कौडीको भाउमा किनेको पुरानो घडीबाट निक्लियो ३२ लाख
एजेन्सी । एक जर्मन नागरिकले पुराना वस्तु किन्न पाइने ‘फ्लि मार्केट’ बाट किनेको पुरानो घडीमा ५० हजार डी मार्क भेट्टाएका छन् । जर्मनीको पुरानो मुद्रा डी मार्क सन् २००१ देखि प्रचलनमा छैन । तै पनि ती व्यक्तिलाई ३२ लाख रुपैयाँ फाइदा भएको छ ।
युरोपेली बजार ‘फ्लि मार्केट’ मा पुरानो सामानको खरिद बिक्री हुन्छ । यस्तै बजारमा किनिएको पुरानो घडीमा एक जर्मन व्यक्तिले ५० हजार डयचमार्क भेट्टाएको खबर जर्मन पत्रिका डीडब्ल्यूले प्रकाशन गरेको छ। डयचमार्क जर्मनीको पुरानो मुद्रा हो जो सन् २००१ सम्म प्रचलनमा थियो। अब यो मुद्रामा कसैले कारोबार गर्दैन । तर यो मुद्रा बैंकबाट साट्न भने सकिन्छ।
लोअर सेक्सनी राज्यको आउरिख क्षेत्रका एक वासिन्दाले आफूले किनेको पुरानो ठूलो घडीको काठको प्यानलभित्र ठूलो रकम फेला पारेपछि उक्त मुद्रालाई ‘लस्ट एण्ड फाउण्ड’ विभागमा बुझाए । यो विभागमा यस्ता सामानहरु ६ महिनासम्म राखिन्छ। ६ महिनासम्म सामानको दाबी गर्न कोही नआएमा जसले बुझाएको हो उसैलाई फिर्ता गर्ने नियम अनुसार उक्त मुद्रा फेरि उनै व्यक्तिलाई फिर्ता गरियो ।
१८ वर्षअघि प्रचलनबाट हराइसकेको यो मुद्रालाई जर्मनीको केन्द्रीय बैंकमा जम्मा गराएर ती व्यक्तिले २५ हजार ५०० युरो प्राप्त गरे ।
डयचमार्कलाई डी–मार्क वा मार्क पनि भनिन्छ । यसको सटही दल १ युरो बराबर १।९५५८३ मार्क छ । ५० हजार मार्क वापत केन्द्रीय बैंकबाट ती व्यक्तिले २५ हजार ५०० युरो अर्थात करिब ३२ लाख नेपाली रुपैयाँ ।
जर्मनीलाई नगद मुद्रा राख्ने अर्थव्यवस्था मानिन्छ । यहाँका नागरिकहरु बचतमा विश्वास गर्छन् । धेरै मानिसहरुले आफूसँग मुद्रा लुकाएर पनि राख्छन् । केन्द्रीय बैंकको अनुमान अनुसार अझै पनि करिब ६३ लाख युरो बराबरको डीमार्क मानिसहरुले आफैसँग राखेका छन् ।
जर्मनीमा पुराना सोफा वा अन्य कुनै पुराना सामानभित्रबाट पुरानो मुद्रा भेटिनु धेरै अनौठो मानिदैन ।श्रोत नेपाल समय