इलामका ५ युवाले बनाए कोभिड अस्पतालमा प्रयोग गर्ने रोबोट

इलाम । इलामका युवाहरुले यन्त्र (रोबोट)निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्ने गरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शन समेत गरिएको छ ।
कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।
कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शैंयामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।
इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरक–फरक विषयमा काठमाडौंमा अध्ययन गर्ने उनीहरुले काठमाडौंमा समेत विभिन्न क्रियाकलापको प्रदर्शन गरेको बताइएको छ ।
रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ ।
साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ । रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ ।श्रोत नयाँ पेज