डेंगुकाे संक्रमण ७६ जिल्लामा फैलियाे, बागमती प्रदेशमा मात्रै १९ हजार बिरामी

काठमाडौं । सरकारले डेंगु नियन्त्रण तथा रोकथाममा ध्यान नदिंदा यो देशका ७७ मध्ये ७६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता हालसम्म कुल २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको हो ।
डेंगुका कारण हालसम्म देशभर २९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । नेपालमा डेंगुको बिरामी पहिलो पटक २०६१ सालमा देखिएका थिए । त्यसपछि डेंगुका बिरामी नेपालमा वर्षेनी देखिंदै आएका छन् ।
मन्त्रालयका अनुसार गत साउन १ गतेयता सबैभन्दा बढी डेंगुका बिरामी बाग्मति प्रदेशमा देखिएका छन् । यो अवधिमा बाग्मती प्रदेशमा १९ हजार डेंगुका बिरामी भेटिएका हुन् ।
यस्तै, प्रदेश १ मा ७५३, मधेश प्रदेशमा ३२३, गण्डकी प्रदेशमा ५३७, लुम्बिनी प्रदेशमा २ हजार ८७२, कर्णाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जना डेंगुका बिरामी भेटिएको मन्त्रालयले जनाएको छ ।
डेंगु नियन्त्रणमा सरकार उदासिन भएको सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरूले आरोप लगाएका छन् । कांग्रेस महामन्त्री गगन थापा र नेता प्रकाश मान सिंहले डेंगु नियन्त्रण गर्न तत्काल आवश्यक कदम चाल्न विभिन्न माध्यमबाट सरकारलाई आग्रह गरेका छन् ।