कोरोनाको निशानामा बढी तौल र मोटोपना भएका मानिस

निरन्तर न्यूज
१८ बैशाख २०७८, शनिबार १७:०९

एजेन्सी । कोभिड-१९ को महामारी सुरु भएयता संक्रमणको गम्भीरताका सम्बन्धमा दुईवटा दृश्य देखिन्छन् । पहिलो, संक्रमण गम्भीर बन्दै गएपछि केही मानिसलाई अस्पताल भर्ना गरिएको पाइन्छ । दोस्रो, केही संक्रमित भने घरमै आईसोलेशनमा बसेर निको भएको देखिन्छ ।

सुरुवाती चरणमा कोरोनाबाट बढी उमेरका मानिसहरुको स्वास्थ्य अवस्था गम्भीर भएको देखिन्थ्यो । उमेर पुग्दै गएपछि हाम्रो शरीरको रोगप्रतिरोधी क्षमता पनि ह्रास हुँदै जाने भएकाले वृद्धवृद्धाहरुमा कोरोनाको गम्भीर संक्रमण देखिएको हो ।

उमेर नै कोरोना भाइरसबाट उत्पन्न हुने जोमिख वा मृत्युको एउटा मुख्य कारक हो भन्ने कुरा तथ्याङ्कले पनि प्रस्ट पार्छ । बेलायतमा कोभिडका कारण ज्यान गुमाएकामध्ये ७० प्रतिशतभन्दा बढी ७५ वर्षमाथिका व्यक्ति छन् ।

यसबाहेक, गत वर्ष उमेरसँगै जातीयता, लिङ्ग र मोटोपनाले समेत कोरोनाबाट उत्पन्न हुने जोखिम वा मृत्युमा ठूलो भूमिका खेलेको थियो ।

मोटा मानिसलाई कोभिड-१९ को जोखिम बढी

मानिसको उचाइ र तौलमार्फत् बडी मास इन्डेक्स (बिएमआई) निकालिन्छ । २५ भन्दा बढी बिएमआई भएका मानिसलाई ओभर वेट वा बढी तौल भएका र ३० भन्दा बढी बिएमआई भएका मानिसलाई ओबिस वा मोटोपना भएका मानिसमा गणना गरिन्छ ।

सुरुका अध्ययनले अन्य मानिसको तुलनामा बढी तौल वा मोटोपना भएका मानिसहरुलाई आईसियूमा राख्नु परेको र त्यस्ता संक्रमितलाई उपचारका क्रममा भेन्टिलेटर आवश्यक परेको देखाउँछन् । जस्तै, बेलायतका प्रधानमन्त्रीले आफूलाई कोभिड-१९ को संक्रमण गम्भीर हुनुको कारण ‘बढी तौल’ भएको बताएका थिए ।

गत वर्ष नेचरमा प्रकाशित एक अध्ययन अनुसार मोटोपनाका कारण कोभिड-१९ बाट हुने मृत्युको जोखिम बढ्ने गर्छ । उक्त अध्ययन अनुसार बिएमआई धेरै (४० भन्दा माथि) भएका मानिसले कोरोनाबाट ज्यान गुमाउने जोखिम स्वस्थ बिएमआई (१८.५- २५ सम्म) भएका मानिसको भन्दा ९२ प्रतिशत बढी हुन्छ ।

कोभिड-१९ सम्बन्धी हालैको एक अध्ययनलाई नेतृत्व गरेका बेलायती चिकित्सक डा. कारमेन पियरनास भन्छन्- ‘हामीले अत्यधिक तौलसँग सम्बन्धित जोखिम ४० वर्षमुनिका मानिसमा सबैभन्दा धेरै भएको र ८० वर्ष पुगेका मानिसमा तौलकै कारण कोभिड-१९ संक्रमण खासै गम्भीर नहुने कुरा पनि पत्ता लगायौं ।’ यही भएर खोप नीतिमा मोटोपनको समस्या भएमा मानिसलाई केन्द्रमा राख्नु पर्ने पनि डा. पियरनासको भनाइ छ ।

यससम्बन्धमा भारतको पछिल्लो अवस्थालाई हेर्न सकिन्छ ।

भारतमा कोभिड-१९ को पहिलो लहरका बेला अस्पताल भर्ना गर्नु परेका अधिकांश संक्रमितहरु बढी उमेरका र अन्य रोगबाट ग्रसित थिए । तर दोस्रो लहरमा ४० मुनिका मानिसमा समेत कोरोना भाइरसका गम्भीर लक्षण देखिएको रअस्पताल भर्ना गर्नु परेको अवस्था छ ।

चालिस वर्षमुनिका संक्रमितलाई समेत अस्पताल भर्ना गर्नु पर्नाको एउटा कारण तीव्र गतिमा भाइरस फैलनु हो । तर उपचारमा संलग्न चिकित्सकका अनुसार मोटोपनाले पनि यसमा भूमिका खेलेको प्रस्ट हुन्छ ।

दिल्लीस्थित लोक नायक अस्पतालका स्वास्थ्य निर्देशक सुरेश कुमारका अनुसार कोभिड-१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश युवायुवतीहरु बढी तौल वा बढी मोटा छन् ।

‘हाम्रो अस्पतालमा बिहीबार ४० र ४१ वर्षका दुईजना संक्रमितको मृत्यु भयो’, कुमारले भने, ‘मृतकमध्ये एकजनाको तौत १२० किलो र अर्काको ९० किलो थियो ।’

अधिक मोटा मानिसमा इन्सुलिन प्रतिरोध उच्च हुने र यसले उनीहरुको फोक्सो तथा श्वासप्रश्वास प्रणालीको क्षमतामाथि नकरात्मक असर पार्ने भएकाले कोभिड-१९ को संक्रमण जटिल बन्ने पनि कुमारको भनाइ थियो ।

त्यस्तै सघन स्वास्थ्य उपचार विज्ञ डा. सुमित रेले बढी तौल भएका मानिसहरुको रोगप्रतिरोधी प्रतिक्रिया अनियमित हुने गरेको बताए । ‘साथै, मोटा मानिसको श्वास प्रश्वास प्रक्रियामा पनि असर पर्छ’, उनले भने ।

इन्स्टिच्युट अफ लिभर एण्ड बिलियरी साइन्सेसका निर्देशक डा. एस के सरिनले समेत गत वर्ष आफ्नो अस्पतालले यस्तै खाले अध्ययन गरेको र मोटोपनाका कारण कलेजोमा बोशो जम्ने र यसबाट कोरोना संक्रमितले थप जटिलता सामना गर्ने बताउँछन् ।

‘त्यस्ता (मोटोपना भएका) बिरामीमा इनफ्लेमेटरी मार्कर उच्च हुने, साइटोकाइन स्टर्म लामो हुने र भाइरस हटाउने कार्य ढिलो हुने भएकाले गम्भीरता तथा लामो समयसम्म बिरामी पर्नुपर्ने अवस्था आउन सक्छ’, सरिनले भने ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु