जनताको सार्वभौम अधिकारको सम्मान,रक्षा र सदुपयोग अपरिहार्य
केही समय अघि नेपाली साँगितिक क्षेत्रमा एउटा समसामयिक गीत निकै चर्चित भयो ‘ सोचे झै जीन्दगी रैनछ… ‘ । नेपाली साँगितिक क्षेत्रको संरक्षण र संबर्धनमा यसले खेलेको भूमिकाको मुल्याङकन छुट्टै छ । यसको अलवा , यस गीतको ‘ सोचे झै जिन्दगी रैन छ… ‘ भन्ने वाक्यले जनजनको मन छुन भने सफल भएको जग जाहेर नै छ। यति बेला यो सारगर्भित भनाईलाई देशको वर्तमान राजनितिक अवस्थासंग जोडेर हेर्दा ‘ सोचे झै राजनीति रैनछ …’ भन्नेमा पुगेका छन् नेपाली जनता । नेपाली राजनितिमा देश र जनतालाई सर्वोपरि ठानी समृद्धिको स्वाद चाख्ने सपना देखेर राजनितिक परिवर्तनमा होमिएको झण्डै एउटा पुस्ताकै आयु बराबर भैसक्यो। तर , उपलब्धिका हिसाबले राजनीतिक कोर्स जहाँको त्यही जस्तो देखिन्छ ।
देशको वर्तमान ब्यवस्थालाई आफ्नो प्रमुख मुद्दा र राजनितिक उपलब्धि ठान्नेहरुको पृष्ठभूमि र राज्य ब्यवस्थाको परिवर्तनसंगै सत्तामा पुगेपछिका उनीहरुका तामझामे हैसियत अनि उनीहरुले निर्वाह गरेका भूमिका बिच तारतम्यता हेर्न खोज्दा ‘ सोचे झै राजनीति रैनछ …’ भन्ने निष्कर्ष निकाल्न जनतालाई गाह्रो छैन । बास्तवमा भन्नु पर्दा देश बने मात्र , आफु बनिन्छ , देश बनाउन मुलतः जनमुखी राजनितिमा स्थायित्व चाहिन्छ।त्यसका लागि सही नेतृत्व चाहिन्छ । सही नेतृत्वका लागि सही प्रवृत्ति चाहिन्छ । सही प्रवृत्तिका लागि नेतृत्व इमान जमान, नैतिकता,चरित्र र इज्जतप्रति प्रतिबद्ध हुनु अपरिहार्य छ । यस भनाईसंग एउटा प्रसंग जोड्ने अनुमति चाहन्छु ।
२०४७ सालतिरको कुरा हो । राणाकालदेखि नै प्रजातन्त्रका खातिर सारा जीवन होमेर पटक पटक जेलनेल भोग्नु भएका तत्कालीन नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति आदरणीय स्व.मंगलनारायण मानन्धर ज्यूसंग नजिकिएर जीवन र राजनीतिक दर्शनका बारेमा धेरै महत्वपूर्ण जीवन उपयोगी ज्ञानगुनका कुरा सुन्ने सुवर्ण अवसर मिलेको थियो।यसै क्रममा उहाँले भन्नु भएको एक महत्वपूर्ण बचन ,जो मलाई जीवन उपयोगी आदर्श बचन लागेको थियो , मेरो मानसपटलमा आजसम्म पनि सिलालेख खोपिए झै ससम्मान जीवन उपयोगी अदर्श बचनकै रुपमा बिराजमान छ। उहाँले भन्नु भएको थियो-‘बाबु मानिसले राजनितिमा प्रवेश गर्न पार्टी छनोट गर्दा र बैबाहिक जीवनमा प्रवेश गर्न जीवनसाथी छनोट गर्दा बढो सोच बिचार गरेर निर्णय लिनु पर्दछ।यदि लिइएको निर्णय सही साबित भएमा , जीवनभर सुख र शान्ति मिल्छ । यदि गलत साबित भएमा , जीवनभर दुःख र अशान्ति हुन्छ। किनकी इमान,जमान, नैतिकता, चरित्र र इज्जतको ख्याल गर्ने मानिस जे जस्तो दुःख, पिडा, अशान्ति भएपनि , सहेरै जीउन तयार हुन्छ। जीउन नसके बरु मर्न सक्छ । तर, गलत छानिएछ भनेर पार्टी वा जीवनसाथी फेर्न सक्दैन।”
यस्ता महान बिचारक ,देशभक्त,प्रजातन्त्रका सेनानी र शालीनताका धनी उहाँ साच्चै पूजनीय र आदर्श ब्यक्तित्व हुनुहुन्थ्यो ।प्रजातन्त्रका लागि उहाँले त्याग्नु भएका कुराहरु र खेल्नु भएका भूमिकाहरुका सत्य काहानीहरु पनि उहाँबाटै र उहाँलाई नजिकबाट चिन्नेहरुबाट सुन्दा कथा झै लाग्थ्यो । किनकि , ति सारै असाधारण थिए । यस अवसरमा यो अमुल्य जीवन उपयोगी बचनलाई स्मरण र मनन गर्दै स्व.मानन्धर ज्यूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।
तर विडम्बना ! अहिले समयकाल परिस्थिति यस्तो आयो कि आफ्नो आत्मरतीका लागि पद प्रतिष्ठा, धन दौलत र मान सम्मान प्राप्तिका खातिर इमान,जमान, नैतिकता,चरित्र र इज्जत खुल्लमखुल्ला लिलामी गर्न रत्तिभर नहिचकिच्याउने मानिसको जमात बढ्दैछ।नेपाली राजनितिमा त झन लगभग सुन्यताकै अवस्था भैसक्यो । आफ्नो स्वार्थ अनुकुल राजनितिक सिद्धान्त , आदर्श र पार्टी फेरबदल गर्नु , राजनितिज्ञ भनाउदाहरुका लागि लुगा फेरे झै सामान्य भै सक्यो । अहिले यसको ज्वलन्त उदाहरण बन्न पुगेका छन् नेपाली राजनितिका मतिभ्रष्ट मंगलेहरु। ७० बर्ष भन्दा लामो राजनितिक संघर्ष र अमुल्य बलिदानीले संविधानसभाबाट प्राप्त संविधान र त्यसले स्थापित गरेको ब्यवस्था एकाएक मंगलेहरुका अकर्मण्यताका कारण धरापमा परेको छ।नेपाली जनताले राजनीतिक स्थायित्वसंगै देश र जनताको हित गर्ने आशा र विश्वासका साथ कम्युनिष्टहरुलाई आफ्नो अमुल्य मत दिएर झण्डै दुईतिहाईको सरकार गठन गरी देश सञ्चालन गर्न बागडोर सुम्पेका थिए।तर, अहिले मंगलेहरु त्यो जनमत र जनविश्वासलाई तिलाञ्जलि दिदै सदन छोडेर सडकमा पुगेका छन् ।अचम्म र लाजमर्दो कुरो त के भने ? प्रतिपक्ष सडकमा सशक्तरुपमा हुनु पर्नेमा सरकारको नेतृत्व गर्ने दलनै विभाजित भएर सरकार बिरोधी र सरकार समर्थक बनी कुलकै बदनाम गर्ने गरी सडक कब्जा गरेर आलोपालो नौटंकी रतौली खेलिरहेका छन् । यि मंगलेहरुलाई अब जनताले माफी दिनेवाला छैनन् ।
कथनकदाचित जनताले माफी दिए पनि , इतिहासलेभने कदाचित् माफी दिने छैन । यसरी मंगलेहरुले आफ्नो खुट्टामा आफैले बन्चरो हानी सडक र कोठाबाट एक अर्कालाई खुइल्याउदै कुलकै बदनाम गरेर आनन्दानुभूति गर्दै गर्दा , प्रतिपक्ष र अन्य सरकार तथा ब्यवस्था बिरोधीहरुलाई भने हाइसन्चो भैरहेको छ । आगो लिएर आआफैमा झोस्ने ख्यालठट्टे खेल खेल्दाखेल्दै अचानक आफ्नै घरमा झोसिदा होसिएर जल्दै गरेको घरको आगो निभाउनतिर लाग्नुको सट्टा, उल्टै बैरीहरुलाई आङ सेकाउने पर्याप्त सुवर्ण अवसर प्रदान गरिरहेका छन् ।हातमा परेका सारा गुमाएर ‘ तैचुप मैचुप, खुला दिसा गर्नेलाई देखिए आफै लुक’ को विषम परिस्थिति सृजना गरी सुन्न र हेर्नै नसकिने रमिते नौटंकी उपद्रो मच्चाउदै छन् । यिनका रमिते नौटंकी उपद्रोले ब्यवस्था मात्र हैन देशकै अस्तित्वलाई धरापमा पारेको छ । कुलङ्घारलाई कुलको,देशघातीलाई देशको र अधर्मीलाई धर्मको रक्षा गर्ने ठेक्का दिनु भनेको, बिरालोलाई मुसा,कुकुरलाई दिसा र बाँदरलाई सिसाको चौकिदारी गराउनु जस्तै हो भन्ने साबित भएको छ।
ढिलो चाँडो कर्म अनुसारको फल सबैलाई मिल्छ नै।अहिले प्रधानमन्त्री केपी शर्मा वलीद्वारा गरिएको प्रतिनिधिसभा बिघटनको कदम संवैधानिक र असंवैधानिक भनी बिभाजन भएको मतले पालोपिलो सडक कब्जा गरिरहेको छ।यसले गर्दा सृजित सङ्कटलाई किनारा लगाएर देशलाई जोगाउने अन्तिम ऐतिहासिक जिम्मेवारी र अधिकार संवैधानिक सर्वोच्च निकायको काँधमा परेको छ । संवैधानिक वा असंवैधानिक कदम भनेर तर्क बितर्क गर्न पाइए पनि , संविधान अनुसार कानूनी अन्तिम ब्याख्या र फैसला गरेर टुंगोमा पुर्याउने हैसियत र कर्तब्य भने संवैधानिक सर्वोच्च निकायलाई मात्रै छ । त्यसैल, वर्तमान संविधानलाई आत्मसात् गर्ने हो भने , अब उसको फैसलाका लागि प्रतिक्षा गर्नुको विकल्प छैन।फैसलाका आधारमा आगामी गन्तव्य तय गरेर अग्रगामी कदम चाल्नु पर्दछ । संवैधानिक फैसला जे जस्तो आए पनि सोही आधारमा घुमेर होस् वा सिधै जनताको सार्वभौम अधिकारको सम्मान , रक्षा र सदुपयोग हुने कदम चाल्नु भने अपरिहार्य छ। त्यसो नगरिए ब्यवस्था मात्र हैन कि नेपाल र नेपाली कै अस्तित्व समाप्त हुने खतरा छ । तसर्थ , दुर्भाग्यबस प्राप्त यस बिषम अवस्थालाई अब नेपाली जनताले पनि सौभाग्य नै मानी , प्राप्त अमुल्य ऐतिहासिक अवसरका रुपमा आत्मसात् गरेर बढो बुद्धिमतापूर्वक आफ्नो सार्वभौम अधिकारको रक्षा र पूर्ण सदुपयोग गर्दै , चक्रव्यूहमा फसेको देशलाई बचाउने र देश बनाउने अभियानमा एकबद्ध भएर खुट्टा नकमाई कम्मर कसेर अग्रगामी कदम चाल्दा नै क्षति कम , उपलब्धि बढी हुनेछ।
हेटाैँडा, मकवानपुर हाल अमेरिका