ज्यान गए जाओस्, तर ‘लज्जा ‘ नजाओस्

सुपेन्द्र बस्नेत
५ माघ २०७७, सोमबार २०:१८

सृष्टि गतिशील छ । त्यही गतिशीलतामा अनेक खाले घटना परिघटनाहरु भै रहेका हुन्छन् । यस्ता घटना परिघटनाहरुबाट आफ्नै योग्यता र क्षमताका कारण वा संयोगले अरुकै कारण बच्न सकेकाहरु अस्तित्वमा रहन्छन् भने, बच्न नसक्नेहरु समाप्त हुन्छन् । सृष्टिमा आफ्नो अस्तित्व जोगाउन हरेक प्राणी वा बनस्पतिले संङ्घर्ष गरिरहेका हुन्छ । ति मध्य मानवले भने अन्यको तुलनामा धेरै नै गरिरहेको छ । मानव बिकास क्रमलाई अध्ययन गर्दा , आफ्नो अस्तित्वका लागि मानिसले पहिलेको तुलनामा अहिले धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ । यसको प्रमुख कारण मानवको मुख्य सत्रु मानव नै भएर हो ।

मानवता हराउदै दानवताको भूमिकातिर अभ्यस्त हुदै गएको वर्तमान मानव समाजको चरित्र हेर्दा निकै काहाली लाग्दो देखिन्छ । समाजमा सभ्य समाजको मेरुदण्ड मानिने चरित्र र नैतिकताको ‘लज्जा ‘जति बलियो हुन्छ , त्यति नै मानवता दह्रो हुन्छ ।र, समाजको सम्मान हुन्छ । ‘ लज्जा’ (लाज)जति कम्जोर हुन्छ , त्यति नै मानवता कम्जोर हुन्छ । र , समाज बदनाम हुन्छ । त्यसैले समाजका हरेक सदस्य यस्ता बिषयमा सधै सचेत रहनु पर्दछ।यसै सन्दर्भमा
जीवन उपयोगी हुन सक्ने ठानी यो एउटा छोटो कथा यहाँहरु सामु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

लेखक : सुपेन्द्र बस्नेत

एक पटक सुर्य र हावाका बिच को सबै भन्दा शक्तिशाली ? भन्नेमा ठुलो बिबाद चलेछ ।जसको छिनोफान गर्नका लागि खेतमा काम गर्दै गरेको एउटा किसानलाई आधार मान्न दुबै राजी भएछन् । जसले आफ्नो शक्ति प्रदर्शन गरी १५ मिनटभित्र किसानको कपडा फुकालेर सर्वाङ्ग बनाउन सक्यो , ऊ नै ठुलो शक्तिशाली भएको स्विकार गर्न तयार भएछन् । पहिले कसले शक्ति प्रदर्शन गर्ने भन्ने छिनोफानो गर्न ‘गाई कि त्रिशुल’ गर्दा सुर्यको पहिले पालो परेछ । सुर्यले आफ्नो शक्ति प्रदर्शन गर्दै प्रचण्ड गर्मी गरिदिएछन् । किसान एक्कासि असैय्य प्रचण्ड गर्मी भएकाले चकित परेछ । र, गर्मी छल्न नजिकैको छहारी बिनाको बयोबृद्ध रुखको छाँयामा आँड लिन पुगेछ । तर, सितलताका लागि लुगा खोलेर सर्वाङ्ग भने भएन छ।समयसिमाभित्र सुर्यको केही नलागेपछि अब पालो हावाको आयो ।हावाले आफ्नो शक्ति प्रदर्शनको तयारी गर्दै गर्दा केही क्षण मौसम सामान्य भएकाले किसान फेरी काममा फर्किएछ। केहिबेरपछि हावाले आफ्नो शक्ति प्रदर्शन गर्न थालेछ। फेरी किसान हस्याङफस्याङ गर्दै त्यही रुखमा आँड लिन पुगेछ । जति जति हावाले आफ्नो शक्तिको क्षमता बढाउदै जान्थ्यो, उति उति किसान आफ्नो लुगालाई जोडबल लगाएर सम्हाल्दै रुखलाई कसिकसाउ अंगालो हाल्थ्यो। जति गर्दा पनि समयसिमाभित्र किसानलाई सर्वाङ्ग गराउन नसकेपछि हावाले पनि हार स्विकार गर्यो ।

किसानलाई सर्वाङ्ग बनाउन नसकेपछि दुबैले बरु किसानले शरण लिएको त्यही बयोबृद्ध रुखलाई नै शक्तिशाली मान्न सहत भए। तर, किसान भने यस बिषयमा अनविज्ञ थियो ।किसानले सितलता दिने छहारी र सुरक्षा दिने पहरीको प्रत्याभूत नभएको त्यो जिर्ण रुखको आँड लिएको भएतापनि , सुर्य र हावाले उसलाई सर्वाङ्ग बनाउन नसक्नुको मुख्य कारण चाही रुखको शक्तिका कारण नभई किसानलाई लागेको ‘लज्जा ‘ नै थियो ।ज्यान बचाउन भन्दा पनि ‘लाज’ बचाउनकै लागि किसानले प्रचण्ड गर्मी हुँदा पनि लुगा खोलेर सर्वाङ्ग भएन । र, हावाले लुगा उढाउन खोज्दा पनि त्यही ‘लाज’ बाट बच्न लुगालाई झन कसिकसाउ सम्हालेको थियो । तर, सुर्य र हावाबिचको बेतुके घमण्डका कारण भनौं वा संयोग भनौं या भाग्य भनौं, विविध कारणले आफै उपचार र उद्धारको प्रतिक्षामा रहेको जिर्ण बयोबृद्ध रुख , बिना प्रतिस्पर्धा नै एकाएक सबैभन्दा शक्तिशाली घोषित हुन पुग्यो ।

प्रस्तुत कथालाई जीवनको बिभिन्न आयामहरुसंग जोडेर अध्ययन गर्न, बिश्लेषण गर्न र निश्कर्ष निकाली मानवताका लागि उपयोग गर्न सकिन्छ । तसर्थ, यस कथाको मर्म अनुसार गहन चिन्तन मनन् गरी निचोड निकालेर ब्यवहारमा लागू गर्न पाउने यहाँहरुको अधिकारलाई सुरक्षित गर्दै अहिलेलाई भने बिन्दा लिन्छु ।

सुन्नेलाई सुनको माला, भन्नेलाई फुलको माला ।

यो कथा जता सुकै जाला, तर भन्ने बेलामा मुखमा टुप्लुक्क आइजाला ।।

लेखक : हेटाैँडा मकवानपुर, हाल अमेरिका

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु