विराेधीहरुलाई मन्त्री बनाउँदै प्रधानमन्त्री ओली, अधिकांश नयाँ अनुहार समेटिए
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार विस्तार गरेको मन्त्रिपरिषद्मा अधिकांश नयाँ अनुहार समेटिएका छन् । केही मन्त्री भने यसअघि पनि राज्यको महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका टोपबहादुर रायमाझीले यसअघि पनि उपप्रधानमन्त्रीसहित सोही मन्त्रालय सम्हालेका थिए । संविधान निर्माण लगत्तै विसं २०७२ मा वर्तमान प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा रायमाझीले सो मन्त्रालय सम्हाल्दा ऊर्जा, सङ्कटकालीन कार्ययोजना ल्याएर नेपालको ऊर्जा तथा जलस्रोतको क्षेत्रमा नयाँ आयामको शुरुआत गरेका थिए ।
कूल ९९ बुँदे सो कार्ययोजनाको आधारमा नै विद्युत्भार कटौतीलगायतका योजना अगाडि बढेका थिए । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा अर्घाखाँचीबाट ५० हजार ८३७ मतसहित निर्वाचित भएका रायमाझी दोस्रो पटक ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
उनले ऊर्जा मन्त्रालय सम्हाल्दा मुलुकमा चरम लोडसेडिङको समस्या रहेको थियो । यसअघि उपप्रधानमन्त्रीको जिम्मेवारी पाइसकेका उनी अहिले मन्त्री पदमा चित्त बुझाएर सिंहदरबार भित्रिएका हुन् ।
शहरी विकास मन्त्रालयमा प्रभु साहको पनि दोस्रो कार्यकाल हो । तीन पटक सांसद र संसदीय समितिको सभापति रहिसकेका साहले यसअघि नै कानून न्याय तथा संसदीय मामिला, भूमिसुधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
एक दिनअघिसम्म दाहाल-नेपाल खेमा देखिएका र संसद विघटनको विरुद्धमा अभिव्यक्ति दिएका साह अचानक ओली खेमामा देखिएर मन्त्रीको जिम्मेवारी लिएका हुन् । उनले दाहाल-नेपाल खेमामा माधव नेपाललाई अध्यक्ष बनाएपछि आपत्ति प्रकट गरेका थिए । उनको नेता माधव नेपालसँग सम्बन्ध राम्रो नरहेको चर्चा हुनेगर्छ ।
खानेपानी मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका मणिचन्द्र थापा पहिलो पटक राजकीय जिम्मेवारीमा आएका हुन् । तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको जनयुद्धमा गीत सङ्गीतमार्फत योगदान गरेका नेता थापा नेकपा भित्र बौद्धिक नेताका रुपमा चिनिन्छन् । उनी केही समय माओवादी आन्दोलनबाट बाहिरिएका थिए र नयाँ पार्टी खोलेका थिए । पछिल्लो समय उनी ओली खेमामा खुल्दै आएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरी पनि दोस्रो पटक मन्त्री बनेका छन् । यसअघि पनि उनले कृषि विकास मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेका थिए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाको सांसद थिए । दार्चुलाबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका ठगुन्नालाई कालापानी, लिपुलेक र लिम्पियाधुरालगायतको क्षेत्रको राम्रो ज्ञान रहेको छ ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले पनि नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद हुन् । डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने आलेलाई नेकपाभित्र निडर नेताका रुपमा लिइन्छ । विसं २०७४ को निर्वाचनमा नवनियुक्त मन्त्री आलेले ३२ हजार ५१० मत प्राप्त गरी विजयी भएका थिए ।
आले सुरुमा माधव नेपालनिकट मानिन्थे । ओलीको पहिलो मन्त्रिपरिषद् गठनको बेला माधवले सिफारिस नगरेको भन्दै रुष्ट बनेका उनी पछि ओलीतिर नजिकए । त्यसबापत उनले मन्त्री पद पाएका छन् । वनमन्त्री आले आफैं काठको ठेक्कापट्टा र व्यवसायमा संलग्न व्यक्ति छन् । कतिपयले आलेलाई वनमन्त्री दूधको साक्षी बिरालो भनेर सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो पनि पहिलो पटक राजकीय जिम्मेवारी सम्हाल्न लागेकी हुन् । उनी नेकपा नेता रघुवीर महासेठकी पत्नी हुन्छ । उनी सुरुमा ओली खेमामा देखिँदा उनका पति दाहाल-नेपाल खेमामा थिए । पछि उनी पनि बालुवाटार फर्किए । महासेठ यसअघि भौतिक पूर्वाधारमन्त्री थिए । उनले काम राम्रो गर्न नसकेको भन्दै आलोचना भएपछि ओलीले हटाएका थिए । अहिले उनकै श्रीमती महतोलाई ओलीले महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाएका हुन् ।
त्यस्तै युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका दावा लामा पनि पहिलो पटक मन्त्रिपरिषद्मा समेटिएका हुन् । विसं २०६४ को संविधानसभा सदस्य रहेका लामा २०७४ मा भएको प्रदेशसभा सदस्यको निर्वाचनमा भने पराजित भएका थिए ।