राेनाल्डाे आक्राेशमा फ्याँकेकाे ‘आर्म ब्याण्ड’ अक्सनमा

बेलग्रेड । पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान आक्रोशमा आएर फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिएको छ । कतार विश्वकप २०२२ को युरोपियन छनोट दौरान सर्वियाविरुद्धको खेल दौरान आफ्नो गोललाई मान्यता नदिएपछि आक्रोशमा आएका रोनाल्डोले खेल नसकिँदै आफूले लगाएको कप्तानको आर्मब्यान्ड फाल्दै मैदानबाट बाहिरिएका थिए ।
कप्तानको आर्मब्यान्ड एक बिरामी बच्चाको उपचारको लागि लागि आर्थिक संकलनका लागि अक्सनमा राखिने भएको हो । स्पोर्ट्स क्लब नाम गरेको च्यानलले म्याचको रिप्ले हेर्दै रोनाल्डोकै आर्मब्यान्ड रहेको पुष्टि गरेपछि एक च्यारिटी संस्थासँगै सो आर्मब्यान्ड अक्सनमा राखेको छ ।
बेलग्रेडमा भएको खेलमा रोनाल्डोको प्रहार गोल लाइन क्रस गरेको देखिए पनि स्टेफन मित्रोभिचले क्लियरेन्सलाई जायज मान्दै रेफ्रीले रोनाल्डोको गोललाई मान्यता दिइएका थिएनन् । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को प्रयोग नभएका कारण पोर्चुगलले गोलको मान्यता नपाउँदा पोर्चुगल जितबाट वञ्चित बनेको थियो । सो गोलका लागि रेफ्रीसँग विवादमा उत्रिएपछि उनलाई पहेंलो कार्ड देखाइएको थियो । उनले फालेको आर्मब्यान्ड मैदानमा रहेका स्टेवार्डले उठाउँदै क्षेत्रिय टेलिभिजन च्यानललाई फोन गर्दै अक्सनमा राख्न आग्रह गरेका थिए ।
आफ्नो पहिचान खुलाउन नचाहेका उनले सो अक्सनबाट उठेको रकम दुर्लभ रोग लागेका एक ६ महिने बालक ग्राभिलो जुर्डेभिचको उपचारमा खर्च गर्ने बताएका छन् । ‘रोनाल्डोले मभन्दा ३ मिटर पर मात्रै आर्मब्यान्ड फालेका थिए । त्यो देख्नेबित्तिकै मलाई ती बिरामी बच्चाका लागि पैसा उठाउएर सदुपयोग गर्ने सोच आयो ।’ ती व्यक्तिले भने । सो बच्चालाई स्पाइनल मस्कुलर अट्रोफी रोग लागेको छ । यसको उपचारका लागि विश्वकै सबैभन्दा महँगो औषधि जोल्गेन्समा जसको मूल्य २० लाख युरोको आवश्यकता पर्छ ।