जेठाजुद्वारा बुहारीको हत्या

ललितपुर । ललितपुर महानगरपालिकाको ढोलाहिटीमा जेठाजुद्वारा बुहारीको हत्या भएको छ । घरका सदस्यहरु पानी लिन गएको तथा बुहारी अञ्जना मात्रै घरमा भएको मौका पारी जेठाजु उज्वल महतले खुकुरी प्रहारी गरी हत्या गरेका हुन् ।
माथिल्लो तल्लाबाट अनौठो आवाज आएपछि भाडामा बस्ने एक महिला हेर्न जाँदा अञ्जनाको हत्या भइसकेको थियो । प्रत्यक्षदर्शी ति महिलाका अनुसार रगतले लत्पतिएको कपडा र रगतको छिर्काले भरिएको अनुहारसहित हत्यारा उज्वल बरण्डामा बसिरहेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरेपछि तुरुन्तै घटनास्थल पुगेको प्रहरी टोलीले खुकुरी लिएर बसेको अवस्थामा हत्यारा उज्वललाई पक्राउ गरी अनुसन्धान शुरु गरिरहेको छ । घटनास्थलबाट दुई थान खुकुरी तथा क्षतविक्षत अवस्थामा अञ्जनाको शव फेला परेकाे थियाे । अञ्जनाका औंलाहरू छिनालिएकाे अवस्थामा भेटिएकाे प्रहरीले जनाएको छ ।
मृतक अञ्जनाको शव पोष्टमार्टमका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा राखिएको छ । पाँच वर्ष अघि हत्याारा उज्वलको भाइ प्रज्वलसँग अञ्जनाको विवाह भएको थियो । अञ्जना क्यानडा जाने तयारीमा रहेकी बताइएकाे छ ।
पेशाले संगीतकार रहेका हत्यारा उज्वललाई केही सयमदेखि मानसिक रुपमा समस्या देखिएको र अस्वभाविक गतिविधि गर्न थालेपछि झारफुकका लागि झाँक्रीकोमासमेत लगिएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै स्थानीयले जानकारी दिएका छन् ।
घटनामा उज्वलको संलग्नता भएको र कानुनी कारवाही गर्न माग गर्दै अञ्जनाका पिता गणेशबहादुर लामा र उज्वलका नातामा काका पर्ने शिवराम महतले प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले शुक्रबार जिल्ला अदालत ललितपुरबाट पाँचदिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।