अश्रुग्याससँग लड्नेहरूको इतिहास

हिसिला यमी
२७ मंसिर २०७७, शनिबार ०८:१३

६४८ पेजको यो पुस्तक देखेर एकछिन त जोकोही तर्किन्छ होला । तर, पर्खिनुस् यो चानचुने पुस्तक होइन । पुस्तकमा विभिन्न पृष्ठभूमिका झन्डै ५० लेखकका ४१ वटा लेखहरू छन् । नेपाली महिलाहरूको आँखाबाट, उनीहरूको जीवन भोगाइबाट र मष्तिस्कको मन्थनबाट लेखिएको सम्भवतः यो पहिलो यस्तो पुस्तक हो, जसबाट समग्र नेपाल चियाउन सकिन्छ ।

पुस्तकमा राज्य सत्ताको तिनै अंगहरू (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)मा काम गरेका महिलाहरूका आ–आफ्ना अनुभूति उजागर गरिएको छ । साथै प्रशासन, सुरक्षा, कानुन, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक र विकास सँगसँगै धर्म, संस्कृति, साहित्य, सञ्चार, संगीत, कलादेखि खेलकुदसम्मका लेखहरू पुस्तकमा समेटिएका छन् । मधेशी, जनजाति, दलित, मुस्लिम, लैंगिक तथा यौनिक अल्पसंख्यक र एकल महिलाहरूको संघर्ष र अधिकारका कुराहरू पनि पुस्तकमा समेटिएका छन् ।

‘महिला सुरक्षा दबाब समूह’ यस्तो महिलाहरूको सञ्जाल हो, जसले सबै पार्टीलाई समेटेको छ । विभिन्न सामाजिक संघ–संस्थालाई गोलबद्ध गरेको छ । साथै स्वतन्त्र व्यक्तिहरूलाई पनि समेटेको छ । यो महिलाहरूको सामूहिक सुत्केरी बेथाबाट जन्मेको पहिलो शिशु हो । ०४९ मा भर्खरै बहुदल आएको वेला ७ वर्षकी बालिकाको बीभत्स बलात्कार हुन्छ । यस घटनाका विरुद्ध संघर्ष गर्दागर्दै साहना प्रधानको नेतृत्वमा ‘महिला सुरक्षा दबाब समूह’को जन्म भयो । त्यतिवेला रोपिएको त्यो विद्रोहको बिउ आज यो पुस्तकका रूपमा हाम्रो अगाडि छ । २ वर्षको प्रसव पीडालाई सहज रूपमा अवतरण गराउन सुँडेनीको भूमिका ‘घोस्ट राइटिङ नेपाल’ले गरेको छ ।

यो पुस्तकमा फिल्मकर्मी प्रदीप भट्टराईको भनाइ छ, ‘नेपाली फिल्ममा महिला कलाकारहरू अझै पनि आँसु, दया, माया, एवम् त्यागले भरिएका फिल्म मात्र खेल्छन् (पेज नंं ५१३–१४)’ तर, यो पुस्तकमा आँसु बगाउने महिलाहरूको कथा होइन, अश्रुग्याससँग लड्ने महिलाहरूको इतिहास पढ्न पाइन्छ । दया होइन, खोसेर अधिकार लिएको, माया होइन, विद्रोही भएर उभिएको सशक्त बलिदानी दिएको इतिहास पुस्तकमा पढ्न पाइन्छ ।

प्रशासन, सुरक्षा, कानुन, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक र विकास सँगसँगै धर्म, संस्कृति, साहित्य, सञ्चार, संगीत, कलादेखि खेलकुदसम्मका लेखहरू पुस्तकमा समेटिएका छन् । मधेशी, जनजाति, दलित, मुस्लिम, लैंगिक तथा यौनिक अल्पसंख्यक र एकल महिलाहरूको संघर्ष र अधिकारका कुराहरू पनि पुस्तकमा समेटिएका छन् ।

पुस्तकमा पुष्पा भुसालले लेखेकी छिन्, ‘आजको एकाइसौँ शताब्दीमा आधुनिक लोकतान्त्रिक व्यवस्थामा पनि महिला नेतृत्व सहजै नस्विकार्दा यसको असर घरभित्रदेखि राज्यसम्म परेको छ ।’ सीता ओझा र प्रभादेवी ब्रजाचार्यले महिलाहरू पछि पर्नुको कारण लेखेकी छिन् :

– महिलासित जोडिएका ट्रेड युनियनका कार्यक्रमलाई पुरुषहरूले महत्व नदिनु ।

– महिलाका विषय जोडिएका कार्यक्रममा पुरुषहरू नै मञ्चको अग्रस्थानमा बस्ने अवस्थाले महिलाहरूको नेतृत्व स्थापित हुन नसकेको देखिनु ।

– पुरुष नेतृत्वहरूले प्रतिस्पर्धात्मक क्षमता भएका महिलाका विरुद्ध अनेकौँ अफवाह फैलाउने, चरित्र हत्या गर्ने, एक्ल्याउने, निषेध गर्ने र अर्को महिला प्रतिपस्र्धी बनाएर क्षमतावान्लाई परास्त गर्ने ।

– महिला नेतृत्व चयनको छलफल बैठकहरूमा महिलाहरूलाई सहभागी नगराउने (पेज नंं. ५६१–५६२) ।

पूर्वडिआइजी पार्वती थापामगरको लेख ‘सुरक्षा निकायमा महिला सहभागिता’मा सुरक्षाको चारवटै निकायमा महिलाहरूको काम, कर्तव्य, स्थिति र चुनौतीहरू राम्रोसँग उजागर गरिएको छ । थापामगरले लेखमा आफू योग्य, सिनियर र सक्षम भएर पनि कसरी प्रहरीभित्र महिला भएकै कारणले आफूले पाउनुपर्ने पदोन्नति अर्को जुनियर पुरुषको तमा पर्‍यो भन्ने सत्य तथ्य उजागर गरेकी छिन् ।

प्रशासनको क्षेत्रमा राधिका अर्यालको लेख र साथै कानुनी क्षेत्रमा प्रा.डा. शशी अधिकारी र डा. सुष्मा बाँस्कोटा बरालको लेख स्तरीय, सूचनामूलक र पढ्नै पर्ने खालको छ । बिना पौडेलको लेख सांस्कृतिक क्षेत्रसँग सम्बन्धित छ । उनी लेख्छिन्, ‘महिलाको समस्या महिलाको मात्र होइन सम्पूर्ण समाजको समस्या हो ।’ (पेज नं. ४८९) । डा.साधना पन्त ‘प्रतीक्षा’ले नारी लेखनको ऐतिहासिक पृष्ठभूमिहरू सिलसिलेवार रूपमा प्रस्तुत गरेकी छिन् । योगमायाका बारे उनी लेख्छिन्, ‘योगमाया कवि मात्र नभएर एउटा साहसिक मण्डलको नेतृसमेत हुन् ।’

यो पुस्तकमा आँसु बगाउने महिलाहरूको कथा होइन, अश्रुग्याससँग लड्ने महिलाहरूको इतिहास पढ्न पाइन्छ । दया होइन, खोसेर अधिकार लिएको, माया होइन, विद्रोही भएर उभिएको सशक्त बलिदानी दिएको इतिहास पुस्तकमा पढ्न पाइन्छ ।

यो पुस्तकमा विसं. १९९७ मा राणाशासनका विरुद्ध लड्ने सफाइ मजदुर राममाया नेपालीदेखि ०५६ मा राजतन्त्रविरुद्ध बन्दुक बोक्ने सहिद दिलमाया योञ्जनको समेत इतिहास पढ्न पाइन्छ । यति धेरै महत्व बोकेको ऐतिहासिक किताबको सम्पादनमा भने केही महत्वपूर्ण त्रुटिहरू भएका छन्, जसलाई औँल्याउन जरुरी छ । सर्वप्रथम किताबको कभरमै एक शताब्दी लेखिएको त छ तर, त्यो कुन मितिदेखि कुन मितिसम्म हो उल्लेख छैन । साथै कभरमा प्रकाशक ‘महिला सुरक्षा दबाब समूह नेपाल’ कतै लेखिएको छैन ।

दोस्रो, विषय सूचीमा मुख्य शीर्षकअन्तर्गत आएका लेखहरू छ्यासमिसे भएका छन् । जस्तै भवानी सापकोटाद्वारा लिखित ‘महिला आन्दोलनः एक विश्लेषण’ यो लेख राजनीति खण्डमा राख्दा राम्रो हुने थियो । त्यस्तै एउटा छुट्टै इन्द्रेणी महिला शीर्षकअन्तर्गत मधेसी, दलित, मुस्लिम, आदिवासी, लैंगिक तथा यौनिक अल्पसंख्यक र एकल महिलाका लेख राख्दा अझ स्पष्ट र व्यवस्थित हुने थियो ।

तेस्रो, धेरैजसो लेखमा मिति राख्दा कि त दुवै इ.सं. र वि.स. एकै ठाउँमा राखेको पाइन्छ, कि त दुवै नलेखी खालि अंक मात्र लेखेको देखिन्छ । यो दुवै विधिले पढ्ने व्यक्तिलाई अलमल पार्दछ । अन्त्यमा यो किताबमा महिलावादी आन्दोलनका विभिन्न धारहरूमध्ये जस्तै मी टु मुभमेन्टजस्ता विषयहरू छुटेका छन् । तैपनि यो किताब पिएचडी गर्नेहरूका लागि समेत उपयोगी हुने देखिन्छ । एक किसिमले यो पुस्तक इतिहासको चिहानबाट संघर्षशील महिलाहरूको हड्डी उत्खनन गरेजस्तै बनेको छ ।  नयाँपत्रिकाबाट  साभार गरिएकाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु