आज तराईमा होली मनाइयो

निरन्तर न्यूज
५ चैत्र २०७८, शनिबार १९:४३

हेटौंंडा । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज नेपालको तराई क्षेत्रमा मनाइएको छ । हिजो पहाडी जिल्लामा होली मनाइएको होली आज तराईका जिल्लाहरुमा मनाउन थालिएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
कोरोना सङ्क्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ । यसअघिका दुई वर्ष कोरोना सङ्क्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै हिजो र आज जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु