पर्यटकीय क्षेत्रकाे भिडियो डकुमेन्ट्री बन्ने

हेटाैंडा । पर्यटकीय क्षेत्रहरुलाइ समेटेर ३ नम्बर प्रदेशकाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भिडियो डकुमेन्ट्री बनाउने भएकाे छ । पर्यटन मन्त्रालयले प्रदेश भित्र रहेका पर्यटकीय गन्तव्यहरुकाे अध्ययन अवलाेकन गरी भिडियो डकुमेन्ट्री निर्माण गर्ने भएको छ ।
पर्यटकीय गन्तव्यहरुकाे राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्ने उद्देश्यले पर्यटकीय क्षेत्रहरुको प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत डकुमेन्ट्री निर्माण गर्न मन्त्रालयले नेपाल टेलिभिजनसँग सहकार्य गर्ने भएको छ ।
पर्यटन मन्त्री अरुण नेपालको उपस्थिथिमा मन्त्रालय र नेपाल टेलिभिजन बिच सम्झौता पत्रमा हस्ताक्षर भएकाे थियाे ।
मन्त्री नेपालले प्रदेश नं. ३ पर्यटकीय हिसाबले अनेकौँ सम्भावना भएको प्रदेश भएकोले पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार र ब्राण्डिङ गर्नुका साथै पर्यटकीय क्षेत्रहरुको व्यवस्थापनमा प्रदेश सरकार योजनाका साथ लागिपरेको भन्दै नेपाल भ्रमण वर्ष २०२० मा प्रदेश भित्र विदेशी पर्यटकहरुलाइ आकर्षण गर्ने योजनाहरुका बारेमा जानकारी दिए । कार्यक्रममा टेलिभिजनका कार्यकारी निर्देशक महेन्द्र विष्टले डकुमेन्ट्रि निर्माणको काम जेठ भित्रै सक्ने बताए ।