भारतसँग पराजय ब्यहोर्दै नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौं । भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।
भारतसँग २–० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो । भारतले दुवै गोल दोस्रो हाफमा गर््यो । भारतको जितमा ६१ औं मिनेटमा सुनिल क्षेत्री र ७० औं मिनेटमा महेश सिंह नाओरेमले गोल गरे ।
नेपालले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतसँग अहिलेसम्म खेलेका ९ मध्ये ८ खेलमा पराजय ब्यहोरेको छ ।
सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा मात्र नेपालले भारतलाई हराएको थियो । त्यसयता भएका साफ च्याम्पियनसिप र अन्य प्रतियोगिता गरी कुल ११ खेलमा नेपाल भारतसँग जितविहीन छ ।
लगातार दुई खेल जितेका भारत र कुवेत अन्तिम खेलअघि नै समूह ए बाट सेमिफाइनल प्रवेश गरेका छन् ।
नेपाल पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएको थियो भने भारतले पाकिस्तानलाई ४–० ले पराजित गरेको थियो । भारत र कुवेत दुवैको समान ६ अंक छ ।
नेपाल र पाकिस्तान भने समूह चरणबाट बाहिरिएका छन् । अब नेपाल र पाकिस्तानबीच आउने मंगलबार हुने खेल औपचारिकता मात्र हुनेछ । नेपाल सन् २०१५ यता साफ च्याम्पियनसिपमा पहिलो पटक समूह चरणबाटै बाहिरिएको हो । २०१८ मा ढाकामा सेमिफाइनल पुगेको नेपालले २०२१ मा माल्दिभ्समा फाइनल खेलेको थियो ।
साफ च्याम्पियनसिपलाई थप प्रतिस्पर्धात्मक बनाउन पहिलो पटक लेबनान र कुवेतलाई आमन्त्रित टिमको रुपमा साफ खेल्न बोलाएको थियो । र नेपाल कठिन समूहमा परेको थियो ।