हेटाैँडामा जारी राष्ट्रिय भलिबलमा गण्डकी र एपिएफको विजयी सुरुवात

निरन्तर न्यूज
१७ जेष्ठ २०८०, बुधबार १६:२७

हेटौंडा । हेटौंडा ४ स्थित हुप्रचौरमा रहेको भलिबल कोर्टमासुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल टिम र एपिएफ क्लवले बिजयी सुरुवात गरेको छ ।

मंगलबार भएको उद्घाटन खेलमा घरेलु टिम मकवानपुरलाई सोझो सेटमा हराउँदै गण्डकीले विजयी सुरुवात गरेको हो । गण्डकीले मकवानपुरलाई २५–१८, २५–१७ र २५–१९ को सेटमा हराएको हो । खेलमा गण्डकीका सन्तोष थापा मगर म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा पाथिभरा भलिबल टिम झापालाई एपिएफले हराएको छ । पाथिभरालाई एपिएफले २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो ।

केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा सुरु भएको राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेटको व्यवस्था गर्दै आएको बताइन् ।

यस प्रतियोगिताले नेपालको भलिबल खेलमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मान हुने उनको भनाई थियो ।
२० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले २ लाख तथा उपविजेताले एकलाख रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सेमीफाईनलमा पुग्ने २ टिमले ५०÷५० हजार रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५/५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित बागमती प्रदेश भलिवल टिम, मधेश प्रदेश भलिवल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिवल टिम, वालिङ भलिवल टिम स्याङ्जा, पाथिभरा भलिबल टिम झापा र आयोजक मकवानपुर जिल्ला भलिवल संघको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु