२५ बर्षकी महिलाले जन्माइन् एकैपटकमा ९ बच्चा
एजेन्सी । मालीकी एकजना २५ बर्षकी महिलाले एकैपटक ९ वटा बच्चा जन्माएकी छिन् ।
डाक्टरहरुले स्क्यानका क्रममा उनको पेटमा ७ वटामात्र बच्चाहरु भएको पत्ता लगाएपनि त्योभन्दा दुईवटा बढी अर्थात् ९ वटा बच्चा जन्मिएकाे बिबिसी ले जनाएकाे छ ।
हालिमा सिसे नामकी ती महिलाले मोरक्कोमा बच्चाहरु जन्माएकी हुन् । मालीको सरकारले विशेष हेरचाहका लागि उनलाई मोरक्कोको अस्पतालमा लगेको थियो ।
उनका पतिले आफू निकै खुशी भएको बीबीसीलाई बताएका छन् । सबै बच्चाहरु सकुशल रहेको पनि उनले जानकारी दिएका छन् । ९ बच्चाहरुमा ५ जना छोरी र ४ जना छोरा रहेका छन् ।
मालीका स्वास्थ्यमन्त्री फान्टा सिबीले माली र मोरक्कोको स्वास्थ्य टिमलाई समेत बधाई दिएकी छिन् । सकुशल बच्चाहरु जन्माउन सहयोग गरेकोमा स्वास्थ्यमन्त्रीले बधाई तथा धन्यवाद दिएकी हुन् ।
दुई साता मोरक्कोको राजधानीमा रहेको अस्पतालमा राखेपछि आमालाई मार्च ३० मा मोरक्को लगिएको थियो । मोरक्कोको क्लीनिकमा ५ साता राखेपछि मंगलबार बच्चा जन्मिएका थिए । आमा र उनका ९ बच्चा केहीदिनमा नै मोरक्को फर्कने भएका छन् ।
विगतमा सन् २००९ मा अमेरिकामा एकजना महिलाले ८ वटा बच्चा जन्माएर गिनिज बुकमा नाम दर्ता गराएकी थिइन् । एकैपटक सबैभन्दा धेरै बच्चा जन्माएको र सबैजना बाँचेकोमा उक्त रेकर्ड दर्ता गरिएको थियो ।
विगतमा ९ वटा बच्चा जन्माएका दुईवटा रेकर्डहरु भएपनि कुनै पनि बच्चाहरु केहीदिन भन्दा धेरै बाँचेनन् । सन् १९७१ मा अष्ट्रेलियामा र सन् १९९९ मा मलेसियामा एकैपटकमा ९ वटा बच्चा जन्मिएका थिए ।
सन् २००९ मा ८ वटा बच्चा जन्माउने नाद्या सुलेमानका सबै बच्चाहरु हुर्किसकेका छन् । उनीहरु अहिले १२ बर्षका भइसकेका छन् ।