यो निर्वाचनलाई पद पाउने भन्दा पनि आफ्नाे जिम्मेवारी बहनकाे रुपमा लिएको छु : विजय ज्ञवाली
नेपाल बाहिर छरिएर रहेका नेपाली तथा नेपाली भाषीहरुको साझा छाता संस्था ‘गैर आवसीय नेपाली संघ, अमेरिकाको यही आउदो मे २९ (शनिबार ) र ३० (आइतवार ), तारिखका दिन निर्वाचन हुदैछ । यस निर्वाचनले आगामी दुई वर्षे कार्यकाल (२०२१-२०२३) का लागि नेतृत्व चयन गर्दै छ। यहीँ निर्वाचनको मैदानमा आफुलाई पनि खरो रुपमा उतार्नु भएको छ – विजय ज्ञवाली ले। सानै उमेरदेखि नै जन्म थलो नेपालको गुल्मीमा पनि विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहदै आउनु भएका ज्ञवालीले अमेरिकाको न्यू योर्कलाई कर्मथलो बनाउदै बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध भएर आफ्नो सामाजिक कार्यलाई सक्दो निरन्तरता दिइनै रहनु भएको छ ।
एनआरएन (NRN),अमेरिकामा आबद्ध भएर सामाजिक क्रियाकलापहरुमा क्रियाशिल ज्ञवाली , युवाहरुका बिच निकै लोकप्रिय बन्दै गइरहनु भएको छ । तिनै युवाहरुको मनसाय बुझेर र उहाँहरु कै अनुरोधको कदर गरेर आफू चुनावी मैदानमा उत्रिएको उहाँको दाबी छ । प्रस्तुत छ, तिनै एनआरएनए (NRNA) को राष्ट्रिय समन्वय परिषदको ‘बोर्ड अफ डाईरेक्टर’ पदका लागि प्रत्यासी हसिला , मिजासिला र मृदुभाषी युवा ज्ञवालीसंग समग्र एनआरएनए (NRNA) र निर्वाचनको सेरोफेरोमा रहेर गरिएको छोटो महत्वपूर्ण कुराकानी :
१) यो चुनावी माहोलको सुवर्ण अवसरमा आफूलाई कसरी चिनाउन चाहनु हुन्छ ?
– म विजय ज्ञवाली । जन्म गुल्मी थोर्गा बुटवलमा हुर्के , बढे र पढेसंगै बिगत ५ बर्षदेखि न्युयोर्कमा बस्दै आइरहेको छु । सानै उमेरदेखि सामाजिक काम गर्ने हुटहुटी जागेका कारण आजसम्म पनि सक्रिय नै छु । देश ,जनता र समाजको भलोका खातिर विद्यार्थीकालदेखि नै राजनीति र समाजसेवालाई आफ्नो जीवनको कार्यक्षेत्र बनाउदै आइरहेको छु । त्यसैको प्रेरणा , युवाहरुको चाहना र अनुरोधको परिणाम हो यो मेरो एनआरएन(NRN)अमेरिकाको समन्वय परिषदको बोर्ड अफ डाईरेक्टरको उमेदवारी ।
२) निर्वाचनको मिति नजिकिदै गर्दा चहलपहल पनि निकै बढेको देखिन्छ ।तपाईँको चुनावी अभियानको अवस्था चाहिँ कस्तो छ नि ?
– उत्साहजनक रुपमा साथीहरुको सहयोग र सद्भाव पाउँदा हर्षित छु। दैनिक जसो दर्जनौँ साथीहरुको उत्प्रेरणा पाईरहेको छु। बिभिन्न राज्यहरुमा साथीहरुसंग प्रत्यक्ष भेटघाट र सामाजिक संजालमार्फत सम्पर्करत छु। यो चुनावलाई मैले केवल पद ग्रहण गर्ने अवसरका रुपमा मात्र नलिइ , जिम्मेवारी बहन गर्ने र सोही पदीय जिम्मेवारी पुरा गर्ने सुवर्ण अवसरका रुपमा लिएको छु । मतदाताहरुसंग सामिप्य सम्बन्ध स्थापित गर्ने अवसरका रुपमा पनि सक्दो सक्रिय नै छु । म भन्दा पनि मलाई नेतृत्वमा ल्याउनु पर्छ भन्ने अग्रज,साथी र सहयोगीहरु नै बढि सक्रिय र व्यस्थ रहिरहनु भएको पाइरहेको छु ।
३) एनआरएनए(NRNA)मा प्रवासी नेपालीहरुको आबद्धताको औचित्यता र आवश्यकता के हो भन्ने ठान्नु भएको छ ?
-प्रवासमा बसेर नेपाल र नेपाली जोड्ने संस्था नै एनआरएनए हो । यसमा आबद्ध हुनु भनेको नेपाल र नेपालीसंग जोडिरहनु हो । र, नेपाल र नेपालीलाई मायाँ दिनु र लिनु पनि हो । अझ भनौं , आडभरोसाको महत्वपूर्ण आधारको कडी हो । यसले आफूलाई मात्र नभएर भावी पुस्ताहरुलाई पनि जोडिरहन्छ । र , नेपाल र नेपालीका लागि जिम्मेवारी बोध गराउदछ । त्यसैकारण म यो अभियानमा होमिएको हुँ ।
४) तपाईले भने झै यि बिषयहरुलाई प्राथमिकता दिएर एनआरएनएले काम गरेको पाउनु भएको छ त ?
– एनआरएनएले धेरै नै सकारात्मक कामहरुको सुरुवात गरेको छ। दोहोरो नागरिकताको बिषयमा समन्वय गरेको छ ।नेपाल र नेपालीलाई दुख्दा धेरै सहयोग गरेको छ ।संस्थामा धेरै कमजोरीहरु छन् । तर , संस्था बलियो र समावेशी भएपछि कमजोरी सच्चिदै जान्छन्। त्यसैका लागि इमान्दार मान्छेहरु संस्थामा आउनु अपरिहार्य छ ।तिनै संस्थाका सवलपक्षहरुलाई कसी लगाउदै निरन्तरता दिन ,कम्जोर पक्षहरुलाई सुधार्न र संस्थागत उदेश्यहरु पुरा गर्नका लागि समय अनुकुल योजनाहरु बनाइ कार्यान्वयन गर्न सबैसंग मिलेर पहलकदमी गर्न मैले उमेदवारी दिएको हुँ नि ।
५) चुनावको मुखैमा संस्थामा सदस्य ह्वात्तै बढेको देखियो । यो चुनाव केन्द्रित मेहनतको परिणाम हो कि, संस्थाको गरिमा र भूमिका कारण आकर्षणको परिणाम हो त ?
-अत्यन्तै महत्वपूर्ण विषय उठान गर्नु भयो । पहिले भन्दा सदस्यता संख्या निकै बढेको कुरा सत्य हो । सदस्य संख्या बढ्नुमा म पनि खुशी नै छु । यद्यपि , सदस्यता बन्ने र बनाउने प्रकृयामा भने सन्तुष्ट छैन। तपाईंले भने झै चुनाव केन्द्रित सदस्यता बृद्धि अभियानलाई निरोत्साहित गरेर संस्थाको गरिमा केन्द्रित सदस्यता बृद्धि अभियान सञ्चालन गर्नु जरुरी छ । जसका लागि म सचेत छु । र, सक्रिय रहने छु ।
६) अनि तपाईँले बोर्ड अफ डाईरेक्टरमा जितेपछि चमत्कारिक रुपमा परिवर्तन हुन्छ र ?
– मैले त्यसो भन्न खोजेको होइन। अमेरिकामा एनआरएनएलाई हरेक नेपालीले महसुस गर्ने गरी सुधार गर्न पहल गर्नेछु। नियत सही भएका मान्छे नेतृत्वमा जाने हो भने , काम पनि सही हुन्छ। म बिगत र वर्तमानमा नियत सही भएको मान्छे हुँ । त्यसैले , भविश्यमा पनि नियत सही भएकाहरुसंग सहकार्य गरेर यो अभियानलाई मूर्तरुप दिन सकिन्छ भन्नेमा म विश्वस्त छु।
७) तपाईँलाई यो निर्वाचनमा मतदातले आफ्नो अमुल्य मत दिने आधारहरु यिनै हुन् त ?
– महत्वपूर्ण कुरा के हो भने , म बोल्दै हिड्ने मान्छे होईन । गरेर देखाउने मान्छे हुँ । मैले गरेर देखाएका कयौं उदाहरण जगजाहेर नै छ। मैले एनआरएनएमा जितेर म जस्तै युवाहरुलाई आकर्षित गर्ने र संस्था मार्फत समुदायका लागि परिचालन गर्न सक्दछु भन्ने आत्म विश्वास छ । मतदाताका लागि मत दिन यिनै हुन् मेरा बिलियो र भरपर्दा आधारहरु ।
८) थप केही मुद्दा(एजेण्डा ) हरु छन् कि ?
– अघि भनेकै सेरोफेरोकै हुन् मेरा चुनावी मुद्दाहरु । थप भन्नु पर्दा , एनआरएनएलाई विश्वाशिलो संस्था बनाउने, विद्यार्थी लगायत सबैका समस्यादेखि अवसरहरुको सम्बोधन गर्न केन्द्रलाई घच्घचाउने, एनआरएनएलाई राजनीतिबाट मुक्त पार्ने, फ़्री मेम्बरशिप तथा नेपाली खेलकूद र सांस्कृतिक केन्द्र स्थापनामा पहल गर्ने आदि महत्वपूर्ण मुद्दाहरु लिएर चुनावी मैदानमा उत्रि रहेको छु।
यि कुराहरुका आधारमा म यस पदका लागि योग्य छु । हजारौँ नेपाली अमेरिकन युवा समुदायको प्रतिनिधित्व गर्छु ।जीते पनि हारे पनि सधै नेपाल र नेपालीहरुको हितमा काम गर्नेछु।
९ ) तपाईं निर्वाचित हुने आधारहरु के के हुन् ?
– मेरो क्षमता, ईमानदारीता र विजयको ईतिहाँस नै हो नि म निर्वाचित हुने आधारहरु । हैन र ? सबै पक्षका साथीहरुले पहिले मेरो नाम लिदा ख़ुशी लागिरहेको छ। सफलता हात पर्नेमा म ढुक्क छु ।
१०) अब यो कुराकानीलाई अहिलेलाई यही बिट मारौ जस्तो लाग्यो ।अन्त्यमा केही भन्न बाँकी छ कि ?
– मतदाताहरुलाई मतदानका लागि पुनः सादर अनुरोध गर्दछु । यहाँहरुको अमुल्य मतको पूर्ण कदर गर्ने प्रतिबद्धता तपाई मार्फत जनाउन चाहन्छु । यसै सुवर्ण अवसरमा , यता हामीले चुनाव जितौँला नजितौँला, हाम्रो जन्मभूमि कोरोना कहरमा छ । यस्तो बेला जे जति सकिन्छ दिल खोलेर सहयोग गरौँ भनी सबैमा विनम्र अनुरोध गर्न चाहन्छु । साथै , सबै प्रवासी नेपालीहरुलाई एनआरएनएमा आबद्ध हुन पनि अनुरोध गर्दछु । अन्तमा, यो महत्वपूर्ण घडिमा , मेरा महत्वपूर्ण विचारहरु राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईँको लोकप्रिय सञ्चार माध्यम परिवारलाई धन्यवाद दिदै उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछु । सबैको जय होस् !