हेटौंडाको सन्चो अस्पतालमा प्रशासनले लगाएको ताला पहिलेनै खुलेको पाइयो

हेटौंडा । मापदण्ड पुरा नगरीकन संचालनमा रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालको ल्याबमा ताल्चा लगाइएको भएपनि त्यसलाई खोलेर त्यहीबाट काम गरिएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले बन्द गरेको हेटौंडाको सन्चो अस्पतालको प्रयोगशाला अस्पताल आफैले खोलेको पाइएको हो । जिल्ला एकीकृत संयुक्त बजार अनुगमन टोलीले गत आइतबार सन्चो अस्पताल अनुगमन गरेको थियो अनुगमनका क्रममा अस्पतालको प्रयोगशाला दर्ता बिनै संचालन भएको र अन्य मापदण्ड पुरा नगरी संचालन भएको फेला परेपछी अनुगमन टोलीले प्रयोगशाला बन्द गराएको थियो ।
संचालन अनुमति नआउन्जेल ल्याब संचालन नगर्न प्रशासनले निर्देशनसमेत दिएको थियो । प्रशासनले बन्द गराएको ल्याब अस्पतालले संचालन गर्ने गरेको भेटिएको छ । आज आइतबार अस्पतालले ल्याबको अनुमति ल्याएपछी अनुगमनमा लगाइएको ताला खोल्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वको टोली अस्पताल पुगेको थियो । तर अस्पताल पुग्दा प्रयोगशालाको ढोका खुल्लै भेटियो । बन्द गर्न भनिएको ल्याब खुल्लै भेटिएपछी ताला खोल्न पुगेका अनुगमन टोली हेरेको हेरै भए ।
अस्पतालले संचालन नगर्न निर्देशन दिएको ल्याबमा बिल काटेरै संचालन गरिरहेको भेटिएको छ । ल्याब खोलेकै अवस्थामा भेटिएपछी प्रशासनको नेतृत्वमा पुगेको टोलीले संचालन गर्न अनुमति दिएर फर्केको छ । जनपत्रबाट ।