हेटौडामा खाद्य स्वच्छता तथा पोषण सम्बन्धी प्रशिक्षण

निरन्तर न्यूज
२ जेष्ठ २०८०, मंगलवार १६:४०

हेटौंडा । हेटौडाका महिलाहरुलाई चार दिने खाद्य स्वच्छता तथा पोषण सम्बन्धी बलियो महिला कार्यक्रमको प्रशिक्षण सुरु गरीएको छ । मंगलबार देखी सुरु भएको बलियो महिला तथा उद्यमशिलता विकास तालिमको उदघाट्न गर्दै हेटौडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामाले महिलाहरुले आफ्नो क्षमताबाट हासिल गरेको शक्तिलाई सञ्चय गर्न सके बलियो महिला बन्न सक्ने बताइन् । पौष्टिक आहाराले महिलाहरुलाई स्वास्थ्य राख्नका साथै क्षमता विकासमा टेवा पुग्ने हुदाँ पौष्टिक आहारमा ध्यान दिन आग्रह गरिन् ।

उपमहानगरले महिलाहरुलाई शिक्षा, स्वास्थ्य राजनितिक लगायतका विभिन्न क्षेत्रमा बलियो बनाउन आगामी नीतिगत कार्यक्रम ल्याउने तयारी रहेको बताइन् । उनले निजी क्षेत्रसँगको समन्वयमा कुपोषण समस्या समाधान गर्न आफुहरु यस्ता प्रशिक्षणहरु प्रदान गर्दै महिला उद्यमशीलता कार्यक्रमहरुमा जोडदिन लागि पर्ने बताइन् ।

कार्यक्रममा बलियो नेपालका कार्यकारी अधिकृत डा.अतुल उपाध्यायले आम नागरिकमा जनचेतना अभिवृद्धिका साथै महिला उद्यमशिलताका प्रशिक्षणहरुले बालबालिकाहरुलाई कुपोषणबाट बचाउन सहयोग पुग्ने समेत बताए । बालबालिकाहरुलाई आमाको दूधको साथै फोर्टिफाइड भिटामिन तथा खनिज थप गरिएको पदार्थ आहार खुवाउन सके कुपोषणबाट बचाउन सकिने बताए ।

कार्यक्रममा माधव राज सुमागी स्मृति कोषकी उपाध्यक्ष अस्मिता सुमार्गीले महिलाहरुलाई सक्षम बनाउन सबैभन्दा पहिला महिलाहरुको स्वस्थ्यमा ख्याल गर्नुपर्नेमा जोड दिइन् । उनले महिलाहरुलाई उद्यमशीलता बनाउन बैंक तथा बीमा संस्थाबाट ऋण उपलब्ध गराउन संस्थाले भूमिका खेल्ने बताइन् । उनले महिला सशक्त भए देश बलियो बन्नेमा जोड दिइन् । कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीम प्रसाद तिमल्सिना, नार्कका वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, सुमार्गी ट्रष्टका संरक्षक विश्वकान्ती कलावती लगाएतको सहभागीता रहेको थियो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु