बालबालिकालाई कोभिड–१९ बाट कसरी जोगाउने ?

संक्रमित आमाले दूध चुसाउँदा बच्चालाई कोभिड सर्छ ?
निरन्तर न्यूज
२८ बैशाख २०७८, मंगलवार १०:५३

काठमाडौं । दोस्रो लहरको कोभिड–१९ महामारीमा युवासँगै बालबालिका धेरै संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार आइतबार संक्रमित भएका ८ हजार ८५० मध्ये २४२ जना ९ वर्षमुनिका बालबालिका छन् भने ६११ जना १९ वर्षमुनिका छन् । कान्ति बाल अस्पतालमा वैशाख महिनामा मात्रै ३५ जना कोभिड–१९ संक्रमित बालबालिका भर्ना भएका छन् । यो तथ्यांकले अघिल्लो लहरमा बालबालिकामा न्यून देखिएको कोभिड–१९ संक्रमणको जोखिम यो लहरमा उच्च देखिएको छ भन्ने देखाउँछ ।

बोल्न नथालेका बालबालिकामा कस्ता लक्षण देखिए कोभिड परीक्षण गराउने ?
शिशु अवस्थाका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कम भएकाले संक्रमणको जोखिम अन्यको तुलनामा बढी हुन्छ । विशेषगरी बोल्ने उमेर नपुगेका बालबालिकाले आफूलाई भइरहेको समस्या बताउन नसक्ने हुँदा उनीहरुलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । यस्ता बालबालिकामा अन्य समयभन्दा सुस्त हुने, स्वास फेर्न कठिन भएजस्तो गरेमा, सधैँ चुस्नेजति समय आमाको दूध नचुसेमा संक्रमणको लक्षण भएको हुनसक्छ ।

कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद बिष्टका अनुसार बालबालिकामा कहिलेकाहीँ संक्रमण भएर पनि लक्षण नदेखिन सक्छ । तर, यो महामारीको अवस्थामा सामान्यभन्दा केही मात्रै फरक शारीरिक समस्या देखिएमा पीसीआर परीक्षण भने गराइहाल्नु पर्दछ । बालबालिकाको शारीरिक संरचनाअनुसार लक्षण पनि फरक देखिने भएकाले राम्रोसँग सुत्न नसक्नु पनि बालबालिकामा कोभिड–१९ संक्रमणको लक्षण हुनसक्ने कान्ति बाल अस्पतालका बाल शल्यचिकित्सक डा. बिजयबाबु शाह बताउँछन् ।

डा. बिष्टका अनुसार सामान्यतया शिशु अवस्थाका बालबालिकामा यी लक्षण भए पीसीआर परीक्षण गराउनु पर्दछ ।

आमाको दूध चुस्न नसकेमा
बच्चा सुस्त भएमा
असामान्य रुघाखोकी तथा ज्वरो देखिएमा
खाएको कुरा पटक–पटक बान्ता गरेमा
पटक–पटक झाडापखाला भएमा
खेल्ने, चल्ने क्षमतामा कमी आएमा
बच्चा सुत्न नसकेमा

संक्रमित आमाले दूध चुसाउँदा बच्चालाई कोभिड सर्छ ?

संक्रमित आमाले चुसाएको दूधबाट बच्चालाई संक्रमण नसर्ने तथ्य विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । तसर्थ संक्रमित आमाहरुले बच्चालाई दूध चुसाउन मिल्ने डा. बिष्ट बताउँछन् । तर, दूध चुसाउँदा स्वास्थ्य सजगता भने अपनाउनु पर्छ । मास्क अनिवार्य लगाउनु पर्छ । सकेसम्म फेस टु फेस गर्नु हुँदैन । यसबाहेक आमा आइसोलेसनमा बसेको अवस्थामा बोतल वा ग्लासमा दूध निकालेर पनि खुवाउन सकिन्छ ।

५ वर्षमाथिका बालबालिका संक्रमणबाट कसरी जोगाउने ?

सामान्यतया ५ वर्षमाथिका बालबालिकाले आफ्नो शरीरमा भइरहेका समस्या बताउन सक्छन् । यो अवस्थामा उनीहरुलाई संक्रमणसँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखिनासाथ पीसीआर परीक्षण गराइहाल्नुपर्र्ने बालरोग विशेषज्ञ डा. बिष्ट बताउँछन् । अन्य अवस्थामा घरबाट बाहिर हिँडिरहने व्यक्तिहरुबाट सकेसमम टाढै राख्नु, दूरी कायम गर्न सम्भव नभए सरसफाइ र स्वास्थ्यका मापदण्डमा ध्यान दिनु, घरमै रचनात्मक कामहरुमा बालबालिकालाई भुलाउनु संक्रमणबाट जोगाउने उपायहरु भएको विज्ञहरु बताउँछन् ।

मनोवैज्ञानिक असर पर्न नदिऔं

कोभिड–१९ महामारीको यो अवस्थामा बालबालिकाहरु घरमै रहने र विभिन्न माध्यमबाट संक्रमणसँग सम्बन्धित सामाग्रीहरु हेर्ने, पढ्ने सुन्ने गर्दछन् । बालबालिकामा नकारात्मक सन्देश दिने खालका, त्रास पैदा गर्ने खालका सामग्री प्रयोग गर्न दिनु हुँदैन । यस्ता सामाग्रीले उनीहरुको मनोविज्ञानमा नकारात्मक असर पर्नसक्छ । संक्रमणसँग सम्बन्धित डरलाग्दा सामग्री हेर्दा, पढ्दा र सुन्दा उनीहरु प्यानिक हुनसक्ने भएकाले यो अवस्थामा अभिभावकले विशेष ख्याल गर्नुपर्ने भक्तपुर प्रादेशिक अस्पतालका मनोचिकित्सक डा. कञ्चन दाहाल बताउँछन् । बालबालिकालाई उनीहरुका रुचीका वस्तुहरु नजिकै राख्दिने, मन पर्ने खानेकुरा बनाइदिने, अभिभावकसँगै भएको महसुस गराउने खालका व्यवाहार देखाउन यो अवस्थामा अभिभावकको विशेष भूमिका हुने डा. दाहाल बताउँछन् । “बालबालिकालाई भुलाउने बहानामा उनीहरुको मस्तिष्कमा असर पर्ने, गालिगलौज गरिएका, नकारात्मक शब्दहरु बोलिएका, हिंसालगायत सामग्री हेर्न र पढ्न दिनुहुँदैन,” डा. दाहाल सुझाउँछन् । १२खरीबाट साभार गरिएकाे सामग्री ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु