राष्ट्रपति निर्वाचन : कांग्रेससँग पनि छलफल गर्ने माओवादीको निर्णय
काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले आगामी राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने निष्कर्षसहित कांग्रेसलगायतका सबै दलसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत दुई दलबाहेक सबैले दिएको कारणले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्ने जिम्मेवारी माओवादी केन्द्रको रहेको निष्कर्ष निकालेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले सबै दलसँग छलफल गर्ने र सहमतिका लागि पहल गर्ने निर्णय बैठकले गरेको बताए । उनले राष्ट्रपति चयनका लागि २५ फागुनदेखि २८ फागुनसम्म निर्वाचन हुने पनि बताएका छन् ।