताबाट बनेको पूर्व नेकपामा सुखद देखिएन। अर्को उपेन्द्र यादवको जसपा प्रति माओवादी कार्यकर्तामा वैचारिक खाडल त छ नै पुरानो मनोवैज्ञानिक तुष पनि छ । त्यसमा मिसिन्छ उनको चर्को सत्तामोह ।
के माओवादीले माओवाद छोडेर मोर्चा बनाएका हुन् ? कि उपेन्द्र यादव र माधव नेपालहरूले माओवादी वैचारिकीलाई स्विकार गरेका हुन् ? कमरेड विप्लवको जनगणतन्त्रका लागि विद्रोहको उद्घोष अब के हुन्छ ? अथवा, उनको वैचारिक रूपान्तरण हो भने, त्यसको जग के हो ? निश्चय नै वैचारिक रूपान्तरण सम्भव छ । मानौं, माओवाद र लेनिनवादको एकता पनि भयो । अथवा, उपेन्द्रको वैचारिक रूपान्तरण पनि भयो । तर, त्यो रूपान्तरणको साझा भाष्य के हो ? खै, नयाँ वैचारिक आह्वान ? के १५ बुँदाको सानो पर्चाले विचारको नयाँ चित्र दिन्छ ? अन्यथा वैचारिक द्विविधाहरू सँगै राखेर बोक्रे मोर्चा बनाउँदैमा सफलता सुनिश्चित गर्दैन ।
त्यसैले, द्विविधा यो छ कि, सत्ताका लागि टाउकाहरू मिले पनि तल पाइला कसरी एउटै ताल र लयमा हिँड्लान् ? प्रारम्भमै जसरी डा. भट्टराईको नेसपाप्रति मोर्चामा पूर्वाग्रह देखियो, त्यसले यसको संकिर्णता प्रमाणित गर्छ । वैचारिक अन्योल, अनुदार नेतृत्व, संकीर्णता र षडयन्त्रको जगमा बनेको मोर्चाले कसरी समाजवाद ल्याउला ?
हिजो कम्युनिस्टहरूलाई प्रगतिशील भनिन्थ्यो । निश्चय नै, तीव्र शोषण, विभेद र आर्थिक-सामाजिक हेलाहोचोका समयमा कम्युनिस्टहरूले जे भने, त्यो प्रगतिशील कुरा थियो । अन्धविश्वासलाई इन्कार गर्नु र वैज्ञानिक तथ्यलाई स्थापित गर्नु निश्चय नै प्रगतिशील थियो । वर्ग, जात, धर्म र लिंगका विभेदलाई इन्कार गर्नु निश्चय नै प्रगतिशील कुरा थियो । तर, आफू प्रगतिशील हुँ भन्ने घमण्डमा कम्युनिस्टहरू विस्तारै यसरी वैचारिक तथा राजनीतिक जडतामा रमाए कि उनीहरूको प्रगतिशीलता कट्टरतामा परिणत भयो । प्रगतिशील हुनु भनेको कट्टर, जड, निर्मम र संकीर्ण हुनु होइन । उदार, प्रेमिल, गतिशील र अग्रगामी हुनु हो ।
गतिशीलताले आफ्नै विचारहरूलाई पनि आलोचना गर्छ र समयसँगै त्यसलाई समृद्ध बनाउँछ । तर, दुर्भाग्य, समाजवादको भ्रष्टीकरण र प्रगतिशीलताको तेजोबध आजका कम्युनिस्टहरूको आम चरित्र हो । नेपालका कम्युनिस्टहरू आज न त सहिअर्थमा समाजवादी देखिन्छन्, न त प्रगतिशील । लोकतान्त्रिक त उनीहरू अझै हुन सकेका छैनन् । यी तिनवटा संकटको माखेसाङ्लोबाट समाजवादी मोर्चा कसरी बाहिर निस्कन्छ, त्यसैले उसको भविष्य निर्धारण हुन्छ ।
केही मान्छेहरू भन्छन् ‘नेपालमा न कम्युनिस्ट छन् न समाजवादी’ । तर, नेपालमा कम्युनिस्ट वा समाजवादको ब्रान्ड भने बलियो छ । त्यही ब्रान्डको मूल्य बढाउन हिजो एमाले र माओवादी मिले । त्यो उन्नत राजनीतिका लागि भएको एकता थिएन, थियो फगत सत्ता आर्जन गर्ने रणनीति । आज मोर्चा बनाउँदा पनि कुरा त्यही हो ।
मिल्नु निश्चय नै राम्रो हो । एकीकरणले राम्रै गर्छ । तर, आलोचना छ कि यो विचारको एकीकरण होइन । यो आन्दोलनको सम्मिलन होइन । यो भविष्यमुखि छैन । यो फगत सत्तास्वार्थको अंकगणित हो । समाजवादलाई सत्ता षड्यन्त्रको अर्थमा मान्छेहरूले बुझ्दै जाँदा यसको वैचारिक जग र गम्भीरता कहाँ पुग्ला ? अवश्य नै माथिका अनेक प्रश्नको जवाफ घनश्याम भुसाललगायत मोर्चामा आशा गरिएका नेताले खोज्नैपर्छ । अन्यथा पुरानै भाष्यमा रमाउने हो भने, त्यो मात्र समयको सत्यानास हुन्छ, त्यसले समाजवाद बन्दैन ।
अनेकौं रंग र रूप
समाजवादका अनेक रंग र रूप छन् । समाजवादी मोर्चाले भनेको समाजवाद कस्तो हो ? चीनको जस्तो ? उत्तरकोरियाको जस्तो ? भियतनामको जस्तो ? पश्चिम बंगालको जस्तो ? अवश्य नै ‘रेडिमेड’ उत्तर हुनसक्छ नेपालको जस्तो । तर, त्यो भनेको कस्तो ? फेरि प्रश्न त आउँछ नै ।
भन्नका लागि नेपालमा प्रायसः सबै दल समाजवादी छन् । कम्युनिस्टहरू मार्क्सवादी समाजवादी भइहाले, नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छ । जसपाले पनि आफूलाई सामुदायिक समाजवादी बताउँछ । नेपालमा कोही वैज्ञानिक समाजवादी छन् भने कोही संवैधानिक समाजवादी छन् । हुँदाहुँदा अहिले त राप्रपाकै नेताहरूसमेत आफूलाई कहिलेकाँही सबैभन्दा गतिलो समाजवादी भन्छन् । बरमझियाको पेडाजस्तो । त्यसो त, हाम्रो संविधान आफैँ ‘समाजवाद उन्मुख’ छ । समाजवादको यति ठूलो बजारमा नयाँ मोर्चाले बेच्न खोजेको
समाजवादको स्वाद कस्तो होला ?
अवश्य नै, विश्व कम्युनिस्ट आन्दोलनमा लेनिनको उदयसँगै समाजवादको एउटा भाष्य प्रखर हुँदै आयो । र, त्यसले झण्डै शताब्दि राज गर्यो । अन्ततः सन् ९० को आँधीबेहरीपछि यो धार रक्षात्मक बन्दै संकटमा आइपुग्यो । यही सन्दर्भमा राजनीतिक शास्त्रीहरू भन्छन्, पुँजीवादले आफूलाई परिवर्तन गर्दै लग्यो तर मार्क्सवादीहरू (समाजवादी) जडसूत्रवादी देखिए । पुँजीवाद गतिशील देखियो, समाजवाद स्वयं भने गतिहिनतामा फस्यो । पुँजीवाद फस्टाउँदै गयो, समाजवाद जिम्लिँदै गयो । यद्यपि, आफ्ना कमजोरीहरू देख्नुको साटो समाजवादी कम्युनिस्टहरूले साम्राज्यवादलाई दोष दिए । मार्क्स, लेनिन वा माओहरूको देवत्वकरण उनीहरूको विश्वव्यापी मूल प्रवृत्ति बन्यो ।
त्यसो त, स्वयं लेनिनको समयमा पनि समाजवादको बहस चर्को थियो । तर, त्यो बहसलाई संसारकै कम्युनिस्टहरूले सन्तुलित ढंगले संश्लेषण गर्न सकेनन् । बरु उल्टो उनीहरूले व्यक्तिपूजा (लेनिन) लाई स्थापित गरे, परिणाम समाजवाद आफैँ जडताको अँध्यारोमा जकडियो ।
लेनिनवादीहरू (माओवादी समेत)को सीमा के भने, उनीहरूले आर्थिक क्षेत्रमा नाफालाई सँधै पूर्वाग्रहबाट हेरे । राजनीतिक क्षेत्रमा अधिनायकवादले (स्टालिनपथ) प्रश्रय पायो । सामाजिक क्षेत्रमा व्यक्तिको सर्वोच्चता र स्वतन्त्रता कुण्ठित गरियो । संगठनात्मक क्षेत्रमा यो केन्द्रीयतामुखी रह्यो । र, नेपालमा यसले आसेपासेलाई मात्र परिवर्तनको लाभ दियो ।
मार्क्सवादी समाजवादीले वर्गबीचको अन्तरविरोधलाई संघर्षको प्रधानपक्ष बनाए । उनीहरूले समाजका अन्य अन्तरविरोध देखेनन् । जातको अन्तरविरोध, भाषाको, रंगको, भूगोलको अन्तरविरोध । मार्क्सवादी समाजवादीहरूले समाजको कुरा त गरे तर मान्छेको निजत्वलाई देखेनन् । मान्छेको मन, सोच, आवेग, सम्वेगलाई बुझेनन् । मनको परिवर्तन कस्तो हुन्छ ? मन त फड्को मार्छ । मन त उडान भर्छ । व्यक्तिको स्वतन्त्र मनलाई परम्परागत समाजवादको सूत्रभित्र कसरी नियन्त्रण गर्न सकिन्छ ? सकिँदैन भने, प्रत्येक व्यक्तिलाई समाजवादका लागि उत्प्रेरित गर्ने
रणनीतिक सूत्र के हो ?
मान्छेको मनलाई न पुलिसले नियन्त्रण गर्नसक्छ न राज्यले । त्यो सोच, यो नसोच, यो खाऊ, त्यो नखाऊ । यो काम गर, त्यो नगर । यसैकारण लेनिनको समाजवादले विश्वास गुमायो र ढल्यो । त्यसो भए नेपालमा मोर्चाले बनाउन खोजेको समाजवाद कस्तो हुन्छ ? लेनिनवादी मोडेलको विकल्पमा यसले दिने विकल्प के हो ? कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य गैरकम्युनिस्टहरूले भन्ने समाजवाद र मोर्चाले भनेको समाजवादमा के फरक छ ?
सन् १८९७ आसपासको सम्झना गरौं । रोजा लग्जम्बर्ग र एडवार्ड बर्नस्टाइन विश्व कम्युनिस्ट आन्दोलनका बहुचर्चित नेता थिए । उनीहरू बीच समाजवादको मोडेल र भविष्यलाई लिएर रोचक बहसहरू भए । बर्नस्टाइन मान्दथे कि पुँजीवाद जड रहने छैन । यसमा यथेष्ट ‘अनुकूलन’ क्षमता विकास हुनेछ । जतिजति संकटहरू आउँछन् त्यति नै पुँजीवादले आफ्नो अनुकूलन क्षमता विकास गर्नेछ । यसर्थ पुँजीवादको विघटन हैन बरु पुँजीवादभित्रैबाट समाजवाद निर्माण गर्नुपर्छ ।
बर्नस्टाइन सामाजिक सुधार, मजदुरहरूको सुविधामा वृद्धि, राज्यको न्यायपूर्ण रूपान्तरण, राज्यमाथि सामाजिक नियन्त्रण, मुआब्जा र क्षतिपूर्ति, लोकतन्त्र निर्माण र संसदीय संघर्षजस्ता विषयको पक्षमा थिए । तर, लेनिन पुँजीवादको ध्वंश चाहन्थे । सर्वाहारा राज्य र राज्य नियन्त्रित अर्थव्यवस्था चाहन्थे । रोजा पनि बर्नस्टाइनसँग असहमत थिइन् । उनी बर्नस्टाइनको विचारलाई पुँजीवादको रंगरोगन मात्र ठान्दथिन् । बर्नस्टाइन सहकारीकरण, सामूहिकीकरण र लोककल्याण जस्ता विधिबाट पुँजीवादको चरित्र फेर्न सकिने ठान्दथे ।
अहिले मोर्चाका साथीहरू के चाहन्छन् ? आसेपासे समाजवाद र दलाल पुँजीवादको अन्त्य गर्ने उनीहरूको समाजवादी मोडेल के हुन्छ ? दलाल पुँजीवादको रंगरोगन गरेर मात्र समाजवाद कसरी आउला ? किनभने मान्छेहरूको आरोप छ, मोर्चाका नायकहरू नै बिद्यमान आसेपासे समाजवाद र दलाल पुँजीवादका सहनायक हुन् ।
उदार प्रजातन्त्रवादीहरू भएजति सबै सामाजिक सेवा बजारलाई छोडेर समाजवादको कुरा गर्दछन् । मार्क्सवादीहरू बजार र ब्यक्तिलाई डोकाले छोपेर समाजवाद बनाउने ठान्दछन् । आजका लागि यी दुवै समाजवादका ‘नकचरा’ मोडल हुन् ।
प्रश्न आउँछ, के प्रजातान्त्रिक समाजवाद विकल्प हुनसक्छ ? जब कम्युनिस्टहरू प्रजातान्त्रिक समाजवाद भन्छन्, त्यसले विचित्रको राजनीतिक ‘क्यानभास’ सिर्जना गर्दछ । जो एकातिरबाट हेर्दा ‘बुर्जवा प्रजातन्त्रवादी’ जस्तो देखिन्छ अर्कोतिर बाट हेर्दा ‘मार्क्सवादी समाजवादी’ जस्तो । अनुभवले भन्छ यहिनेर कम्युनिस्टहरूको महाद्विविधा निहित छ । किनभने लोकतन्त्र र सामाजिक न्यायलाई सत्ताको बर्कोले छोपेर प्रजातान्त्रिक समाजवाद बन्दैन । जुन पार्टीका सत्ताहरू स्वयं लोकतन्त्रको हुर्मत काढ्छन् तिनले राज्यसत्तालाई कसरी लोकतान्त्रिक बनाउँछन् ?
मोर्चामा लोकतन्त्र र समाजवाद प्रतिको गम्भिरता कम र सत्ताको हतारो ज्यादा देखिन्छ । जुन कुरा मोर्चाले जारी गरेको १५ बुँदा पढ्दा पनि अनुभुत हुन्छ । त्यहाँ, न त उनीहरू राजनीतिक (लोकतान्त्रिक) पुनर्गठनप्रति प्रतिबद्ध छन् न त आफ्नै द्विविधा र असफलताप्रति आलोचना गर्न । यस्तो बेला उनीहरूको समाजवाद मार्क्सवाद र पुँजीवादको अवैधानिक सन्तान भन्दा धेरै केही हुँदैन । के मोर्चाले वर्णशंकर समाजवादको बाटो समाउला ? त्यसो भयो भने, त्यो झन् ठूलो राजनीतिक दुर्भाग्य हुनेछ ।
आजको समाजवाद
समाजवादी मोर्चा घोषणा भएको दिन कमरेड झलनाथ खनालले प्रधान शत्रुको हो भनेर प्रश्न गरे । राजनीतिका लागि एउटा शत्रु निर्माण गर्ने र त्यही शत्रुसँग निरन्तर संघर्ष गरेर समाजवादको मृगतृष्णामा रमाउने यो पुरानो भाष्य हो । जस्तो हिजो कसैले अमेरिकालाई प्रधान शत्रु बनाए, कसैले भारतलाई । कसैले साम्राज्यवाद भने, कसैले विस्तारवाद र कसैले सामन्तवाद ।
अतः आजको समाजवाद प्रधान शत्रु खोजेर, त्यससँग निरन्तर संघर्ष गरेर नभई सामाजिक प्रवर्गहरूको एकता, सम्मिलन र रूपान्तरणको खोजी गरेर बन्छ । हिजो वर्गसंघर्ष समाजवादको प्रारम्भ थियो । आज सामाजिक एकताबाट ‘सिनर्जी’ निर्माण गर्ने र सबै मिलेर समाजवादमा जाने बहस सुरु भएको छ । यसर्थ, कमरेड खनालको पहिलो प्रश्नले नै त्यहाँको जडता र परम्परागत कुपमण्डुता स्पष्ट हुन्छ । यद्यपि, सामाजिक आर्थिक समस्याहरू हाम्रा शत्रु हुन्, तिनीहरूको समाधान आवश्यक छ ।
केही प्रश्नहरू छन् जसले आजको समाजवादका लागि उत्प्रेणनात्मक काम गर्दछन् । पहिलो के आजको राजनीतिक तथा शासकीय संरचनालाई जस्ताको तस्तै राखेर समाजवाद बन्छ ? बन्दैन । के आजको दलीय संरचना जस्ताको तस्तै राखेर र अन्तरपार्टी लोकतन्त्रको हुर्मत लिएर समाजवाद बन्छ ? बन्दैन । आजको समाजवाद कम्युनिस्टहरूले बनाउँछन् कि त्यसका लागि छुट्टै समाजवादी संगठनको आवश्यकता पर्छ ? अलग संगठन आवश्यक पर्छ । समाजवाद राज्यको चरित्र बदल्ने प्रयत्न हो भने, अहिले जे छ, त्यसलाई रंगरोगन गरेर मात्र समाजवाद बन्छ ? बन्दैन ।
हिजो समाजवाद निर्माणको साधन कम्युनिस्ट पार्टी र सर्वहारा वर्गलाई मानियो । कम्युनिस्टहरूका लागि समाज भनेको मात्र मजदुर किसान थिए, अरु सबै समाजवादका शत्रु । आजको अवधारणाले भन्छ, आमरूपमा राज्यसत्ताको शत्रु कोही हुँदैन । न व्यापारी शत्रु हुन्छ, न उद्योगपति । आज सबै जनता राज्यका समान हिस्सेदार हुन् । र, आज ति सबैको आलोचना र स्वामित्वबाट राज्यसत्ता गतिशील हुन्छ । यो अर्थमा हिजो कम्युनिस्टहरूले भनेको समाज र आजको समाज फरक छ । जब समाज फरक हुन्छ त समाजवाद पनि फरक भइहाल्छ ।
आज समाज र व्यक्ति अन्तरसम्बन्धित छन् । आज समाजको कुरा गर्दा व्यक्ति आउँछ, व्यक्तिको कुरा गर्दा समाज । व्यक्तिगत स्वतन्त्रता र सामाजिक एकतालाई सन्तुलित नगरी आजको समाजवाद बन्दैन । अतः व्यक्तिलाई एक महत्त्वपूर्ण एकाइको रूपमा समृद्ध बनाउने काम आजको समाजवादका लागि निकै महत्त्वपूर्ण छ । व्यक्तिलाई समृद्ध बनाउने भनेको उसको पूर्ण स्वतन्त्रता र आर्थिक सामाजिक न्यायको सुनिश्चितता हो ।
अर्कोतिर, हाम्रो समाज आफैँमा बहुलवादी छ । जात, धर्म, रंग, भाषा, क्षेत्रको यो विविधतालाई एकताबद्ध गर्न र सामूहिकतामा ढाल्न आजका समाजवादीले सोच्नुपर्ने कुरा हिजोजस्तो (मात्र वर्गीय) सजिलो छैन । के यस्तो विविधतालाई जोड्ने मोर्चासँग कुनै सिर्जनात्मक खाका छ ? विविधतालाई जोड्ने धागो विना आजको समाजवाद किमार्थ बन्दैन ।
सम्पूर्णरूपमा व्यक्तिको स्वतन्त्रता, सामाजिक एकता र साझा समृद्धिलाई सुनिश्चित र सन्तुलित गर्ने व्यवस्था नै आजको समाजवाद हो । यो राज्यको नियन्त्रणबाट होइन बरु राज्यको नियमन र उत्प्रेरणाबाट बन्दछ । यो सर्वहाराले बनाउने समाजवाद होइन । यसमा सम्पूर्ण जनताको प्रत्यक्ष संलग्नता रहन्छ । जनताले बनाउने समाजवाद संकुचित र सर्वसत्तावादी हुँदैन । यो मानवीय हुन्छ । किनभने समाजवादले जनतालाई सिद्धान्तको हतकडी लगाउन हुँदैन बरु स्वतन्त्रताको खुल्ला आकाश दिनुपर्छ । यस्तो आकाश जहाँबाट संसारको सबैभन्दा सुन्दरतम् सभ्यताको दर्शन मिलोस् ।
अन्तिम कुरा, मात्र यती विचार गरौं कथित कम्युनिस्टहरू ‘स्टालिन पथमा’ नजाउन र कथित प्रजातन्त्रवादीहरू ‘घरानीया’ प्रजातन्त्रमा नफसून् । पुग्नुपर्ने ठाउँ सामाजिक न्याय, समृद्धि र विकास हो । यो विना समाजवाद असम्भव छ । नेपालभ्यूजबाट साभार गरिएकाे बिचार ।