बालबालिकालाई कोरोना सङ्क्रमणबाट कसरी जोगाउने ?

निरन्तर न्यूज
२५ बैशाख २०७८, शनिबार १२:२५

मेनुका कोइराला/काठमाडौँ । कोभिड–१९ का सङ्क्रमितमध्ये बालबालिकामा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर भित्रिएसँगै बालबालिकामा पनि जोखिम रहेको विज्ञहरू बताउँछन् ।

कोरोना भाइरसले कुनै उमेर समूह नहेर्ने भएकाले यसले नाबालक बच्चादेखि वृद्धसम्म जति उमेरकालाई पनि ग्रसित पार्न सक्ने डाक्टरहरू बताउँछन् ।

नेपालमा नयाँ भेरियन्ट भित्रिएसँगै जोखिम पनि बढिरहेकै छ । दिनानुदिन मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । यस्तो समयमा बालबालिकालाई जोगाउने मुख्य अभिभारा अभिभावकको नै हुने डाक्टरहरू बताउँछन् ।

बालबालिकालाई भाइरसको सङ्क्रमणबाट कसरी जोगाउने भन्ने विषयमा हामीले नवजात शिशु तथा बाल रोग विशेषज्ञ प्रदीप गुप्तासँग जानकारी लिने कोसिस गरेका छौँ ।

बच्चामा सङ्क्रमण हुने कारण

डाक्टर प्रदीप गुप्ताका अनुसार नेपालका बालबालिकामा सङ्क्रमण देखिएको सङ्ख्या हेर्दा उनीहरूलाई बाबुआमाले जोगाउनुपर्ने देखिएको छ । उनी भन्छन्, ‘आमाबाबुले आफ्नो जुठो खानेकुरा बच्चालाई खान दिने लगायतका हाम्रा पुराना बानीव्यवहारका कारण पनि बालबालिकामा सरेको हुनसक्छ ।’

बच्चाको अगाडि गएर हाच्छिउँ गर्ने, उनीहरूलाई हात नधोई, मास्क नलगाई छुने जस्ता कारणले बच्चाहरू बढी सङ्क्रमित हुने उनको बुझाइ छ ।

अहिलेसम्मको सङ्क्रमित बालबालिकाको सङ्ख्या हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि अभिभावक सचेत हुनुपर्ने उनी बताउँछन् । बच्चाको अगाडि खोक्दा, हाच्छिउँ गर्दा पनि भाइरस सर्न सक्छ ।

उनका अनुसार बालबालिकालाई खाना खुवाउँदा छुट्टै भाँडामा खुवाउनुपर्छ, जुठो खुवाउनु हुँदैन । अभिभावकमा सङ्क्रमणका लक्षण देखिएका छन् भने बालबालिकाबाट आमाबाबु वा नजिकका आफन्त टाढा बस्नुपर्छ ।

कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने सबै क्रियाकलाप बालबालिकाबारे सोचेर मात्र गर्नुपर्ने उनको सुझाव छ ।

उनी भन्छन्, ‘बालबालिका जहाँतहीँ गएर खेल्ने भएकाले जथाभावी थुक्न हुँदैन, उनीहरूको अगाडि खोक्दा वा हाच्छिउँ गर्दा सचेत हुनुपर्छ ।

कसरी जोगाउने ?

सङ्क्रमण भए पनि नभए पनि बालबालिकासँग खेल्दा साबुनपानीले हात धोएर मात्रै खेल्ने गर्नुपर्छ । आफ्नो सहजताभन्दा पनि कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सचेत रहन त्यसबाट जोगिने गरी जीवनशैली ढाल्नुपर्ने र सङ्क्रमित बालबालिकाले अरूलाई सार्ने सम्भावना बढी भएकाले त्यसतर्फ पनि अभिभावक सचेत हुनुपर्ने उनले बताए ।

‘कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सकेसम्म बालबालिकालाई घरमै राख्ने र भिडभाडमा नलाने गर्नुपर्छ,’ उनी भन्छन्, ‘बाहिर जानु परेमा अनिवार्य आफू र बालबालिका दुवैले मास्क लगाउने र अरूसँग दूरी राख्ने नियम पालना गर्नुपर्छ ।’

सङ्क्रमण भए/नभएको कसरी थाहा पाउने ?

डाक्टर गुप्ताका अनुसार प्रायः बच्चाहरूमा सङ्क्रमण भएर पनि लक्षण नदेखिएको हुनसक्छ । बच्चालाई तीन–चार दिन लगातार ज्वरो आउने, कोखा दुख्ने, पिसाब कम हुने, सुत्दा छटपटाइरहने जस्ता लक्षण देखिएपछि उसलाई कोरोना लागेको हुन सक्ने सम्भावना हुने उनी बताउँछन् ।

उनी भन्छन्, ‘सामान्य ज्वरो, रुघाखोकी लाग्दैमा आत्तिनु पर्दैन । बच्चाले दैनिक गर्ने कियाकलापमा केही कमी भएको, बच्चा सुतेको सुत्यै गर्न खोज्छ भने बल्ल अभिभावकले डाक्टरको परामर्श लिनुपर्छ ।’

कोरोना सङ्क्रमण भए के गर्ने ?

डाक्टर गुप्ता भन्छन्, ‘अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने कोरोना लागेका एक प्रतिशत बच्चाहरू मात्र नाजुक अवस्थामा पुग्छन् । बाँकी ९९ प्रतिशत बच्चाहरू निको भएका छन् ।’

उनका अनुसार सर्वप्रथम बच्चामा कोरोना सङ्क्रमण देखिँदा अभिभावक आत्तिनु हुँदैन । मनोबल उच्च राख्नुपर्छ । बच्चामा कोरोना देखिँदा अस्पताल नै लानुपर्ने क्रिटिकल केसबाहेकको अवस्थामा घरमै राखेर उपचार गर्न सकिन्छ ।

‘पोसिलो खानेकुरा समयसमयमा दिने, साबुन पानीले हात धुन लगाउने’, उनी भन्छन्, ‘बच्चा सानो छ नबुझ्ने छ भने अभिभावक आफू सँगै बसेर उसको हेरचाह गर्नुपर्छ ।’

दुई वर्षमुनिका बच्चालाई आमाको दूध नियमित खुवाउनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘स्तनपान गराउँदा कोरोना सर्दैन ।’

ठुलो भइसकेको बच्चाले मास्क लगाउन नमान्दा अभिभावकले सम्झाउनुपर्ने उनी बताउँछन् । ‘आफूले पनि लगाइरहनुपर्छ,’ उनी भन्छन्, ‘अभिभावकले लगाएको देखेपछि बच्चाहरू सिको गरेर भए पनि लगाउँछन् ।’

तर दुई वर्षमुनिका बच्चाहरूमा मास्कले असर गर्ने भएकाले उनीहरूलाई मास्क लगाइदिनु नपर्ने उनी बताउँछन् । भन्छन्, ‘साना बच्चाहरूलाई भेट्दा अभिभावकले मास्क लगाउने, साबुनपानीले हात बारम्बार धोइरहने गर्नुपर्छ ।’

कस्तो खानेकुरा खुवाउने

डाक्टर गुप्ता भन्छन्, ‘अहिलेको समयमा बच्चाहरूलाई पोषणयुक्त खानेकुरा बढी खुवाउनुपर्छ । ‘दैनिक बेलाबेलामा फलफूल खुवाइरहनुपर्छ,’ उनी भन्छन्, ‘बच्चाहरूलाई प्रशस्त पानी खुवाउनुपर्छ ।’

कस्तो बेलामा हस्पिटल लैजाने ?
कोरोना सङ्क्रमण भएपछि ज्वरो नघटेको अवस्थामा हस्पिटल लैजानुपर्ने डाक्टर गुप्ता बताउँछन् । ‘सास फेर्न अप्ठ्यारो भएर बच्चाले घ्यारघ्यार गरिरहँदा हस्पिटल लैजानुपर्छ,’ उनी भन्छन्, ‘सामान्यतया बच्चालाई लामो समयसम्म कोरोनाको लक्षण देखिँदैन ।’

उनका अनुसार बच्चालाई कोरोना सङ्क्रमण भएको एक हप्ताभित्र निको हुने सम्भावना धेरै हुन्छ ।

घरमा कस्तो औषधि खुवाउने ?
डाक्टर गुप्ताका अनुसार कोरोना सङ्क्रमित बच्चालाई घरमै राखेर उपचार गर्दा बच्चाको उमेर हेरेर ज्वरो नघट्दा प्यारासिटामोल खुवाउन मिल्छ । उनी भन्छन्, ‘डाक्टरको परामर्श लिएर खोकी निको नहुँदा अथवा निरन्तर खोकी लागिरहँदा एन्टिएलर्जी ट्याब्लेट वा सिरप दिन सकिन्छ ।’ काेशी अनलाइनबाट साभार गरिएकाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु