आईपीएल मा ३/३ पटक उपाधि जितेका चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै

बाजी कसले मार्ला ?
निरन्तर न्यूज
२९ बैशाख २०७६, आईतवार १३:२६

काठमाडौं । इन्डियन प्रिमियर लीग (आईपीएल) को फाइनल खेल आइतवार (आज) राति हैदराबादको राजीव गान्धी स्टेडियममा हुन लागेको छ ।

१२ औं सीजनको फाइनलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सका बीच प्रतिस्पर्धा हुनेछ ।

चेन्नई आठौंपटक फाइनलमा पुगेको हो भने मुम्बई चौथोपटक । यसक्रममा दुवैले तीन तीनपटक उपाधि जितेका छन् । चौथोपटक उपाधि जित्ने दाउमा दुवै टोली हुनेछन् ।

यसपालि दुवै टीमको प्रदर्शन हेर्दा फाइनल यसैले जित्छ भनी भविष्यवाणी गर्नु गलत हुन जानेछ । यस सीजनमा दुवै टीमको एकआपसमा भएको भिडन्तमा मुम्बईले जितेको छ । मुम्बईले चेन्नईलाई तीनचोटि हराइसकेको छ ।

टी-२० क्रिकेटमा अलराउन्डरको भूमिका महत्त्वपूर्ण हुन्छ । यसरी हेर्दा चाहिँ मुम्बईको स्थिति बलियो देखिन्छ । पाण्ड्या दाजुभाइसँगै काइरोज पोलार्डले अलराउन्ड प्रदर्शन गरेर म्याचलाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्छन् ।

हार्दिक पाण्ड्याले ३८६ रन बनाएका छन् भने १४ विकेट लिएका छन् भने क्रुणाल पाण्ड्याले १७६ रन बनाएर ११ विकेट हात पारेका छन् । उनीहरूको अलराउन्ड प्रदर्शनले विपक्षी टीमहरूलाई अप्ठ्यारो परेको छ ।

उता चेन्नईका लागि रविन्द्र जडेजाले १०१ रन बनाउनुका साथै १५ विकेट लिएका छन् । ड्वेन ब्राभोले ६५ रन बनाएर ११ विकेट लिएका छन् ।

मुम्बईको शक्ति तीव्र गतिको बलिङमा छ भने चेन्नईसँग इमरान ताहिर (१६ म्याच, २४ विकेट), हरभजन सिंह (१० म्याच, १६ विकेट) र रविन्द्र जडेजा (१५ म्याच, १५ विकेट) छन् । यी तीन बलरले विकेट लिनुका साथै किफायती बलिङ गरेका छन् ।

चेन्नईका ब्याट्स्म्यानका लागि जसप्रीत बुमरा (१५ म्याच, १७ विकेट) र लसिथ मालिंगा (११ म्याच, १५ विकेट) को योर्कर झेल्न गाह्रो हुनेछ । स्पिनमा चाहिँ मुम्बईले युवा स्पिनर राहुल चाहर (१२ म्याच, १२ विकेट) माथि आशा गरिरहेको छ ।

दुवै टीमको ओपनरहरूको तुलना गर्दा मुम्बई बलियो देखिन्छ । ओपनरहरू क्विन्टन डिकक (१५ म्याच, ५०० रन) र रोहित शर्मा (१४ म्याच, ३९० रन) ले ठीकै शुरूआत दिएका छन् । कप्तान रोहित शर्माको विस्फोटक ब्याटिङ यसपालि देखिएको छैन ।

उता चेन्नईसँग शेन वाट्सन (१६ म्याच, ३१८ रन) र फाफ डुप्लेसी (११ म्याच, ३७० रन) का रूपमा गजबको ओपनिङ जोडी छ । वाटसनले फाइनलमा निकै राम्रो प्रदर्शन गर्ने गरेका छन् । दिल्लीविरुद्धको सेकेन्ड क्वालिफायरमा उनले अर्धशतकीय पारी खेलेर मुम्बईलाई सतर्क हुन चेतावनी दिइसकेका छन् ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले आफूलाई सर्वश्रेष्ठ फिनिशर साबित गरिसकेका छन् । उनी राम्रो फर्ममा छन् र टीमका तर्फबाट १४ म्याचमा सबभन्दा बढी ४१४ रन बनाएका छन् । अनेकौं अवसरमा टीमलाई उनले उद्धार गरेका छन् । उनी क्रीजमा हुन्जेल विपक्षी टीमले सहज अनुभव गर्न सक्दैन । चेन्नईलाई आफ्नो कप्तानीमा चौथो उपाधि दिलाउन उनी लालायित देखिन्छन्

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु