समाजवादी मोर्चाबाट ‘वैतरणी’ तर्ने प्रचण्ड सपना
पूर्वीय दर्शनमा वैतरणीको ‘मिथ’ निकै लोकप्रिय छ। पुराणका अनुसार वैतरणी नदी तार्नका लागि मानिस मृत्यु नजिक हुँदा पूजापाठसमेत गरिन्छ। यो हिन्दू सभ्यताको कुरा भए पनि हामीमाझ ‘वैतरणी’ तर्ने कहावत बेला-बेला प्रयोग भइरहन्छ।
प्रसंग जोडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनका पूर्वसहयात्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको । भारतको उज्जैनमा गेरु वस्त्रको फेरो मारेपछि प्रचण्डले वैतरणी पूजा मान्छन् कि मान्दैनन् त्यो भन्न नसकिए पनि उनको राजनीतिक जीवनमा वैतरणी तारिदिने एक पात्र हुन बाबुराम ।
जब जब संकट पर्छ अथवा वैतरणी तर्नुपर्छ प्रचण्डले बाबुरामलाई सम्झिन्छन् । वैतरणी पार गरेपछि भने प्रचण्डलाई बाबुरामको वास्ता हुँदैन। पार्टी सँगै हुँदा होस् वा बाहिर रहँदा बेला-बेलामा बाबुरामले प्रचण्डलाई संकटबाट पार लगाउँदै आएका छन्।
जब प्रचण्ड २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रलाई भेटेर नयाँ समीकरणमा जान चाहन्थे तर बाबुराम भने यो गलत छ भन्नेमा थिए। त्यसको फलस्वरूप बाबुरामलाई कारबाही गर्दै प्रचण्डले जनमुक्ति सेनाको हिरासतमा राखे। जसै बाबुराम हिरासतमा रहेको खबर ज्ञानेन्द्रले पाए घटना के घट्यो हामी सबैलाई थाहा छ।
आफ्नो योजना सफल नभएपछि बाबुरामको कारबाही फुकुवा गर्नुको विकल्प प्रचण्डसँग रहेन। कारबाही फुकुवा भएपछि नै राजनीतिक दलसँगको संवाद अगाडि बढ्यो र १२ बुँदे सहमति भयो। बाबुरामको कारबाही फुकुवा भएपछि लोकतन्त्रका लागि दल र विभिन्न शक्ति केन्द्रसँगको संवादमा रहेका बाबुरामबारे नेपाल साप्ताहिकले कभर स्टोरी लेखेको थियो, ‘लालकिल्लामा लालध्वज’। त्यतिबेलाको संकट तार्न पनि बाबुराम नै अगाडि सर्नुपर्यो । १२ बुँदेको जगमा नै देशमा गणतन्त्रको मार्ग कोरियो।
यस्ता कयौं उदाहरण छन्। पछिल्लो विषय आम निर्वाचनकै भयो। चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा भिड्न डराएर भौतारिएका प्रचण्डलाई उनै बाबुरामले गोरखाबाट आफूले चुनाव लड्दै आएको क्षेत्र छोडिदिए। यहाँ पनि प्रचण्डको उद्दार गर्न बाबुराम नै अगाडि उभिए। गोरखामा चुनाव लड्न जाँदै गर्दा प्रचण्डले बाबुरामलाई भने, ‘पार्टीमा फर्किनुस्। पार्टीको काम तपाई हेर्नुस्, सरकारको म हेर्छु।’ जब चुनाव जिते उनले त्यो पनि बिर्सिए।
बाबुरामले राजनीतिक जीवनमा प्रचण्डबाट धोका र जालझेलबाहेक ब्यहोर्नु परेको छैन। यो भूमिगत समयदेखि फरक पार्टीमा रहँदासम्मको उदाहरण हो । भूमिगत अवस्थामा नेकपा माओवादीका नेताको नाम लिँदा आम मानिस डा. बाबुराम भट्टराई भन्थे । सामान्य मानिसको के कुरा सुरक्षा निकाय र स्थापित व्यक्ति प्रचण्ड भन्ने व्यक्ति छैनन् भन्थे। नेपाली सेनाको डीएमआई विभागको प्रमुख भएर निवृत्त भएका एक सैनिक अधिकृतले एक भेटमा सुनाउँथे, ‘प्रचण्ड छन् या छैनन् बेला-बेला हामी नै ‘कन्फ्युज’ हुन्थ्यौं। माओवादीका प्रमुख नेता बाबुराम नै हुन् भन्ने थियो।’
अर्थात् पार्टी भित्रका नेता कार्यकर्ता मिलाउन प्रचण्डको भूमिका भए पनि आम मानिसमा माओवादी जनयुद्धलाई स्थापित गर्ने काम बाबुरामकै नामले गरेको थियो।
अहिले प्रचण्डले आफू निकट नेता र दलसँग मिलेर समाजवादी मोर्चा बनाएका छन्। समाजवादी मोर्चाबारे बेला-बेला भेटेर छलफल र सल्लाह गरेका उनै बाबुरामलाई भने प्रचण्डले पाखा लगाएका छन्। यसबारे बाबुरामले आफैं त केही भनेका छैनन्, तर मोर्चाको विषयलाई नजिकबाट अध्ययन गरिरहेकाहरू भने यसमा प्रचण्डको स्वार्थ देख्छन्। यसले के देखाउँछ भने हिजो पनि प्रचण्ड बाबुरामबाट खतरा महसुस गर्थे र आज पनि।
प्रचण्डका लागि आफ्नो निर्वाचन क्षेत्र छोडिदिएका बाबुरामबाट तर्सिनुपर्ने अवस्था नभए पनि प्रचण्डलाई कता-कता डर छ । समकालीन नेतामध्ये प्रचण्डमा सबैभन्दा धेरै शक्तिको भोक छ। त्यसैले त कहिले नेकपा एमालेसँग पार्टी एकता गर्न पुग्छन् त कहिले समाजवादी मोर्चाको कुरा गर्छन्।
एमालेसँगको एकतामा टिक्न नसकेका उनले अहिले समाजवादी मोर्चा बनाएका छन् । मोर्चाका ५४ सांसद देखाएर सत्तासाझेदार नेपाली कांग्रेसलाई तर्साउने उनको रणनीति प्रष्ट देखिन्छ। त्यसले नेकपा एमालेसँगको ‘बार्गेनिङ पावर’ पनि पढ्छ भन्ने उनको बुझाइ हुनसक्छ।
प्रचण्ड आफ्नो शक्ति गुम्छ कि भन्ने विषयमा सधैं डराउँछन् । शक्तिमा रहिरहन जे गर्न पनि पछि पर्दैनन् भन्ने पछिल्लो उदाहरण आजीवन विरोध गर्दै आएको दौरा सुरुवाल र गेरुवाको बर्कोले देखाउँछ।
सामाजवादी मोर्चामा नेकपा माओवादी केन्द्रसहित माधव नेपालको पार्टी एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र विप्लव नेतत्वको नेकपा छन् । बाबुराम नेतृत्वको को नेसपालाई सहभागी गराउन प्रचण्डले चाहेनन् । निकट नेताका अनुसार बाबुरामसँगको भेटमा समाजवादी मोर्चामा आउन प्रचण्डले आग्रह गर्ने तर पछि कुनै खबर नगर्ने प्रवृत्ति देखाए । यसअघि नेकपा बनाउने क्रममा पनि यस्तै भएको थियो।
बाबुराम नेतृत्वको नयाँ शक्ति पनि नेकपा एकताको समयमा सभागृहमा पुगेको थियो। त्यसबेला पनि प्रचण्डले उनलाई बोलाएका थिएनन्। केपी ओलीको आग्रहपछि एकताका लागि तयार रहेका बाबुरामलाई प्रचण्डले वामदेव गौतम लगाएर बाहिर निकालेका थिए।
जति शक्तिको कमी हुँदै गयो मानिसले उति नै बेसरी मुठ्ठी कस्छ भनिन्छ। प्रचण्डको यो मनोविज्ञान पनि उस्तै हो। उनी पार्टी बाहिर मात्र होइन भित्र पनि खतरा नआओस् भन्ने चाहन्छन्। त्यसैले उनले नयाँ जाल बिच्छ्याएका छन् विप्लवको।
केही समयअघि माओवादीका प्रभावशाली नेता जनार्दन शर्माले प्रचण्डबारे सार्वजनिक मञ्चबाटै असन्तुष्टि व्यक्त गरेका थिए । त्यो पनि प्रचण्डकै सामुन्ने। प्रचण्ड आलोचना सुन्न सक्दैनन्। उनको आलोचना गर्नेहरू पार्टीबाट पाखा लागेका छन् ।
अहिले प्रचण्ड जनार्दन, वर्षमान पुनहरूलाई तर्साउने नेता खोजिरहेका छन्। त्यसका लागि उपयुक्त पात्र विप्लव हुने उनको ठम्याइ छ। मोर्चाबाट विस्तारै उनलाई पार्टीभित्र भित्र्याउने योजनामा प्रचण्ड छन्। हुन त, माओवादीको आठौं राष्ट्रिय महाधिवेशन पछि पनि विप्लवलाई महासचिव पद दिएर पार्टीमा ल्याउने चर्चा चलेको थियो।
तर, प्रचण्डका पछिल्ला प्रयोग सफल हुनेमा भने शंका छ । देशमा अहिले वैकल्पिक राजनीतिप्रतिको रुझान बढेको छ । रवि लामिछाने, बालेन शाह, हर्क साङपाङजस्ता नेताप्रतिको आकर्षण चुलिएको छ । यस्तोमा प्रचण्डले पुरानो ढाँचाको मोर्चा बनाउनु अस्तित्व रक्षाको खोजीबाहेक अरु के होला र ? तर, मोर्चाले पनि प्रचण्डको उद्धार गर्ला भनेर विश्वास गरिहाल्ने आधार भने देखिँदैन ।
नेपालभ्यूजका लागि लेखेको विचार साभार ।