रामकृष्ण ढकालले पत्नी निलमसँग किन गरे ‘फेक डिभोर्स’ ?

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकाल पत्नी निलम शाहसँग सम्बन्धविच्छेद गरेको खबरपछि निरन्तर चर्चा र चासोको केन्द्रमा छन् ।
काठमाडौं जिल्ला अदालतबाट रामकृष्ण र निलमको सम्बन्ध कानूनीरूपमा टुंगिए पनि ढकाल दम्पत्तिले सम्बन्ध सुमधुर रहेको दाबी सामाजिक सञ्जालमा गरिरहेका छन् । विभिन्न कार्यक्रममा उनीहरू सँगै देखिएका पनि छन्डिभोर्सको समाचार सार्वजनिक भएकै मध्यरात डिजे राजुले ढकाल निवासमै पुगेर ढकाल परिवारका सबै सदस्यसँग सेल्फी फोटो खिच्दै सामाजिक सञ्जालमा अपलोड गरे ।
गत शनिवार साँझ सोल्टी होटलमा आयोजित सांगीतिक समारोहमा समेत रामकृष्ण र निलम छोरी रानीसँगै गएका थिए ।
रामकृष्णले स्टेजमा आशा भोसलेसँग गीत गाइरहँदा निलम र रानी दर्शकदीर्घामा खुशी साथ बसिरहेका थिए ।
त्यसो भए ढकाल दम्पत्तिले किन गरे कागजी सम्बन्धविच्छेद रु धेरैको अनुमान छ, ऋणबाट बच्नकै लागि फेक डिभोर्स गरेका हुन् । तर पारिवारिक स्रोतका अनुसार, ‘निलमले सम्बन्धविच्छेदपछि पनि श्रीमान् ढकालबाट कुनैपनि अंशको दाबी नगर्नु, दुईजना कानूनी रूपमा अलग भएप्छि सहकारीले दिने दुःख कम हुने तथा ऋणको तनावमा बस्न नपर्ने भएकाले उनीहरूले यस्तो गरेका हुन् ।’
ढकालको फेक डिभोर्सलाई लिएर संगीत जगतमा भने सहभानुभूति बढी छ । गीतकार राजेन्द्र थापा भन्छन्, ‘रामकृष्णको सन्दर्भमा सहकारीले जे गर्यो त्यो गलत छ । कुनै पनि ऋण कहिल्यै नसकिने भन्ने हुँदैन । ठूलो मान्छे भनेर षड्यन्त्र गरेर फसाइयो ।’
(कान्तिपुर साप्ताहिकमा कृष्ण भट्टराई र नेमिष गौतमले लेखेका छन् । पूरा फिचर साप्ताहिकको पृष्ठ २६ र २७ मा छ ।)
यस्तो छ ऋणको कथा
रामकृष्ण ढकालले भैँसेपाटीमा घर खरिदका लागि लालिगुराँस सहकारी संस्थाबाट १ करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए ।
ढकालकै दाबी अनुसार उनले ४८ लाख रुपैयाँ तिरिसकेको र विदेश रहेको समयमा सहकारीले षड्यन्त्रपूर्वक घर लिलामीको सूचना निकाल्यो ।
लिलामीमा कोही नआएको भन्दै सहकारीले १ करोड ५० लाखमा घर आफैं सकार्यो, जुन बजार मूल्यभन्दा निकै कम थियो ।
पछि फेरि सहकारीले ढकाल दम्पत्तिले ५ करोड रूपैयाँ तिर्न बाँकी रहेको भन्दै सार्वजनिक सूचना निकाल्यो ।
आफूले ऋण दिएर किनेको घर सहकारीले आफैं सकार्यो, रामकृष्णको दाबी अनुसार थप ४८ लाख रुपैयाँ ब्याज पनि असुल्यो, तर, रामकृष्ण दम्पत्तिको थाप्लोमा अझै ५ करोड ऋण बाँकी रहेको सहकारीको दाबी छ । श्रोत लोकान्तर