नेपालको विश्वकप सपना समाप्त, नेदरल्याण्डससँग पराजित हुँदै छनोट प्रतियोगिताबाट बाहिरियो

निरन्तर न्यूज
१० असार २०८०, आईतवार ०८:५५

काठमाडौं । नेदरल्यान्ड्ससँग पराजित हुँदै नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जित्नैपर्ने खेलमा नेपाल नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएको हो ।

यस अघि नेपालसँगै समूह ए मा रहेको अमेरिका तथा समूह बी मा रहेको युएई प्रतियोगिताबाट बाहिरिई सकेका छन् । नेपाल बाहिरिएसँगै जिम्बावे र वेस्ट इन्डिज पनि सुपर सिक्समा स्थान बनाउन सफल भएका छन् ।

टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले दिएको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलब १ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओ डाउडले ७५ बलमा ८ चौका र ४ छक्काको सहयोगमा ९० रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर विक्रमजित सिंहसँग मिलेर पहिलो विकेटका लागि ८६ रनको सानदार साझेदारी गरे ।

सिंहले ४३ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रनको योगदान गरे । सिंह सन्दीप लामिछानेको बलमा आउट भएका थिए ।

तेस्रो विकेटका लागि ओ डाउनले बास डि लिडासँग ६८ बलमा ६२ रनको साझेदारी गरे । बास डि लिडाले ३९ बलमा ६ चौकाको सहयोगमा अविजित ४१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले २ तथा गुलसन झाले १ विकेट लिएका थिए ।

त्यसअघि पहिले टस हारेर ब्याटिङ गरेको नेपाल ४४ दशमलब ३ ओभरमा १ सय ६७ रन बनाउदै अलआउट भएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ५५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३३ रन बनाएका थिए । नेपालका ओपनर आसिफ शेख तेस्रो ओभरको दोस्रो बलमा शुन्य रनमा आउट भएका थिए ।

नेपालका कुनै ब्याटरका बीचमा पनि सम्झनलायक साझेदारी हुन सकेन ।

सन्दीप लामिछानेले ३३ बलमा ४ चौकाको सहयोगमा २७ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले ४२ बलमा २ चौकाको सहयोगमा २७ रन बनाएका थिए ।

भीम सार्कीले ५६ बलमा १ चौकाको सहयोगमा २२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन बनाए।

नेदरल्यान्ड्सका लागि लगन भान विकले ४ तथा बास डि लिड र विक्रमजित सिंहले समान २/२ विकेट लिए । क्लेटन प्लोयट र आर्यान दत्तले समान १/१ विकेट लिए ।

सुपर सिक्समा पुग्न नेदरल्यान्ड्सलाई हराउन पर्ने नेपालको यात्रा यतीमा नै रोकिएको छ । जितसँगै नेदरल्यान्ड्स भने सुपर सिक्सका लागि छनोट भएको छ ।

सुपर सिक्समा प्रवेश गरेको नेदरल्यान्ड्सको एकदिवसीय विश्वकपमा छनोटको सम्भावना समेत जिवित रहेको छ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु