ल्होछारको अवसरमा पदमपोखरीमा बृहत सांस्कृतिक कार्यक्रम हुने
हेटौंडा । तामाङ समुदायको २८५७ औं सोनाम ल्होछारको अवसरमा मकवानपुरको पदमपोखरीमा ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । फागुन ३ गते वृहत सांस्कृतिक कार्यक्रमको आयोजना हुने जानकारी दिइएको छ ।
सांस्कृतिक कार्यक्रम मूल समारोह समितिको आयोजनामा हेटौंडा–१३ ठूलोथली, गुम्बाडाँडामा कार्यक्रम हुने आयोजकले बताएको छ । सांस्कृतिक कार्यक्रममा भेषभुषा, संस्कृति, तामाङ संस्कृति र स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक आइमान मोक्तानले जानकारी दिए । उनका अनुसार कार्यक्रममा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।
कलाकारहरु विश्व दोङ, टीका भोम्जन, सुनिता रुम्बा, सुशील थिङ, कोरियोग्राफर मेघना मगरलगायतको प्रस्तुति रहने मोक्तानले जानकारी दिए । तामाङ संस्कृतिलाई जोगाउन प्रत्येक बर्ष कार्यक्रमको आयोजना गरिँदै आएको उनले बताए ।
दिउँसो २ बजेदेखि राति १० बजेसम्म साँस्कृतिक कार्यक्रम हुने कार्यक्रम संयोजक मोक्तानले जानकारी दिए । प्रहरीसँगको समन्वयमासुरक्षा व्यवस्था राम्रो बनाउने तयारी गरिएकाे उक्त कार्यक्रमकाे प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ रहने आयाेजकले जानकारी दिएकाे छ ।