सत्ताले फोर्ने र संकटले जोड्ने राप्रपा एकताले कुनै अर्थ राख्ला ?
तर निर्वाचन परिणाम ३ वटै समूहका लागि सुखद रहेन । कमल थापा नेतृत्वको राप्रपाले नेकपासंगको स्थानीय तालमेलमा झापाबाट १ सीट जित्यो । यस पार्टीका महामन्त्री तथा उदियमान नेता राजेन्द्र लिङदेन संघीय संसदमा देखिनेगरी दक्षिणपन्थी धारका एकल प्रतिनिधि छन् । राप्रपा धारका समूहहरु मध्ये सबैभन्दा धेरै भोट ल्याएको यो समूहले समानुपतिकमा भने थ्रेसहोल्ड काट्न सकेन ।
पशुपति शमशेर नेतृत्वको राप्रपा समूह भने केही सीटमा कांग्रेसको समर्थन पाएको थियो । पशुपति शमशेरले सिन्धुपाल्चोक, सुनिल बहादुर थापाले धनकुटा र दीपक बोहराले रुपन्देहीमा कांग्रेसको समर्थनका बाबजुद प्रत्यक्ष निर्वाचन जित्न सकेनन् । यो समूहको समानुपातिक भोट १ लाख भन्दा तल नै रह्यो । थ्रेसहोल्ड छुने कुरै छोडौं ।
राप्रपा २०४६ सालको राजनीतिक परिवर्तनपछि गठन भएको पार्टी हो । २०३६–२०४६ को एक दशक सुधारिएको पञ्चायत अन्तर्गत निर्दलीय निर्वाचनहरु हुन्थे । ती निर्वाचनले देशभरि थुप्रै स्थानीय पञ्च कार्यकर्ताहरु उत्पादन गरेको थियो । २०४६ को परिवर्तनपछि कांग्रेस–कम्युनिष्ट हुन नचाहने पञ्च कायकर्ताहरु राप्रपामा समेटिए । तर पञ्चायतमा भएको दुई खेमाको प्रभाव राप्रपाको गठनमा पनि पर्यो ।
पञ्चायतभित्रको कट्टरपन्थी समूहलाई भूमिगत गिरोह भनिन्थ्यो । यो नामाकरण उदारवादी पञ्च नेता मानिने सूर्यबबहादुर थापाले गरेका थिए । कट्टरपन्थी खेमाका नेता तथा पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह पार्टीगत राजनीतिमा आएनन् । उनले ‘सेभ द नेशन’ भन्ने भिन्नै संगठन बनाए तर खासै जमेन । तसर्थ कट्टरपन्थी खेमाको नेतृत्व अर्का पञ्च प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको हातमा पुग्यो । यसरी लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा एकै दिन २ वटा राप्रपा जन्मिएको थियो ।
२०४६ पछिको पहिलो बहुदलीय निर्वाचनमा राप्रपाका दुवै समूहको स्थिति खासै उत्साहजनक रहेन । तसर्थ, उनीहरु मिले । वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्ने नारा दिए । २०५१ को मध्यावधि निर्वाचनमा राप्रपाको प्रदर्शन शानदार रह्यो । उसले १९ प्रत्यक्ष सीट हासिल गर्यो । देशको तेस्रो ठूलो दल मात्र बनेन सत्ताको चाबी समेत हातमा लियो । त्यो समय राप्रपा कांग्रेस, कम्युनिष्ट सरहको शक्तिशाली दक्षिणपन्थी दलको रुपमा रहने विश्लेषण गरिन्थ्यो ।
तर त्यसपछिको राजनीतिक व्यवहारले यो विश्लेषणलाई पुष्टि गरेन । सत्ता-राजनीतिको चाबी आएसँगै राप्रपामा नराम्रो गुटबन्दी देखियो । कांग्रेसले सूर्यबहादुर थापालाई बोक्यो । एमालेले लोकेन्द्रबहादुर चन्दालाई बोक्यो । दुवै पञ्च प्रधानमन्त्री बहुदलीय शासनकालमा पनि प्रधानमन्त्री बने । तर पार्टी भने लगभग सकियो । जनताले उनीहरुलाई कहिल्यै नसुध्रिने सत्तापिपासुको रुपमा चित्रण गरे । अन्ततः राप्रपा राजनीतिक परिदृष्यमा हराएजस्तो हुन थाल्यो ।
तर राजा ज्ञानेन्द्रको ‘कू’ सँगै पञ्च नेताहरु नयाँ कलेवरमा उदित भए । राप्रपा गठन गर्दा उनीहरुले आफूलाई पञ्चायतसँग नजोड्न र नयाँ लोकतान्त्रिक शक्तिको रुपमा विश्वास गर्न आग्रह गर्दै आएका थिए । ज्ञानेन्द्रको ‘कू’ ले उनीहरुकोे त्यस्तो आग्रह शतचूर्ण भयो । उनी निरंकुश राजतन्त्रको सहयोगीका रुपमा देखापरे । पुनश्चः सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पालैपालो प्रधानमन्त्री भए । अन्ततः राजा ज्ञानेन्द्रले सम्पूर्ण सत्ताको बागडोर आफ्नै हातमा लिए र आफैलाई सरकारको अध्यक्ष घोषणा गरे । त्यो सरकारमा कमल थापा गृहमन्त्री थिए ।
जनआन्दोलन २०६२/२०६३ मा राप्रपाको कुनै भूमिका देखिएन । पशुपति शमशेर समूहले ससानो जुलुस निकालेर आफू गणतन्त्रको पक्षमा रहेको बतायो । तर आज फेरि उनीहरु राजतन्त्र पुनर्स्थापनाकै मागमा फर्किका छन् । निर्णायक जनआन्दोलनको बेला गणतन्त्रको पक्षमा उभिएको राजनीतिक शक्तिले गणतन्त्र स्थापनापछि राजतन्त्रको पुनर्स्थापनाको माग गर्न कति युक्तिसंगत होला ? राप्रपाको पशुपति शमशेर समूह यस मानेमा बचकना देखिएको छ ।
तर कमल थापा समूह भने सधै राजतन्त्रवादी नै थियो र रह्यो । पहिलो संविधानसभा निर्वाचनमा राम्ररी खुट्टासम्म टेक्न नसकेको राप्रपा दोस्रो संविधानसभामा भने ह्वात्तै बढेर आयो । त्यसको कारण राजतन्त्रको मुद्दा नभएर हिन्दूराज्यको मुद्दा थियो । धर्मनिरपेक्ष नेपालमा हिन्दू धर्मको सत्यानाश हुन्छ भनेर थापा लगायतका नेताले र्युमर सिर्जना गरे । मतदातामा त्यसको प्रभाव पर्यो र राप्रपा समानुपातिक निर्वाचनका माध्यमबाट दोस्रो संविधानसभामा उल्लेखनीय संख्यामा उपस्थित भयो ।
तर त्यसपछिको राप्रपाको व्यवहारलाई ती मतदाताले पनि छोडे । राप्रपाले धर्मनिरपेक्ष संविधानमा सही गरेको र उपप्रधानमन्त्री पदका लागि कमल थापाले हिन्दुराज्यको मुद्दा सौदाबाजी गरेको भान मतदातालाई पर्यो । त्यही बीचमा पुनश्चः पूर्वपञ्चहरु एक भए । तर त्यो धेरै दिन टिकेन । यसकपटक एकता पनि कति दिन टिक्छ, यसै भन्न सकिन्न ।
राप्रपाको एकता टिके पनि, नटिके पनि यो दलको सान्दर्भिकता र शक्ति अबका दिनमा कतिको रहला ? यो मुख्य प्रश्न हो । २०४६ पछाडिको जस्तो पञ्च कार्यकर्ताहरुको स्थानीय जालो अब नेपाली समाजमा छैन । त्यो पुस्ता नै अन्त्य हुँदै गएको छ । कुनै समयका प्रभावशाली पञ्च नेताहरु दिल बहादुर श्रेष्ठ, पदम सुन्दर लावती, सूर्यबहादुर थापा, हेम बहादुर मल्ल, कृष्णचरण श्रेष्ठ, जोगमेहर श्रेष्ठ आदिको पुस्तान्त्य भइसकेको छ । उनीहरुमा सन्तानहरु पनि आज फरकफरक पार्टीमा छन् । सूर्यबहादुरका छोरा सुनिल थापा आगामी निर्वाचन अघि नेपाली कांग्रेस वा समाजवादी पार्टीतिर लागेको समचार आएमा कुनै आश्चर्य मान्नुपर्ने छैन ।
झापाको अपवादलाई छोडेर हेर्ने हो भने नयाँ पुस्ता राप्रपातिर आकर्षित देखिन्न । साझा र विवेकशील जस्ता नयाँ राजनीतिक समूहले नयाँ पुस्ताको ध्यान एक हसेदसम्म खिचेका छन् । हिन्दुत्वको मुद्दा विस्तारै मत्थर भएर गएको छ । धर्मनिरपेक्ष राज्यमा पनि हिन्दू जीवनशैली अपनाउन र बाँच्न कुनै व्यवधान छैन भन्ने मतदाताले बुझिसकेका छन । राजतन्त्रको मुद्दा नयाँ पुस्ताका लागि आकर्षणको बिषय नै हुन सक्दैन । आफैं राष्ट्रपति हुन पाइने संवैधाानिक अधिकारलाई हत्या गरेर कुनै वंशलाई राष्ट्रप्रमुखको अधिकार सुम्पने मुर्खता नयाँ पुस्ताका मतदाताले पक्कै गर्ने छैनन् ।
त्यसो भए राप्रपा जस्ता दलहरुको आधार कहाँ बाँकी रहला ? यस प्रश्नको उत्तर सहज छैन । लोकतन्त्रमा एउटै वैचारिक धारका दलहरु मिल्नु नराम्रो हैन । तर राप्रपा मिले पनि, फुटे पनि नेपाली राजनीतिमा त्यसको खासै महत्व, सान्दर्भिकता र स्पेश नहुने भने निश्चित छ । श्राेत : साझापाेष्ट