समय अनुसार बोली फेर्ने नेताले देशकाे विकास गर्दैन : इन्द्र बाँनिया
![](https://www.nirantarnews.com/wp-content/uploads/2022/05/indra_baniya.jpg)
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताएका छन् । बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेप्रती लक्षित गर्दै भने, “समय अनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई भोट दिएर फेरि ५ बर्ष पछुताउने काम नगर्नुहोला ।” उनले गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।
ब्यवस्था जोगाउन गठबन्धन गरिएको प्रष्ट पार्दै बानियाँले कांग्रेस समस्याको निकास र जनताको विकासको पार्टी भएको दावी गरे । मनहरी ५ स्थित फारलायनको बाटो स्तरीकरण गरि चक्रपथ बनाउने, ५ नम्बर वडा जान पक्कीपुल बनाउन बजेट छुट्याउने, गाउँ जोगाउन तटबन्धन गर्ने लगायतको प्रतिबद्धता जनाएका छन् ।
“यसअघि पनि यस वडाको विकासका लागि बजेट विनियोजन गरिएको छ । अब आउने वर्ष यी कामहरुको लागि बजेट छुट्याइनेछ, बानियाँले थपे, “हामी बोलेका कुरा पूरा गर्छौं । मैले भनेको कुरा रेकर्ड गरेर राख्नुहोला ।” कांग्रेसका कार्यकर्ताले कम्युनिस्टले जस्तो राजनीतिलाई पेसा नबनाउने उनको भनाई थियो । ५ नम्बर वडामा कांग्रेसका उम्मेदवारले जिते विपन्न परिवारलाई एम्बुलेन्स सेवा निशुल्क गर्ने, विपन्न सुत्केरी महिलालाई ३ महिनासम्म पोषण खानाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस ५ नम्बर वडा सभापति विष्णुप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार रन्जन कालाखेतीले गठबन्धनको दुवै उम्मेदवारलाई मतदान गर्न अनुरोध गर्दै जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कांग्रेसका निवर्तमान जिल्ला सदस्य नवराज उप्रेती, गाउँपालिका सभापति प्रकाश बर्तौला, बागमती प्रदेश सदस्य जानुकी लामा, वडा अध्यक्षका उम्मेदवार योगेन्द्र अर्याल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।