प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्‍न- पार्टीलाई जनताबाट छुटाएर कता लगेको ?

निरन्तर न्यूज
८ कार्तिक २०७७, शनिबार ०७:२८

काठमाडौं। नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र गैरजिम्मेवार व्यवहारको कारण पार्टी र जनताबीचको सम्बन्धको डोरी फुस्किदैँ गएको आरोप लगाएका छन् ।

पार्टीको हरेक निर्णयलाई मानेर अगाडि बढ्छु भन्ने तर व्यवहारमा एकलौटी र मनोमानी गरेको भन्दै प्रधानमन्त्री ओलीसँग पछिल्लो समय अध्यक्ष प्रचण्ड रिसाएका छन् । ओलीको कारण कार्यकर्ता मात्रै होईन सिङ्गो पार्टी र जनताबिचको सम्बन्ध नै बिग्रँदै गएको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र जनतालाई छाडेर एक्लै हिँड्न थालेको निष्कर्ष निकालेका छन् ।

झण्डै दुई तिहाईको संघीय सरकार र ६ वटा प्रदेश सरकार नेकपाको एकलौटी हुँदा पनि जनतासँग पार्टीको सम्बन्ध कसरी बिग्रँदै गयो ? भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई सोधेका छन्–‘पार्टीलाई जनताबाट छुटाएर कहाँ पुर्‍याउन खोजेको ?’ पार्टीको कर्णाली प्रदेशको विवाद समाधान गर्न बसेको बैठकमा बालुवाटार बोलाउँदा समेत प्रचण्ड गएनन् । त्यसभन्दा अगाडि मन्त्रीपरिषद हेरफेर र केहि नियुक्तिमा समेत ओलीले एकलौटी गरेका थिए ।

जनतालाई सरकार भएको महसुस गराउन समेत नसक्ने अवस्था आईलागेको भन्दै प्रचण्डले आफ्नो निवास खुमलटार पुग्ने नेता कार्यकर्तासँग ओलीको व्यवहारले आफु वाक्कदिक्क भैसकेको सुनाउने गरेका छन् । केही दिन अघि मात्रै ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई काठमाडौं बोलाएरै गोप्य भेट गरेका थिए । उक्त भे बारे पनि प्रचण्डलाई जानकारी दिइएको थिएन ।

नेकपामा प्रधानमन्त्री ओलीको गुट मन्त्रीपरिषदमा मात्रै बहुमतमा छ । पार्टी सचिवालय, स्थायी कमीटी र केन्द्रिय समितीमा ओली अल्पमतमा छन् । ओलीबाहेक अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल एक ठाउँमा छन् । पछिल्लो समय राष्ट्रियसभामा मनोनित भएर पनि मन्त्री हुन नपाएका उपाध्यक्ष वामदेव गौतम पनि ओलीसँग रिसाएका छन् ।

पार्टीका सबै कमिटीमा अल्पमतमा भएर पनि ओली कसरी शक्तिशाली र निर्णायक छन् त ? नेकपा कार्यकर्ताले प्रचण्डलाई सोध्न थालेका छन । जवाफमा प्रचण्डले ओलीजी असाध्यै घमण्डी र चाम्रो रहेको आफ्नो बुझाई रहेको बताउने गरेका छन् । नेकपामा दशैंपछि एक चरण ओलीसँग प्रचण्ड–नेपाल समूहको राम्रै ठेलमेल हुने अवस्था रहेको नेकपाका एक केन्द्रीय सदस्यले बताए । श्राेत : साझापाटी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*