पत्रकारकाे काेभिड समस्या समाधानकाे लागि बन्याे ‘रेस्पोन्स टिम’

निरन्तर न्यूज
१८ बैशाख २०७८, शनिबार १७:१४

हेटाैँडा । कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड १९ जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्सको लागी नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले टिम बनाएको छ । शनिबार प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो । अध्यक्ष देवकोटाको संयोजकत्वमा गठित ११ सदस्यीय टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले ९विक०, कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजि श्रेष्ठ, पेमा लामा, श्याम प्रसाद खतिवडा रहेका छन् ।

बैठकले सबै जिल्ला शाखाहरुलाई र्यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीति निर्माण गरी काम गर्न आग्रह छ । टिमले संचारकर्मीहरूका लागि कोरोना जोखिम न्युनिकरणका लागि गाइडलाइन समेत तयार गर्नेछ । बैठकले कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षत्रमा अटिन आग्रह गर्दै प्रदेश र जिल्लास्थित सम्बन्धित निकायहरुलाई आश्यक खोपको प्रवन्ध गरी समन्वयको लागि अनुरोध गरेको छ । कोभिड १९ जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातारण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै महासंघले आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

कोभिड जोखिमको बहानामा सञ्चारकर्मीहरुलाई बेतलबी बिदामा नराख्न र निष्काशन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गर्दै महासंघले कोभिड बहानामा बेतलवी बिदामा राख्ने र निष्काशन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ ।
कोभिड महामारीबाट प्रभावित बनेको संचारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकमा संक्रमणको जोखिम कम गर्न र संक्रमितहरुको उपचारलाई व्यवस्थित बनाउन सरकारी प्रयास प्रभावकारी हुन सकेकोले उपचारमा उचित व्यवस्था मिलाउन तीनै तहका सरकार जुट्नुपर्नेमा जोड दिइएको थियो भने निषेधाज्ञाको प्रत्यक्ष मारमा पर्ने श्रमिक वर्गको रोजीरोटीका लागि आवश्यक प्याकेज ल्याउन पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु