यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट

निरन्तर न्यूज
१९ बैशाख २०८०, मंगलवार १४:१६

काठमाडौं । नेपाल एसीसी प्रिमियर कप क्रिकेट जित्दै एसिया कपमा छनोट भएको छ । मंगलबार कीर्तिपुरमा सम्पन्न फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँनै नेपालले नेपाली क्रिकेट इतिहासकै ठूलो उपलब्धि हासिल गरेको हो ।

अब नेपालले भारत र पाकिस्तानसँग एशिया कपमा खेल्नेछ ।प्रिमियर कपको विजेताले एसिया कपमा छनोट हुने प्रावधान थियो । पाकिस्तानले आयोजना गर्ने एसिया कप सेप्टेम्बरमा हुने तालिका छ । एसिया कपमा पाकिस्तान, भारत र नेपाल समूह ए मा हुनेछन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।

नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो । सिंगापुरमा भएको एसिसि ट्रफीको फाइनलमा पुग्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। त्यो समयमा भारत र पाकिस्तानको कार्गिल युद्ध चलिरहेका कारण एसिया कप हुन सकेन।
गुलशन झा र भीम सार्कीले नटआउट अर्धशतकीय साझेदारी गरेपछि यूएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गर्‍यो । झा र सार्कीले ९६ रनको साझेदारी गरे। गुलशनले ८४ बलमा ६७ रन बनाए । उनले ३ चौका र ६ छक्का प्रहार गरे । भीमले ७२ बल खेलेर ३६ रन बनाउनेक्रममा ४ चौका प्रहार गरे ।

गुलशनकाे एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो पटक अर्धशतक पुरा गरे । डेढ महिनाअघि विश्व क्रिकेट लिग २ को अन्तिम खेलमा उनले यूएईविरुद्ध नै नटआउट ५० रन बनाएका थिए ।

सामान्य लक्ष्य पछ्याएको नेपालको शुरुवात खराब रह्यो । ८ ओभरमा नेपालले मात्र २२ रन बनाउँदा ३ विकेट गुमाएको थियो । कुशल भुर्तेल १ रनमा आउट भए । उनलाई रोहन मुस्ताफाले एलबीडब्लु आउट गरे । आसिफ शेख पनि एलबीडब्लु आउट भए । उनलाई आयन खानले ८ रनमा आउटगरे ।

कप्तान रोहित पौडेल १ रन मात्र बनाई रोहन मुस्तफाको बलमा बोल्ड भएपछि निकै दबाबमा थियो । तर गुलसन झा र भीम सार्कीले नेपाली इनिङ उकासे र जित दिलाएर छोडे । लगातार विकेट गुमाएपनि गुलसनले टिकेर खेल्दै एक समय एक्लै रन बटुलेका थिए । उनले अर्को एण्डमा टिकेर भीम सार्कीले साथ दिए । पछि भीमले पनि खुलेर खेले र चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो ।

वर्षाका कारण सोमबार स्थगित खेलले मंगलबार पनि निरन्तरता पाउदा यूएईलाई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार नेपालले टस जितेपछि ब्याटिङमा आएको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भइ खेल अवरुद्ध हुन पुगेको थियो ।

त्यही स्कोरबाट मंगलबार खेल्न सुरु गरेको यूएई ५.४ ओभरमात्र टिक्न सक्यो र टोलीले ११ रन थप्यो । अघिल्लो दिनको खेलको अन्तिम दुई बलमा लगातार विकेट लिएका ललित राजवंशीको ह्याट्रिक बललाई जुनाइद सिद्धिकीले रोकेका थिए ।

ललितले नै सिद्धिकीलाई १० रनमा कुशल भुर्तेलबाट क्याच गराई यूएईको इनिङ्सको अन्त्य गरे । ललितले ७ विकेट लिए । उनले ७.१ ओभरमा २ मेडन राख्दै १४ रन खर्चे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु