मध्यपुर थिमिमा निःशुल्क बीमा सेवा सुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको छ । यही पुस १ गतेदेखि लागू हुने गरि नगरपालिकाले ज्येष्ठ नागरिक तथा पाँच जनासम्म परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा लागू गरेको नगरपालिकाका उपप्रमुख विजय श्रेष्ठले जानकारी दिए ।
नगरपालिकाले आफ्ना नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउने उद्देश्यले पाँच जनासम्मका परिवार, आश्रित बालबालिका र ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने निर्णय गरि कार्यान्वयनमा ल्याएको उनले बताए ।
नगरपालिकाका उपप्रमुख श्रेष्ठले भने, ‘नगरपालिकाले पहिलोपटक निःशुल्क स्वास्थ्य बिमा लागू गरेको छ । पाँच जनासम्म परिवार संख्या भएका सबै नागरिकलाई बीमाबापतको तीन हजार पाँच सय प्रिमियम रकमसमेत नगरपालिकाले व्यहोर्ने छ । बाबुआमा नभएका टुहुरा नाबालक जो ज्येष्ठ नागरिकप्रति आश्रित रहेका छन् उनीहरुको पनि सबैको स्वास्थ्य बीमाको प्रिमियम रकम नगरपालिकाले नै व्यहोर्ने छ ।’
उनले ७० वर्षभन्दा माथिका नागरिकको हकमा सरकारले नै एक लाखसम्मको स्वास्थ्य बीमा निःशुल्क गरिदिएकाले त्यसको हकमा नगरपालिकाले निर्णय गर्नु नपरेको बताए । उनले यसका लागि नगरपालिकाले बजेट विनियोजन गरेर निर्णयलगत्तै कार्यान्वयनमा ल्याएको बताए ।
शुक्रबार नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बागमती प्रदेश बीमा बोर्डका पदाधिकारीसहितको बैठकले नगरपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यविधि २०७९ बमोजिम यस्तो निर्णय गर्दै निर्णय कार्यान्वयनमा ल्याएको हो ।
परिवारमा पाँच जनाभन्दा बढी सङ्ख्या रहेको अवस्थामा प्रिमियम रकमभन्दा माथि प्रतिव्यक्ति सात सय बिमाबापतको रकम भने परिवारले नै व्यहोर्नु पर्नेछ । नगरपालिकाका प्रमुख श्रेष्ठले कुनै पनि नागरिकले पैसा नभएकै कारण स्वास्थ्योपचारबाट वञ्चित हुन नपरोस् भनेर नगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा र उपचार सेवा सुरु गरेको जानकारी दिए ।
वडाध्यक्ष कृष्णकुमार प्रजापति, कार्यपालिका सदस्य सरस्वती खड्का र बालकृष्ण परियारले बीमा गरि ज्येष्ठ नागरिक स्वास्थ्य बीमाको सुरुआतसमेत गरेका छन् ।