सामाजिक सेवामा मुद्दा या नाराको कुरा गर्नु गलत हो, सेवाका लागि समर्पित हुने हाे : काफ्ले

प्रस्तुती : सुपेन्द्र बस्नेत
२९ बैशाख २०७८, बुधबार २१:४०

विविध कारणले नेपाल बाहिर विश्वभर छरिएर रहेकाहरुको नेपाल सरकारबाट मान्यता प्राप्त साझा संस्था ‘गैर आवसीय नेपाली संघ’को अधिवेशनको मिति नजिकिदै गर्दा , यससंग सम्बन्धित बहस र चर्चाको पारो पनि दिनप्रतिदिन बढ्दैछ । यस अधिवेशनले आगामी दुई वर्षे कार्यकाल(२०२१-२०२३) का लागि नेतृत्व पनि चयन गर्ने भएकाले कोरोनाकै कहरका बिचमा पनि चुनावी माहोल गरमागरम हुदै गइरहेको छ । यसबाट अमेरिका पनि अछुतो रहन सकेको छैन । गैर आवासीय नेपाली संघ, अमेरिकाको म्यासाचुसेटस् च्याप्टरको नेतृत्व लिन च्याप्टरका वर्तमान अध्यक्ष र वर्तमान उपाध्यक्ष चुनावी मैदानमा आम्नेसाम्ने भइरहेका छन् । प्रस्तुत छ , यसै सेरोफेरोमा रहेर नेपालको स्याङ्जा जिल्ला, वालिङ जन्मथलो भइ सन् २००३ देखि अमेरिकाको मासाचुसेटस् राज्यलाई कर्मथलो बनाई नेपाल र नेपालीसंग संबन्धित विभिन्न संघ संस्थाहरुमा आवद्ध हुदै आउनु भएका , आगामी कार्यकालका लागि मासाचुसेटस् च्याप्टरको अध्यक्ष पदका लागि प्रत्यासी हरिप्रसाद काफ्लेसुपेन्द्र बस्नेत बिच भएको कुराकानी :

१) गैर आवासीय नेपाली संघ, अमेरिकाको म्यासाच्युसेटस् च्याप्टरको आसन्न अधिवेशनको तयारीको अवस्था कस्तो छ ?

–  व्यक्तिगतरुपमा भन्नु पर्दा विदेशमा हुने नेपालीहरु बीच हुने यस्तो चुनावको विरोधी हुँ म। तरपनि , समय परिस्थिति अनुसार चल्नु पर्ने यो मेरो बाध्यता हो । त्यस्तो भूस्वर्ग जस्तो देश छाडेर बाहिर बस्ने नेपालीहरु एउटै परिवारका सदस्य जस्तो गरेर बस्नु पर्ने , यहाँका नेपालीहरुको मेलमिलाप देखेर नेपालका नेताहरुले पनि केही सिकुन् भन्नुको सट्टा , त्यहाँ भन्दा पनि झन उग्र पाराले चुनावी होडबाजी चल्नु राम्रो होइन । म बिलकुलै खुशी छुइन । यसो भन्दाभन्दै चुनावी प्रक्रियाको विरोध गरेर सहमतिको बाटो खोज्दै आफ्नो अन्तिम विकल्पको रुपमा सामान्य तयारी मात्र गरेको छु । म आफ्नो इमान र व्यक्तित्वमा कमी आउनेगरी कुनै प्रचारप्रसार गर्दिन । प्रतिद्वन्द्वी भनेर कोही कसैको मान मर्दन गरेर चुनाव जितिन्छ भन्नेको पनि म विरोधी हुँ । आफ्ना प्रतिद्वन्दीलाई सम्मानपूर्वक सम्बोधन गरेर अगाडि बढ्दा नै चुनाव जित्न सकिन्छ भन्ने विश्वासमा विश्वस्त छु ।

२) आसन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (२०२१-२०२३ ) का लागि नेतृत्व चयन गर्ने भएकाले चुनावी सर्गर्मी पनि दिन प्रतिदिन बढ्दै जादा क्रिया प्रतिक्रियाहरु पनि गरमागरम सार्वजनिक हुदैछन्।यसलाई कसरी लिनु भएको छ ?

कुरा त्यही हो कि चुनाव नगरेर साझा सहमतिबाट समिति बनाउनु र योग्य व्यक्तिलाई उचित स्थान दिएर काम लिन सक्नु बुद्धिमानी र उत्तम हो । हरेक व्यक्ति कुनै न कुनै विषयको योग्य हुन्छ। अयोग्य व्यक्ति नै हुदैन । केवल कुन व्यक्ति कुन कामको काबिल छ भन्ने बुझ्न सक्नु पर्दछ । ‘अयोग्य पुरुषो नास्ति तत्र योजक दुर्लभ: ‘ । यसर्थ, कुन व्यक्ति कुन योग्यताले युक्त छ , त्यही अनुरुपको कामका लागि पद दिएर समिति बनाउदा भैहाल्छ नि। किन बेकारमा सबैको समय बरबाद गर्ने ? यो सोच हामीमा कहिले आउने हो ? नेपालको हावापानीले यस्तो बुद्धि त दिएन होला । तर, यहाँ विदेशमा बसेपछि त हुनु पर्ने हो नि , भन्ने मेरो सोचाई हो । यसरी म आफ्नो मनको चाह तपाईंहरु जस्ता शिक्षितहरु माझ राख्दै मतदानको दिनसम्म पनि सहमतिको आवाज बुलन्द गर्दै गन्तव्यमा पुग्ने गरी चुनावमा जुटेकै छु भन्नु पर्यो ।

हरिप्रसाद काफ्ले

३) के कति कारणले अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपालीहरु एनआरएनए(NRNA)मा आबद्ध हुनु पर्ने आवश्यकता ठान्नु हुन्छ ?

कलियुगको वर्णन गर्दै पुराणहरुमा ‘ पृथ्वीलाई भागबन्डा गर्ने र मान्छेहरु पनि विभिन्न फरक फरक सोच र आस्थामा बाँढिएर असन्तोषी बन्दै जान्छ’ भनिएको छ । यसरी पूर्व वर्णित कुराहरुलाई आधार मानेर हेर्ने हो भने , आफ्नो जन्मभूमि छाडेर बसाइँ सर्ने प्रक्रियालाई नियमित प्राकृतिक प्रक्रिया मान्नु पर्दछ । त्यसैले हामी नेपालीहरु मात्र होइन , सबै देशका मानिसहरु आफ्नो जन्मथलो छाडेर अन्यत्र सरेका छन् । सर्दै सर्दै जाँदा आफ्नो इतिहास र पुर्खाहरुका विरता बुझ्ने र सुन्ने चासो सबै शिक्षित वर्गको हुन्छ नै। हाम्रो नेपालको संविधानमै एनआरएन (NRN)सम्बन्धी उल्लेख गरिएको छ । विदेशी नागरिकता लिएपनि स्वदेशमा लगानी गर्ने र त्यहाँको विकासमा सहभागी बन्ने अभिप्रायले आफ्नो बाबुबाजेको जन्मथलोलाई मुटुमा राख्ने नेपालीहरुलाई अझैपनि खुला गरिएको छैन । यो सबै भन्दा ठूलो दुःखको कुरा हो । त्यसका लागि हामी सबै एकजुट भएर नेपाल सरकारलाई यसको पक्षमा निर्णय गर्न दबाब दिनु पर्दछ । हामी विदेशमा हुने एक भयौं भने , बल्ल नेपाल भित्रका दाजुभाइ दिदीबहिनीहरुले पनि साथ दिनु हुनेछ । र, नेपाललाई सबैको प्यारो देश भनेर माथि उठाउन सहज हुन्छ । महाभूकम्पमा होस् या व्यवस्था परिवर्तनका लागि गरिएको आन्दोलनमा होस् , विदेशमा रहेका नेपालीहरुको ठूलो सहयोग र महत्वपूर्ण भूमिका छ । यसरी देश बाहिर हुने सारा नेपालीहरुका लागि यो साझा संस्था एनआरएन(NRN) आजको आवश्यकता हो भन्ने ठान्दछु ।

४) संस्थागत उद्देश्य अनुसार संघले लिएको कार्यदिशा,निर्वाह गरिरहेको भूमिका र प्राप्त उपलब्धिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

–  महाभूकम्पमा ठूलो क्षति भएको गोरखाको लाप्राकको एकिकृत बस्तीलाई आजको मितिमा हेर्ने हो भने , सन्तुष्टि लिने ठाँउ छ । अमेरिकामा रहने नेपालीहरुलाई टिपियस (TPS) दिलाउन पनि एनआरएनएले महत्वपूर्ण भूमिका खेलेको छ । नेपाली भाषा साहित्य र धर्म संस्कृतिको संरक्षण र संवर्धनका लागि पनि त्यतिकै काम गरिरहेको छ । यसैगरी, अहिले कोरोना महामारीका बेला काम नहुने नेपाली र नेपालबाट पढ्न आउने विद्यार्थीहरुका लागि , सक्दो राहत सहयोग गर्ने काममा यो संस्था सक्रिय रह्यो। विदेशी नेपालीहरुलाई नेपाली नागरिका दिलाउने अभियानलाई जोडदार वकालत गरिरहेको छ । यस्ता धेरै महत्वपूर्ण कामका कारण म संस्थाबाट सन्तुष्ट नै छु । तर , अझै पनि जति गर्नु पर्ने हो , त्यति गर्न नसकेकाले सुधार गर्नु पर्ने ठाँउहरु पनि प्रस्तै छन् ।

५) तथ्याङ्क अनुसार अमेरिकाको मासाचुसेटस् राज्यमा रहेका गैर आवासीय नेपालीहरु मध्य , ज्यादै न्यून संख्या मात्र संघमा आवद्ध भएको देखिन्छ। कारण के हो ?

यस्ता सामाजिक संघ संस्थाहरुमा आबद्ध हुने भनेको , विशेष गरेर हामी जस्ता बिच्चका पुस्ता नै हो । अगाडिका पुस्ताको माया र महत्व बुझेका हामी बिच्चका पुस्ता , नयाँ पुस्तालाई इतिहास बुझाउन र बिस्तारै हस्तान्तरण गर्न सक्रिय रहनु परेको छ। त्यसमध्य पनि कतिपय नेपालको ऋण तिर्नलाई काममै व्यस्त छन् । भने कतिपय चाही स्थानीय अन्य सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेकाले यतातिर सक्रिय हुन नसकेको पनि हुन सक्छ। धेरै ठूलो जमात युवा पुस्ताका छन् । उनिहरुलाई आकर्षित गर्ने केही काम गर्नु पर्नेछ । जो आजसम्म योजनामा मात्रै सिमित छन् । त्यसैगरी कतिपय चाही यस संस्थाप्रति सकारात्मक भएर पनि समय अभावका कारण आवद्ध हुन सकिरहेका छैनन् । तर, तिनिहरु आबद्ध हुने सम्भावना प्रबल छ। यस साझा छाता संगठनले गाँठी कुरा बुझी मितव्ययीता अपनाएर केही राम्रा काम गर्ना साथ संस्था सर्वप्रिय हुनेमा म विश्वस्त छु ।

६) गैर आवासीय नेपाली संघको संस्थागत उद्देश्य प्राप्त गर्न , संघको म्यासाच्युसेटस् च्याप्टरको वर्तमान कार्यकालमा उपाध्यक्षका हैसियतले खेल्नु भएका स्मरणयोग्य महत्वपूर्ण भूमिकाहरु के के हुन् ?

एउटा संस्थाको सदस्यले सिंगो संस्थाको उद्देश्यमा के नै भूमिका खेल्न सक्ला र । खासै त्यस्तो स्मरणयोग्य महत्वपूर्ण भूमिकाहरु खेल्न त सकिएको छैन । तरपनि, महाभूकम्पमा नेपालका लागि अर्थिक सहयोग संकलन गरेर सिधै पिडितको हातमा पर्ने गरी राहत पठाउने र विभिन्न सामाजिक संघ संस्थाहरुसंग समन्वय गरेर नेपाली धर्म संस्कृतिको संरक्षण र संवर्धनका लागि सक्दो भूमिका निर्वाह गर्ने काम गरेको छु । त्यसैगरी, दुई वर्ष पहिले एनआरएनएको प्रथम नेपाली भाषा साहित्य अन्तराष्ट्रिय सम्मेलन बोष्टनमा सम्पन्न गरिएको थियो। जसमा मैले ठूलो भूमिका नर्वाह गरेको थिएँ। जुन कुरा यहाँका सबै नेपालीहरुलाई राम्ररी थाहा छ । त्यसैगरी, यस पटक एक हजार नेपालीलाई एनआरएनएको सदस्य बनाई आबद्ध गराउन मैले पनि सक्रिय भूमिका खेलें। यस संस्थाको केन्द्रिय वार्षिक साधारणसभामा सहभागी भएर यस म्यासाचुसेटस् च्याप्टरका तर्फबाट महत्वपूर्ण कुराहरु राखेको छु ।

७) आसन्न निर्वाचनमा वर्तमान अध्यक्षलाई नै प्रतिद्वन्द्वी स्विकार गरेर चुनावी मैदानमा उत्रिनु भैरहेको छ । उमेदवारीको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?

  म यस एनआरएनए(NRNA) म्यासाचुसेटस् च्याप्टरको उपाध्यक्ष पदमा दुई कार्यकाल काम गरिसकेको व्यक्ति हुँ ।फेरि पनि यही पदमा तेहेर्याउने कि अगाडि बढ्ने ? सामान्य मानिसले पनि स्पष्ट बुझ्ने कुरा हो यो । पूर्व अध्यक्षहरूलाई कुनै बाधा अप्ठेरो नपारिकन , वहाँहरूले सोचेका कार्यक्रमहरुलाई हरेक बैठकमा सर्वसम्मतिबाट स्वीकृत गर्न महत्वपूर्ण भूमिका खेल्ने र निर्णयमा कहिल्यै अलमल हुन नदिने व्यक्ति हुँ म । उपाध्यक्षको काम, कर्तव्य र अधिकारलाई सधैं आत्मसात् गरेर, अध्यक्षलाई सफल हुन सहज वातावरण मिलाउने काममा म सधैँ सतर्क र सहयोगी नै रहें । वर्तमान कार्यसमिति र पूर्व कार्यसमितिले नभ्याएका कामहरू गर्ने , ती बाहेक यहाँ अन्य भाषामा जस्तै नेपाली भाषामा पनि ड्राइभिङ लाइसन्सको टेष्ट दिन पाइयोस् , एनआरएन (NRNA)कार्डबाट हरेक नेपाली तथा इन्डियन स्टोर र रेष्टुरेन्टहरूमा डिस्काउंटको व्यवस्था होस् , घर किन्ने र व्यापार गर्ने काममा सतर्कता अपनाउनु पर्ने कुरा बारे वर्कशप गर्ने , नेपाली भाषा र संस्कृतिलाई नयाँमा हस्तान्तरण गर्न विभिन्न सामाजिक संघ संस्थाहरूसंग सहकार्य एवं समन्वय गर्ने , जस्ता केही महत्वपूर्ण कामहरु सक्रियताका साथ लाग्यो भने सजिलोसंग पूरा गर्नसकिन्छ र गर्नु पर्दछ भन्नेमा म केन्द्रित छु । यस बोष्टनमा सन् २००३ देखि रहँदै गर्दा अनेसासको च्याप्टर उपाध्यक्ष र अध्यक्ष भएर जुन काम मैले साथीहरूको सहयोगले सम्पन्न गरें , त्यसै गरी राजमित्र स्मृति प्रतिष्ठानको अध्यक्ष भएर काम गरिरहेको छु । त्यसैले , के अझै म यस एनआरएनएको च्याप्टर अध्ययक्षका लागि अयोग्यनै छु त ? साथीहरूले हार्दिकताका साथ सर्वसम्मतिबाट जिम्मेवारी सुम्पनु हुनेछ भन्ने विश्वास लागेको थियो। तर , त्यसो नभएर कुनै सल्लाह नै नगरी , ड्याङ्ग ड्याङ्ती फेसबुकमा उमेदवारीको फोटा सजाउदा , म त तीन छक परें नि ।

८) चुनावको मुखैमा आएर संघमा आबद्ध सदस्यहरुको संख्या एक्कासि ह्वात्तै बढ्यो नि त । संस्थाको आकर्षित गर्ने विषेश्ताहरु र निर्वाह गरिएका भूमिकाहरुका कारण आबद्ध हुनेहरु स्वस्फूर्त आकर्षित भएका हुन् कि ? चुनाव लक्षित मेहनतको परिणाम हो यो ?

  यो कुरा चाही कुनै घरमा आगलागी भएपछि , अचानक आगो लाग्यो भने जस्तै हो । हरेक कुराको नियमित प्रकृया हुन्छ । यसमा आश्चर्य मान्ने कुरै छैन । सबैलाई पद ,मान र सम्मानको रहर बढ्यो । पैसा पनि भयो ।घर पनि भयो । अब के गर्ने त ?भन्दा , कुनै संघ संस्थामा लागेर समय बिताउने भन्ने रहर नै हो । नत्र निःशुल्क गर्ने समाजसेवामा किन यस्तो होडबाजी हुनु पर्थ्यो र ? मेरो सन्दर्भमा चाही अलिक फरक भयो । किनभने , म संस्थाको भावी अध्यक्षका लागि सक्षम वर्तमान उपाध्यक्ष हुँ । अनि सक्षमले चाहना गर्नुलाई अन्यथा लिने कि ? कुनैपनि संस्थाको अनुशासन अन्तर्गत लिने ? यसर्थ , सदस्यता बढ्नु प्रतिस्पर्धा भन्दापनि एनआरएनप्रतिको जनचासो नै हो भन्छु म त । यसमा कुनै शंका उपशंका लिनु नै गलत हो ।

९) अनि त्यसो भए , सक्षम व्यक्तित्वलाई हार्दिकताका साथ जिम्मेवारी नसुम्पिएर , वर्तामान अध्यक्ष फेरी पनि आफै दोहोरिन किन खोज्नु भयो त ? तपाईंको पक्षमा सहमति किन जुट्न सकेन ?

  मैले वहाँ(वर्तमान अध्यक्ष : प्रेम तामाङ) लाई नै भनेको थिएँ कि , प्रेमजी मलाई छोडिदिनुहोस् । बरू को को साथीहरुलाई कुन कुन पदमा इच्छा छ ? को को कुन कुन पदमा योग्य छन् ? बसेर सल्लाह गरौं । भन्नोस् म कहाँ आऊँ ? भनेर पटक पटक अनुरोध गरें। तर, वहाँले भन्नु भयो ‘ हरि जी म पनि उठ्छु । तपाईं पनि उठ्नुस् । प्रतिस्पर्धाबाट जो आउँला आउँला। ‘ नभन्दै त्यसो भनेको केही दिनमै वहाँले फेसबुक मार्फत उमेदवारीको घोषणा गर्नु भयो । मैले त वहाँलाई मात्र होइन , अन्य अग्रज एवं प्रेमजीसंग निकट साथीहरूलाई पनि मिलाएर जानु पर्छ है भनेर अनुरोध गरेको थिएँ । नेपाली – नेपालीका बिच किन बेकारको विवाद गर्नु । यसले विस्तारै विस्तारै राजनीतिक रुप लिनसक्छ । यति राम्रो कानूनी राज्यमा बसेर गैर कानूनी कुरा भन्दै , आफ्नै साथीहरुलाई मुद्दा मामिलामा फसाउनु ठूलो अपराध हो । त्यसको सजाय ढिलो चाँडो भोग्नु नै पर्छ । फेरि प्रेमजी र म त पुरानै साथी हौ नि। किन दोहोर्याउने विचार गरेर मलाई आउट गर्न चाहनुभयो ? त्यसको आन्तरिक रहस्य चाहिँ मलाई थाहा भएन । केही दिन अगाडि वहाँले कोरोनाको कारणले धेरै काम गर्न चाहेरपनि सकिन । त्यसैले दोहोर्याउने विचार गरेको भनेको सुनियो । त्यसको उत्तरमा मैले भने कि ‘ त्यो तपाईले नभ्याएको काम के के हुन् मलाई भन्नुस् । म गरौंला । अनि मैले पनि नभ्याएको काम आउने साथीहरुले गर्छन् , सामाजिक कार्य भनेकै यस्तै प्रकिया त हो नि । एउटाले सक्ने भन्ने नै हुँदैन नि ।’ भनेर संझाएको थिए । तर…

१०) चुनावी माहोल हेर्दा , नेतृत्व चयनका लागि निक्कै रस्साकसी हुने देखिन्छ ।तयसले समुदायका बिचमा ध्रुविकरणको बिजारोपण गर्ने कत्तिको सम्भावना देख्नु हुन्छ ?

” मुन्डे मुन्डे मतिर्भिन्ना ” भनेको यही हो । हरेक मानिसको भिन्न भिन्न मत हुन्छ । भेडाहरूको कथा जस्तो : एउटा भेडा भीरबाट खस्यो भने , त्यो मात्रै त्यसरी खस्न सक्छ र ? म पनि त खस्न सक्छु नि , भनेर खस्ने कुरामा नै प्रतिस्पर्धा हुन्छ। अहिले मानिसहरूमा पनि यस्तै यस्तै प्रतिस्पर्धा भैरहेको छ । सायद एउटै ध्रुवमा यस पटक हुँदैनन् होला। ध्रविकरण हुन्छ । किनभने सबैको प्रसंग मेरो जस्तो र डा.अर्जुन बन्जाडेको जस्तो छैन , सक्षम र योग्य उपाध्यक्षले अध्यक्ष हुने चाहना राखिसकेपछि अनेक बखेडा र दम्भ गर्नु उचित होइन । यस्तो प्रवृत्तिले समाज मिलाउदैन । बरु सक्दो भाँड्छ। हो , यस्तै अराजकताका विरुद्धमा नै हो मेरो उमेदवारी ।

हरिप्रसाद काफ्ले

११) हरेक हिसाबले संसारकै बिकशित मानिने देशमा रहेर पनि , पछिल्ला समयमा सामाजिक संस्थाहरुको पद ग्रहणलाई जिम्मेवारी बहनको रुपमा भन्दा पनि , प्रतिष्ठा ग्रहणका रुपमा बुझिन थालिएको र त्यही अनुसार भूमिका निर्वाह गरिएको देखिन्छ । यस सम्बन्धमा तपाईंको बुझाई कस्तो छ ?

स्वभाविक रुपमा प्रतिष्ठाबाटै पद प्राप्त हुने कुरा हो । घर परिवारमै हेरौं न ।बाबुले अथवा आमाले बच्चाप्रतिको आफ्नो कर्तव्य पुरा गरेनन् भने , बाबुआमालाई कसले सम्मान दिन्छ र ? दिदैन नि , जबकि , बाबुआमा त जन्मदाता नै हुन् नि । चाहे अब खान दिउन् या नदिउन् । तर , आजकल जन्म दिएर मात्र हुँदैन । उचित स्याहार सुसार तथा शिक्षा दिक्षा दिइएन भने बच्चाले पनि गाली गर्छन् । हो … ठिक यसैगरी , समाजमा पनि पहिला राम्रा काम गरेर प्रतिष्ठित हुनुपर्यो । अनि बल्ल त्यस अनुसारको पद मिल्ने हो । र त्यो पद पाइसकेपछि त्यस अनुसारको काम पनि गर्नसक्नु पर्छ । त्यसैले पद एउटा प्रतिष्ठा र सम्मान पनि हो । र , त्यस पद अनुसारको काम पनि गर्न सक्नु पर्दछ ।

१२) एनआरएनए(NRNA) लगायत नेपाल र नेपालीसंग सम्बन्धित विभिन्न संघ संस्थाहरु , केही सिमित व्यक्तिहरुको कब्जामा छन् भन्ने सुनिन्छ । तपाईंको बुझाई र भोगाईमा यथार्थ के हो ?

कब्जामा हुनुलाई नराम्रो भन्नु भन्दापनि , काम के कस्ता भएका छन् भन्ने महत्त्वपूर्ण कुरा हो नि । सिन्डिकेट तोड्नुको मतलब , भएको राम्रो संरचनालाई भत्काएर अर्को बनाउनु जस्तो हो । भलै अर्को बन्ने पनि राम्रै बन्ला । तर , भैरहेकोले राम्रो गरिरहेको छ भने , किन भत्काउने भन्ने मेरो तर्क हो । प्रतिस्पर्धात्मक भावनाले कुण्ठित भएर कब्जाको आरोप लगाउनु र साँच्चिकै कामै नभएर सिमित व्यक्तिहरुको कब्जामा संस्था भयो भन्नुमा फरक छ । यो राजनीतिक कुरा हो । राजनीतिको वास्तविक अर्थ नै नबुझि राजनीति गर्न खोज्नु नै गलत हो ।

१३) तपाईंका चुनावी प्रमुख मुद्दाहरू (Agenda) चाही के के हुन् नि ?

यस्तो सामाजिक सेवामा मुद्दा या नाराको कुरा गर्नु नै गलत हो । सेवाका लागि समर्पित हुने हो । भविष्यमा कस्ता कस्ता समस्याहरु आउँछन् ? कसलाई थाहा छ र ? न त भूकम्प आउँछ भन्ने थाहा थियो । न यो कोरोना महामारी आउछ भन्ने नै। यद्यपि , समाजका लागि केही यि महत्वपूर्ण कामहरु गर्नुपर्ने आवश्यकता भने ठानेको छु :

क) विभिन्न कार्यशालाहरू ।

ख) नागरिकता सम्बन्धी केन्द्रलाई घचघच्याउने।

ग)अगाडिका कार्यसमितिले सुरु गरेर , पूर्वाधार तयार गरेकोले यस पटक दर्ताको सानो काम यस पटक भयो । अब यसको विधान बनाउनु पर्ने छ ।

घ) यहाँका विभिन्न सामाजिक संघ संस्थाहरु , जस्तै पशुपतिनाथ बुद्ध फाउण्डेशन र ग्रेटर बोष्टन नेपाली समाजसंग समन्वय गरेर मृत्यु संस्कारलाई अझ सरल व्यवस्थित गर्ने ।

ङ) मल्ट्री कल्चरल कन्ट्रीमा बसेपछि हामीले पनि हाम्रा यहाँका सामाजिक संस्थाहरुसंग सहकार्य गरेर विभिन्न सहर र विद्यालयहरूमा हाम्रो नेपाली भाषा र संस्कृतिको प्रयोग गर्न पहल गर्नु छ । जुन कार्य केन्द्रीय विधानमै उल्लेख छ ।

च) यो कोरोनाको कहरका बेलामा हाम्रो च्याप्टर पनि केही राहत दिने काममा सक्रिय रह्यो। जुन केन्द्रले आर्थिक सहयोग पठाएको थियो , त्यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ ।

छ) मेरो अर्को मुख्य कामको योजना भनेको , यसरी प्रवासमा ब्यस्त जीवन बिताइरहेका नेपालीहरुलाई विभाजित हुन नदिइ संगठित गर्नु हो । यो काम म बाहेक अरुबाट हुन गार्हो छ । किनभने , यसै पटक मैले आशा गरेको थिएँ , उल्टै विभाजनको खाडल खनिएको छ , त्यो खाडल मैले नै पुर्ने छु।

ज) यहाँ रहने नेपाली प्राज्ञहरू र सफल व्यवसायीहरू मिलेर नेपाल र नेपालीका लागि केही योगदान पुर्याउन सकिन्छ कि भन्नेमा चिन्तन मनन गरिरहेको छु ।जुन काम केन्द्रले पनि गरिरहेको छ ।

झ) नेपाली महिलाहरूको संस्था एनडब्लुजिएन(NWGN)संग मिलेर महिला सम्बन्धित राम्रा काम गर्ने सोच छ ।

ञ) अनेसाससंग समन्वय गरेर नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण ,संवर्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रयास गर्नेछु।
यसरी प्रवासी समाजमा नेपालीपन झल्काउन र नेपालीलाई आफ्नो मातृभूमि भूस्वर्ग नेपालप्रति उत्तरदायी बन्न प्रेरणा जगाउनु नै यस एनआरएनएको प्रमुख कर्तव्य हो ।यसलाई आत्मबोध गराउनु जरूरी छ ।नकि खालि हल्ला मात्र ।

१४) तपाईलाई जिताउन मतदाताले आफ्नो अमुल्य मत दिनु पर्ने मुख्य आधारहरु यि नै हुन् त ? कि अरु पनि केही छन् ?

  मुख्य आधारहरु त यिनै नै हुन् । अर्को चिन्तन मनन गर्नु पर्ने कुरा – हिजोका दिनहरुमा हरिले के कस्ता कामहरू गर्यो ? काम गर्ने व्यक्ति हो कि लडाइ गर्ने व्यक्ति हो ? विज्ञ हो या होइन ? यो महत्वपूर्ण समयमा , मतदाताहरुले नेतृत्व लिन तम्सिएका व्यक्तिहरुको इतिहास , वर्तमान र भावी योजनाहरुलाई राम्ररी बुझ्न र मनन गर्न जरूरी छ । गुटबन्दी र झुटको खेती गर्ने सोच, व्यवहार र संस्कार कसैमा हुनुहुदैन। म आफु जस्तो स्वभावको छु , अरुलाई पनि आफु जस्तै बनाउन चाहन्छु । आफु सत्य बोल्ने र हित गर्ने भयो भने न बल्ल अरु साथीहरू पनि त्यही बाँटोमा लाग्छन् । आफुले धुम्रपान गर्दै अरुलाई यस्तो गर्नुहुन्न भन्नुको कुनै मतलब हुन्न। मलाई मतदाताले मत दिनुपर्छ या पर्दैन भन्ने कुरा अति सरल छ । मैले धेरै प्यार प्यार गर्नु नै पर्दैन भन्ने लाग्छ । प्रेमजीले एक कार्यकाल पुरा गर्नुभयो । यो कार्यकाल हरिको पालो । अनि अर्को पटक अर्को नेपालीको पालो । यसमा अनावश्यक प्रश्न , माथापिसी र लडाइ गरिरहनु पर्ने कुनै कुरै छैन नि ।

प्रस्तुती : सुपेन्द्र बस्नेत

 

 

१५) सामुदायिक सामाजिक संस्था भएतापनि , संघको निर्वाचनमा नेपालका दलहरु र तिनका नेताहरुको चलखेल ,हस्तक्षेप र तिकडमबाजी निकै हुने गर्दछ भन्ने सुनिन्छ । कत्तिको महसुस गरिरहनु भएको छ नि ?

त्यस्तो होला जस्तो लाग्दैन मलाई । नेपालमा हुँदा कुन दलको झोला बोकिन्थ्यो ? कसको अगाडि पछाडि लागिन्थ्यो ? कस्तो पृ्ष्ठभूमिबाट आएको हो ? भनेर तिनीहरूप्रति बफादार हुनुपर्छ भन्ने मनोदशाले त सबै बिग्रिरहेको छ नि । यहाँको अवस्था र व्यक्तिको अनुशासनलाई सम्मान गरेर साथ दिदा , सबैको भलो हुन्छ भने त्यसो किन नगर्ने साथीहरू ? हामी एक हौं र एकताको महत्व बुझाऔं ।

 

 

१६ ) अब अहिलेलाई हाम्रो यो कुराकानीलाई यहीँ बिट मारौं कि जस्तो लाग्यो । थप अझै केही भन्नै पर्ने कुरा बाँकी छन् त ?

– कुरा त जति गरेपनि सकिदैन नि , काम पो हुनुपर्यो । काम पनि ठोस रुपमा समाजले प्रत्यक्ष भोग्न र देख्न सकिने हुनुपर्यो । यहाँ बोष्टनमा एउटा सामुदायिक भवनको आवश्यकता थियो । जसका लागि पशुपतिनाथ बुद्ध फाउन्डेशन अफ् न्यु ईंगल्यान्ड (PABFONE)को स्थापना काल सन् २०१२ देखि नै लाग्नुहुने यहाँका सामाजिक अभियन्ताहरूसंग होष्टेमा हैसे गर्न , त्यो समयदेखि बोष्टन सप्ताह -२०१७ सम्पन्न गर्न या भनौं द्यौसीभैलोहरूमा समेत सबैसंग म लागेको छु , यो शुभ लक्षण होइन ? काम गर्छ भन्ने प्रमाण होइन ? अनेसासको अध्यक्ष हुँदा बोष्टन चौतारी २०१४ जस्तो ऐतिहासिक ग्रन्थ मैले नै प्रकाशन र विमोचनको कार्य गरेको होइन ? यो के को लक्षण हो ? बोष्टनमा आउने कति नेपालीलाई काम खोज्ने , कोठा खोज्ने , कानूनी सल्लाह दिने व्यक्तिहरू मध्ये म पनि प्रमुख हुँ । अनि अरु के चाहियो ? खुराफाती र खुसखुसे राजनीति म जान्दिन । कसैप्रति रिस राखेर त्यसको खैरो खन्न मेरो समय बरबाद गर्दिन म । म धर्म र ईश्वरप्रति विश्वास गर्छु । दैनिक पूजा पाठ गरेर मात्र खान्छु । र , त्यसै अनुसारको व्यवहार पनि गर्छु । अरु के चाहियो मेरा मतदाताहरूलाई ?

जय एनआरएनए (NRNA) ! जय नेपाल ! जय नेपाली !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*