राष्ट्रपतिमा बाबुराम र बागमती प्रदेशकाे मुख्यमन्त्रीमा श्रेष्ठ उचित पात्र
काठमाडौ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री,राष्ट्रपति,उपराष्ट्रपति अनि प्रदेश सरकारका मुख्यमन्त्रीको बन्ने भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेपाली काँग्रेस भएकोले प्रधानमन्त्री शेरबहादुर देउवा बन्ने संभावना बढि छ भने राष्ट्रपतिमा माओवादीको कोटाबाट बाबुराम भट्टराईको चर्चा चलिरहेको छ । यसैगरी विभिन्न प्रदेशको सरकार गठनको जोडघटाउसँगै बागमती प्रदेशको सरकार निर्माणको जोडघटाउ पनि सुरु भएको छ । बागमति प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेकोले काग्रेसकै नेतृत्वमा सरकार बन्ने धेरैले अनुमान गरिरहेका छन् । गठबन्धनकै नेतृत्वमा केन्द्रीय सरकार बनेमा प्रदेशमा पनि गठबन्धनकै सरकारका बन्ने निश्चित छ ।
यस्तो अवस्थामा केन्द्रमा नेपाली काँग्रेसको नेतृत्व भएमा बागमती प्रदेशमा नेकपा माओबादीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने बुझिएको छ । माओबादीका एक नेताका अनुसार बागमती प्रदेशमा माओबादीबाट मुख्यमन्त्री बन्ने अवसर आएमा गंगानारायण श्रेष्ठको नेतृत्वमा सरकार जानसक्ने माओबादी बृतमा चर्चा छ । माओबादी आन्दोलनमा बिशेष योगदान दिएका गंगानारायण श्रेष्ठ बराबरको हैसियतको नेता प्रदेश सभामा नभएकाले उनको नेतृत्वमा सरकामा जादाँ उचित हुने माओबादी नेताहरु बताउछन । यो प्रदेशमा शालिकराम जम्मकटेलले समेत इच्छा देखाए पनि उनी भन्दा गंगानारायण श्रेष्ठ सिनियर मात्र होइन क्षमतावान नेता पनि भएकोले श्रेष्ठकै संभावना बढि भएको बुझिएको छ । त्यसो त बाबुराम भट्टराई र प्रचण्ड बिच पार्टी एकता गराउने कार्यलाई सफल पार्ने हो भने अध्यक्ष प्रचण्डले बाबुराम भट्टराईलाई राष्ट्रपति र गंगा श्रेष्ठलाई प्रदेशको मुख्यमन्त्री बनाउँदा उचित हुने माओवादी नेताहरु नै बताउँछन् ।
भट्टराई बिश्वास पात्र र भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टीका सहअध्यक्ष समेत रहेका श्रेष्ठको नेपाल समाजबादी पार्टीमा बिशेष पकड रहेकोले श्रेष्ठले चाहेमा बाबुराम भट्राईलाई पनि माओवादीसँग पार्टी एकता गर्न दबाब दिन सक्ने भएकोले पार्टी एकतालाई समेत मध्यनजर गर्दै भट्टराईलाई राष्ट्रपति र श्रेष्ठलाई मुख्यमन्त्री बनाउनु पर्ने बिचार प्रचण्ड र बाबुरामसँगै हुनुपर्छ भन्नेहरुको मत छ । खिलराज रेग्मी जस्ता व्यक्तिको राष्ट्रपतिमा नाम आउँदा प्रचण्डले बाबुरामलाई अगाडी सार्नु पर्ने धेरैको सुझाव छ । त्यसैगरी गंगा श्रेष्ठले पार्टीमा दिएको योगदान, बैचारीक र सांगठनिक क्षमता सबै हिसाबले अब्बल नेता मानिन्न छन । उनलाई गठबन्धनका अन्य दलले पनि सहजै स्वीकार्ने भएकोले उनलाई नै मुख्यमन्त्रीमा अगाडी सार्दा उचित हुने देखिन्छ ।
उता प्रदेशमा सबैभन्दा ठूलो दल बनेको काग्रेस भित्र भने आन्तरिक व्यवस्थापननै चुनौती देखिएको छ । पार्टीभित्र दुई खेमा रहेको कांग्रेसमा संस्थापन समूहभित्रै दुई टीम देखिएको छ । दलको नेता नै मुख्यमन्त्री बन्ने भएकाले संसदीय दलको निर्वाचनमा पार्टी जुट्दै गरेको अवस्थामा कांग्रेस संस्थापन पक्ष विभाजित बनेको हो । दलको नेता बन्ने होडमा मकवानपुरबाट निर्वाचित इन्द्रबहादु्र बानियाँ र नुवाकोटबाट निर्वाचित बहादुर सिंह लामा प्रतिस्पर्धामा उत्रिने देखिएको छ । दुवै जना कांग्रेसको संस्थापन पक्षका नेता हुन् । कांग्रेसको ३७ सदस्यीय संसदीय दलमा कांग्रेसको संस्थापन पक्षको बहुमत देखिन्छ भने संस्थापन इतर पक्षका सांसद कम रहेका छन् ।
यो निर्वाचनबाट बागमती प्रदेशमा सात वटा दलहरूले प्रतिनिधित्व गरेका छन् । कूल ११० सदस्यीय प्रदेशसभामा कुनै पनि दलहरूले स्पष्ट बहुमत भने पाउन सकेका छैनन् ।बागमती प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व रहेको छ । बागमती प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा २५ सिट र समानुपातिक १२ गरी ३७ जना सांसद छन । एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्रले समानुपातिकतर्फ ७ सिट गरी २१ सिट जितेको छ । एकीकृत समाजवादीले प्रत्यक्षबाट ५ र समानुपातिकबाट २ गरी ७ सिट जितेको छ । राप्रपाले प्रत्यक्षबाट ७ र समानुपातिकबाट ६ जना गरी १३ जना सांसद पाएको छ भने नेमकिपाले ३ जना सांसद पाएको छ ।बागमती प्रदेशमा कुनै पनि दलहरूको बहुमत नभएकोले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने हुन्छ । कूल ११० सदस्यीय संसदमा सरकार गठनका लागि ५६ जना सांसद चाहिन्छन । बागमती प्रदेशमा सत्ता गठबन्धनको स्पष्ट बहुमत रहेको छ । सत्ता गठबन्धन दलहरूको कांग्रेस ३७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादी ७ गरी ६५ जना सांसद पुग्छन ।