बलिउडकी चर्चित गायिका आशा भोस्ले आज काठमाडौं आउने

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बलिउडकी चर्चित गायिका आशा भोस्लेले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएकी छन्। ६० भन्दा बढी नेपाली गीत गाएकी भोस्लेले आगामी शनिबार सोल्टी होटेलमा आफ्नो एकल सांगीतिक प्रस्तुति दिन लागेकी हुन्। उनी यो सांगीतिक प्रस्तुतिसँगै पाँचदिने नेपाल भ्रमणका लागि आउन लागेकी हुन्। यसअघि एक पटक नेपाल आएकी उनको सांगीतिक प्रस्तुति भने यो नै पहिलो हुनेछ। उनी बुधबार नेपाल आइपुग्दै छिन्।
साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आउन लागेकी हुन्। संगीतकार रञ्जित गजमेरको संगीतमा भोस्लेले गीत गाउने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए। शनिबार राजधानीमा आयोजना हुने सांगीतिक कार्यक्रममा उनलाई नेपालका तीन दर्शनभन्दा बढी कलाकारले साथ दिनेछन्। भोस्लेको प्रस्तुतिमा प्रेमध्वज प्रधान, इन्द्रजित मिझार, बुद्ध लामा, रामकृष्ण ढकाल, उदय सोताङ, भारती घिमिरे, स्मिता दाहाल, प्राश्ना शाक्य, त्रृशला गुरुङ, गायत्री त्रिपाठी, मनोज राज, निशान भट्टराई सुमित पाठकलगायतका गायकगायिकाले साथ दिनेछन्। पुस ११ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने रञ्जित गजमेरको सांगीतिक कार्यक्रममा भोस्ले प्रमुख अतिथि बन्ने छिन्।
भोस्लेले गाएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ, ‘गैरी खेतको शिरै हान्यो, ‘एउटा मान्छे मन पर्छ’,‘मोहनी लाग्ला है’ लगायत दर्जनौं नेपाली गीत कालजयी छन्। सबैभन्दा धेरै गीत गाएर सन् २०११ मा गिनिज बुकमा नाम लेखाएकी भोस्लेले संगीतकार गजमेरको सम्पर्कमा नेपाली गीत गाएकी हुन्। गजमेरकै संगीतमा ‘झझल्को लिएर आयो सावन’ उनले गाएको पहिलो नेपाली गीत हो।
८० वर्षीया गायिका भोस्लेले नेपाल बसाइका क्रममा लुम्बिनी, पोखरा, मुक्तिनाथ, पशुपतिनाथलगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको मोक्तानले जानकारी दिए। यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजित मिजारलगायतका कलाकार नेपाल आइसकेका छन्।