निमोनिया के हो ? निमोनियाबाट कसरी जोगिने ?

काठमाण्डाैँ । सामान्य भाषामा निमोनिया फोक्सोमा हुने सङ्क्रमण हो ।
बच्चा तथा बृद्धमा रोगसँग लडन सक्ने क्षमता कम हुने हुँदा निमोनियाको जोखिम बढी हुन्छ । साना उमेरका र बुढापाकालाई निमोनियाले बढी सताउने गर्छ । निमोनिया घातक पनि हुनसक्छ ।
विराटनगर स्तिथ न्यूरो कार्डियो एण्ड मल्टी स्पेसालिटी हस्पिटलका मेडिकल अफिसर तथा जनरल फिजिसियन डा. साहिल अनसारीका अनुसार निमोनियाले बढी सताउने शारीरिक रुपमा कमजोर व्यक्तिलाई हो ।
निमोनिया बिभिन्न कीटाणुहरूका कारणले हुने गर्छ । विशेष प्रकारका कीटाणुले आक्रमण गर्दा फोक्सोको सङ्क्रमण र निमोनिया निम्त्याउन सक्छ । यी कीटाणुले श्वासप्रणालीलाई नराम्रो रूपमा प्रभाव गर्न सक्छ । समुदाय तथा अस्पतालबाट पनि निमोनियाको सङ्क्रमण हुन सक्छ ।
नवजात शिशु, साधारण रुघाखोकी लागेको बेलामा राम्ररी स्याहार नगरेका, जाडोको समयमा, प्रदुषण तथा अत्याधिक धुम्रपान गर्ने व्यक्ति तथा कुनै रोगको उपचार गराइरहेका इम्युनोकम्रमाइज्ड व्यक्तीमा निमोनिया हुने प्रवल सम्भावना हुन्छ ।
बिशेषगरी मधुमेह रोगी, दम, पुरानो टिवीको रोगी, दीर्घरोगी, श्वासप्रश्वासको समस्या भएका, प्रयिरोधात्मक क्षमता कम भएका, इम्युनिटि वुस्ट गर्नका लागी स्टेरोइडको प्रयोग गरिरहेका, निमोनिया भएको मानिसको सम्पर्कमा आएमा तथा कोभिडका कारण निमोनिया हुने सम्भावना बढि रहन्छ ।
कहिले काहि लक्षण सामन्य देखिने कारण निमोनिया थाहा नपाइने अर्थात् साइलेन्ट निमोनिया पनि हुनसक्छ । अस्पतालमा अन्य रोगको उपचारका लागि आउँदा मात्र निमोनिया भएको पहिचान हुनसक्छ । तर, पछिल्लाे समयमा कोभिडको कारण हुने निमोनियाको सम्भावना धेरै रहन्छ ।
निमोनियाको उपचारकालागि एन्टिव्याक्टेरियल औषधी प्रयाेग हुन्छ । तर, कोभिडको कारणले हुने निमोनियाको सफल उपचारका लागि कुनै औषधी छैन । सङ्क्रमणले गर्दा श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अङ्गमा अक्सिजनको कमी हुन जान्छ । निमोनिया बिग्रदै जादाँ फोक्सोमा पानी जम्ने, पिप जम्ने र सङ्क्रमण रगतमा सरेर शरीरका बिभिन्न अङ्गहरूलाई क्षति पुर्याउन सक्छ ।
निमोनिया हुँदा के हुन्छ, के गर्ने ?
निमोनिया छाती तथा फोक्सोको रोग हो । फोक्सोको रोग भएकोले खोकी लाग्ने, श्वासप्रश्वासको समस्या हुन्छ । त्यस्तै निमोनिया हुँदा जरो आउँने , छाती दुख्ने, श्वास फेर्न गाह्रो हुने, चाँडो–चाँडो श्वास फेर्ने, कोखामा हान्ने, शरीर शिथिल हुन्छ ।
बच्चामा निमोनिया भएमा कोखा दुख्ने समस्या हुनसक्छ । पुरानाे निमोनिया भएकालाई धुम्रपानले अझ जटिल बनाइदिन सक्छ । सङ्क्रमितमा निमोनिया भएको एक्सरे वा सिटी स्क्यानले थाहा पाउन सकिन्छ । निमोनियाको कारणले हुने मृत्युबाट जोगाउन सबै भन्दा पहिला रुघाखोकी लाग्दा हेलचेक्रायई गर्न हुदैन ।
निमोनियाबाट बच्नका लागी निमोनिया विरुद्धको खोप पनि लगाउन सकिन्छ । सरसफाइ र स्वच्छतामा ध्यान दिदाँ पनि निमोनियाबाट बच्न सकिन्छ । साथै, निमोनिया भएको संकेत देखिए उपचारको स्वास्थ्य जाँच गराउनु पर्छ । काेशी अनलाइनबाट साभार ।