सिरहामा बिद्यार्थीलाई शिक्षिकाले पानी माग्दा स्प्रिट दिएर मृत्यु भएपछि तनाव

निरन्तर न्यूज
२४ पुष २०७९, आईतवार १५:२४

जनकपुर । सिरहा मिर्चैयाको विद्यालयमा एक विद्यार्थीको मृत्यु भएपछि त्यहाँकी स्थिती तनावपूर्रण भएको छ । विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिट दिएर एक छात्राकी मृत्यु भएपछि स्थिती तनावपूर्ण बनेको हो ।

स्थानीय सगरमाथा माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सिरहा नगरपालिका ११ भलुवाहीकी १५ वर्षीया सिर्जनाकुमारी महराको गएराति उपचारको क्रममा मृत्यु भएको थियो ।

सिर्जनाको मृत्युपछि आज बिहानै स्थानीय, अविभावक र विद्यार्थीले नाराबाजी गर्दै विद्यालयमा तोडफोड गरेका छन् । उनीहरुले बिहानदेखि मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। विद्यार्थीहरुले ईलाका प्रहरी कार्यालय मिर्चैयामा ढुंगामुढा समेत गरेको प्रहरीले जनाएको छ।

तोडफोडपछि स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय मिर्चैयाबाट प्रहरी टोली पुगेको थियो। छात्रालाई पानी माग्दा स्प्रिड दिएकी शिक्षिका अम्बिका लम्साललाई प्रहरी कार्यालय लगिएको छ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। झडपमा केही प्रहरी घाइते भएका छन् । शिक्षिका लम्सालले पानी भनेर झुक्किएर स्प्रिट दिएको र त्यो खाएपछि सिर्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु